लिटल क्लाइम्बर्स ई. स्कूल का विद्यार्थीहरु भक्तपुर नगरपालिका अवलोकन भ्रमणमा
भक्तपुर । २०८२ मंसिर ५
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग काठमाडौंको सानो भर्याङ स्थित लिटल क्लाइम्बर्स इ. स्कूलका विद्यार्थीहरुले आज भक्तपुर अवलोकन भ्रमणका क्रममा भेट गरे । भ्रमणका क्रममा विद्यार्थीहरुले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुको अवलोकन भ्रमणका साथै भक्तपुरको स्थानीय शासन, निर्णय प्रक्रिया, सेवा प्रवाह, नगर योजना, नागरिक सहभागिता र भावी योजना आदिबारे जानकारी प्राप्त गरे ।
विद्यार्थीहरुसँगको नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको नवीनत्तम प्रयासबारे जानकारी दिँदै नगरको स्वास्थ्य क्षेत्र र सम्पदा पुनःनिर्माणमा भइरहेका विविध विषयमाथि प्रकाश पार्नुभयो । उहाँले भक्तपुरलाई संसारकै घुम्नलायक सहरको रुपमा विकास गर्न विभिन्न पर्यटनमैत्री गतिविधिहरुमा जोड दिँदै आएको बताउँदै शिक्षा क्षेत्रको विकास सँगसँगै नगरलाई स्वास्थ्यको हब पनि बनाउने प्रयत्न भइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले नगरपालिकाका असल अभ्यासहरुमाथि प्रकाश पार्दै भक्तपुर नगरपालिकाले अन्य स्थानीय तहले भन्दा पृथक ढंगले काम गर्दै आएको बताउनुभयो ।
