Explore news and happenings at Bhaktapur

भक्तपुर ट्रक व्यवसायी सङ्घको २६औं वार्षिक साधारण सभा

भक्तपुर, ५ मङ्सिर ।

0

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर ट्रक व्यवसायी सङ्घको २६ औँ वार्षिक साधारणसभा एक विशेष समारोहबिच शुक्रबार समुद्घाटन गर्नुभयो ।
कार्यक्रममा उहाँले भक्तपुर ट्रक व्यवसायी सङ्घले आफ्नो व्यवसायबाहेक देश र जनताको थप सेवा गर्ने विश्वास व्यक्त गर्दै देशको समुन्नत विकास गर्न राजनीतिक नेतृत्व असल र इमानदार हुनु जरुरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारहरूले विदेशी गाडी आयातमा भन्सार कर उठाउने र मदिरा तथा सुर्तीजन्य वस्तु उत्पादनमा अन्त शुल्क लगाउनेलाई नै आम्दानीको मुख्य स्रोत बनाउनु गलत हो । २० वर्षभन्दा पुरानो गाडीलाई चलाउन बन्द नगरी पार्टपुर्जा फेरेर चलाउन दिँदा उपयुक्त हुनुको साथै यसले देशको बजेट विदेशिन रोकिनेछ ।”
दैनिक गुजाराको अतिरिक्त सामाजिक कल्याणको काम जस्तै विद्यालय, कलेज, पुस्तकालय आदि स्थापनामा हरेक असल र बुद्धिमान नागरिक लाग्न जरूरी भएको उहाँले बताउनुभयो ।
“वर्गीय समाजमा बन्द हडताल रोक्न सकिँदैन । परम्परागत विचारलाई त्यागेर नयाँ विचार लिनु भन्नुको अर्थ उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादी विचार अँगाल्नु हो”, उहाँले थप्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “सन् १९४७ को गोरखाभर्ती नेपाली युवालाई भाडाको सिपाहीँ बनाउने र सन् १९५० को नेपाल–भारत सन्धि नेपालको सुरक्षा मामिला भारतको छातामा पर्ने भएकोले ती दुवै सन्धि–सम्झौता खारेज गर्नु जरूरी छ ।”
“भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । ठुलठुला भ्रष्टाचारी, जघन्य अपराधी र महिला बलात्कारपछि हत्या गर्नेलगायत मानव अधिकारको गम्भीर उल्लङ्घन गर्नेहरूलाई मृत्युदण्डको सजाय हुने कानुनी व्यवस्था जरूरी छ”, उहाँले भन्नुभयो ।
सडक दुर्घटना न्यूनीकरण गर्न देशको सन्तुलित विकास गर्नु आवश्यक भएको चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, “सन् १९१७ मा सोभियत रूसमा अक्टोबर क्रान्ति भएपछि रूसको नेतृत्वले १०–२० वर्षमै देशलाई संसारको दोस्रो अर्थतन्त्रमा पु¥याउन सफल भयो । नेपालमा प्रजातन्त्र, बहुदल हुँदै गणतन्त्र आएको ७० वर्ष नाघ्यो । तर, सरकारहरूले सियो पनि बनाउन सकेनन् ।”
नेपाल मजदुर किसान पार्टीले पदलाई भन्दा पनि देश र जनताको निःस्वार्थ सेवा गर्नेलाई जोड दिँदै आएको छ† २०१९–२० सालदेखि नै पार्टीले भ्रष्टाचारको विरोध गर्दै आएको हो । तर सरकारमा गएकाहरूले भ्रष्टाचार, पक्षपात, नातावादलाई चालु नै राखेका छन्, उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देशको प्राकृतिक स्रोत र साधनको सही उपयोग भए विकास हुने विश्वास व्यक्त गर्दै भक्तपुरलाई सभ्य, सफा र सम्पदा संरक्षित नगरपालिका बनाउन जुटिरहेको बताउनुभयो ।
भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउन आवश्यक पूर्वाधार तयार गरिरहेको उल्लेख गर्दै उहाँले विभिन्न विषयका विशेषज्ञ तयार गर्न भूगोल, इतिहास, संस्कृति विषयमा नगरपालिकाले विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको जानकारी दिनुभयो ।
भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा, सरसफाइ र विकासमा जोड दिइरहेको स्पष्ट पार्दै उहाँले आर्थिक अभाव भएकोले पनि उच्च शिक्षा हासिल गर्न सकून् भन्ने उद्देश्यले भनपाले शैक्षिक ऋणको व्यवस्था गर्दै आएको उल्लेख गर्नुभयो ।
तिब्बतको शाननान नगरपालिकामा समाजवादी मान्यताअनुसार काम भइरहेको चर्चा गर्दै उहाँले भनपाले ज्ञान, विज्ञान र प्रविधिलाई समेटेर विकास निर्माणका कार्य गरिरहेको बताउनुभयो ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वांरले सरकारले सेवा उद्योगलाई प्राथमिकता राखेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
देशको मुख्य आयस्रोतको रूपमा रहेको सवारी साधन बन्द गर्न नहुनेमा जोड दिँदै उहाँले सवारी दुर्घटना हुँदा राज्यको नीतिअनुसार प्रक्रिया अघि बढाउन स्थानीय प्रशासनको ध्यान जानुपर्ने बताउनुभयो ।
नकारात्मक होइन रचनात्मक सोचको विकास गर्नुपर्ने धारणा राख्दै उहाँले सार्वजनिक यातायातको लागि बसपार्कको कमी भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी उमेश ढकालले आइपरेको समस्यालाई सबै मिलेर सहकार्य गर्दै विवेक पु¥याएर समाधान गर्नुपर्ने बताउनुभयो ।
कानुनको दायराभित्र रहेर पदको जिम्मेवारी सम्हाल्नुपर्नेमा जोड दिँदै उहाँले सभ्य समाज निर्माण गर्न र शान्ति सुरक्षाको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय लागिपर्ने बताउनुभयो ।
नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष केपी अवालले आफ्नो हक हितको निम्ति संस्था आवश्यक भएको औँल्याउँदै राजनीति स्थिर नभएसम्म व्यवसायीहरू मर्कामा पर्ने र सुशासन कायम नहुने धारणा राख्नुभयो ।
देशमा पूर्वाधारको कमीले व्यवसायीहरूले अनेक चुनौती सामना गरिरहेको उल्लेख गर्दै उहाँले आफ्नो कर्म क्षेत्रमा लाग्दा हिम्मत हार्न नहुने बताउनुभयो ।
भक्तपुर ट्रक व्यवसायी सङ्घका संस्थापक अध्यक्ष विश्वराम कवांले हरेकले पदीय जिम्मेवारी इमानदारीपूर्वक पालना गर्नु जरुरी छ भन्दै आन्दोलन गर्ने प्रजातान्त्रिक अधिकार भए पनि तोडफोड र आगजनी गर्नु ठीक नभएको धारणा राख्नुभयो ।
देशमा देखिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँगै विदेशी चलखेल बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले सार्वजनिक वा व्यक्तिको सम्पत्ति तोडफोड र आगजनी गर्दा गृह प्रशासन मौन रहन नहुने बताउनुभयो ।
नेपाल राष्ट्रिय ट्रक तथा ट्रिपर महासङ्घका संयोजक नवीन प्रजापतिले देशको विकास र राष्ट्रिय जीवनसित सम्बन्धित सवारी साधनलाई राज्यले उपेच्छित गर्न नहुने बताउनुभयो ।
देशको राजस्व वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आएको सवारी साधन र यातायात व्यवसायीहरूको मर्का सरकारले बुझ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले दुर्घटना न्युनीकरणको लागि उचित पहल गर्नेतर्फ राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।
भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद गोराको सभापतित्वमा भएको सो कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोशनी धौबन्जार, इँटा बिक्री डिपो सङ्घ काठमाडौँ उपत्यकाका चन्द्रकृष्ण ग्वाछा, आयोजक सङ्घका उपाध्यक्ष नाति ह्योम्बा र सङ्घका सचिव जितेन्द्र खायमलीले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.