भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको आतिथ्यमा साँस्कृतिक गुरुहरूको भेला सोमबार सम्पन्न भयो ।
नगरपालिकाको सभाकक्षमा भएको उक्त कार्यक्रममा उपप्रमुख जोशीले भक्तपुर नगरको पहिचानको रूपमा रहेको मौलिक बाजाहरूको संरक्षण र जीवन्तता दिने उद्देश्यअनुसार नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रअनुसार नै हरेक वर्ष सांस्कृतिक बाजाहरूको प्रतियोगिता गर्दै आएको बताउनुभयो ।उहाँले भन्नुभयो, “हाम्रो मौलिक बाजा, जात्रा, संस्कार, संस्कृतिप्रति नयाँ पुस्तालाई आकर्षित गर्न भनपा निरन्तर लागिरहनेछ, यस कार्यमा भक्तपुरवासीको साथ र सहयोग हुने अपेक्षा गर्दछु ।”
भनपाले शिक्षा, स्वास्थ्य, सरसफाइका साथै सम्पदा संरक्षणलगायत समग्र क्षेत्रको विकास गर्दै नमुना नगर बनाउने उद्देश्यसहित कार्य गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नयाँ पुस्तालाई बाजाप्रति उत्साहित गर्न र पुस्तान्तरण गर्न बाजा प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।वडाध्यक्ष कवांले भन्नुभयो, “आफूसँगसँगै अरूलाई पनि बाजा सिक्न उत्प्रेरित गर्न सके अझ राम्रो हुनेछ । भनपाले लोपोन्मुख बाजाहरूको संरक्षण र सम्बर्द्धन गर्न समयसापेक्ष रूपमा छलफल गरी आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको छ ।”
वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विगतका वर्षहरू धाँ, बाँसुरी, धिमे, गुँलाबाजालगायतका बाजा प्रतियोगिता भनपाको आयोजनामा भइसकेको र यस वर्ष नयाँ बाजाको प्रतियोगिताको तयारी गर्न छलफल आयोजना गरिएको बताउनुभयो ।कार्यक्रममा उपस्थित सांस्कृतिक गुरुहरूले नगरपालिकाले बाजा प्रतियोगिता गरिरहनु सराहनीय भएको र विगतमा वर्षमा नगरिएको लालाखीं, नौ बाजा, दाफा भजनको प्रतियोगिता गर्न सकिने सुझाव दिनुभयो ।
उहाँहरूले मौलिक बाजाका बोल र गीतलाई लिपिबद्ध गरी सुरक्षित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

