Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा भक्तपुरका प्रजिअ ढकाल, प्रहरी उपरीक्षक खड्का र राष्ट्रिय अनुसन्धान विभागका कार्कीलाई स्वागत

भक्तपुर । २०८२ कार्तिक २८

0
भक्तपुर नगरपालिकाले भक्तपुरमा भर्खरै सरुवा भई आउनुभएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का र राष्ट्रिय अनुसन्धान विभाग उपअनुसन्धान निर्देशक हेमन्त कार्कीको स्वागत तथा परिचयात्मक कार्यक्रम ग¥यो । सोही क्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले उहाँहरुलाई पुष्पगुच्छा, भादगाउँले टोपी र खादा ओढाई नगरपालिकामा स्वागत गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले सांस्कृतिक सम्पदाहरुको जीवन्त सहरको रुपमा प्रख्यात भक्तपुर नगरपालिकाले भ्रष्टाचारमुक्त र स्वायत्तताको अभ्यास गरिरहेको बताउनुभयो ।
भक्तपुर नपाका विकास निर्माणलगायतका गतिविधिमा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गरेर काम गरिरहेको बताउँदै उहाँले विगतका केही प्रमुख जिल्ला अधिकारीहरुबाट भक्तपुरबासीहरुले सम्झनालायक काम भएको स्मरण गर्नुभयो ।
व्यवस्थित आवास योजना सञ्चालन गर्ने उद्देश्यअनुरुप भक्तपुर नपाले तुमचो दुगुरे आवास योजना र लिबाली आवास योजना सफलतापूर्वक सम्पन्न गरिसकेको बताउँदै उहाँले देका मिवा आवास योजनामा देखिएका प्राविधिक समस्या सम्बोधनको लागि गुनासोकर्ताहरुसँग छलफल चालु रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले विभिन्न जिल्लाको आफ्नो कार्य अनुभव सुनाउँदै भक्तपुरको शान्ति सुरक्षा, विकास निर्माणमा नगरपालिकासँग सहकार्य, समन्वय र सहजीकरण गरी अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सांस्कृतिक नगर भक्तपुरको सुरक्षामा विशेष निगरानी हुने बताउँदै उहाँले भक्तपुरको न्यानो स्वागतको लागि धन्यवादज्ञापन गर्नुभयो ।
भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले ऐतिहासिक नगरको शान्ति सुरक्षा कायम गरी एकताबद्ध र समन्वयात्मक ढंगबाट अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । जेनजी आन्दोलनका कारण शान्ति सुरक्षामा चुनौती थपेको बताउँदै उहाँले देशलाई सुदृढ अवस्थामा ल्याउन सबैजना मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भौगोलिक रुपले देशकै सानो नगरपालिका सांस्कृतिक हिसाबले अत्यन्त महत्वपूर्ण नगर भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको उक्त परिचयात्मक कार्यक्रममा भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य, नगरपालिकाका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । सोही क्रममा नगर प्रमुख प्रजापतिले उहाँहरुलाई नगरपालिकाका महत्वपूर्ण प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.