नगर प्रमुख प्रजापति रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पस अवलोकन भ्रमणमा
रौतहट, २०८२ कार्तिक २१
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्थलगत अवलोकन गर्नुभयो ।
सोही क्रममा क्याम्पस प्रमुख राजन श्रेष्ठले नगर प्रमुख प्रजापतिसहितको टोलीलाई क्याम्पसमा स्वागत गर्नुभयो ।नगर प्रमुख प्रजापतिको क्याम्पसका प्राध्यापकहरुसँगको भेटमा प्रमुख प्रजापतिले क्याम्पस भ्रमणको उद्देश्यमाथि प्रकाश पार्दै भक्तपुर नपाले शिक्षा क्षेत्रलाई जोड दिंदै भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने प्रयाश गरिरहेको प्रष्ट पार्नुभयो ।
उहाँले गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई नगरपालिकाले प्रदान गर्दै आएको शैक्षिक ऋण र छात्रवृत्तिको व्यवस्थाले धेरै विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्ने अवसर पाएको बताउनुभयो ।स्वास्थ्य र शिक्षाको समस्या समाधानले जनताको आधा समस्या समाधान हुने धारणा व्यक्त गर्दै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै विभिन्न विदेशी विश्वविद्यालयसँग पनि सहकार्य गरी अगाडि बढिरहेको बताउनुभयो ।
भेटमा जनज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजन श्रेष्ठले रौतहटको स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै २०५८ सालमा स्थापना भएको यस क्याम्पसमा शिक्षाशास्त्र र व्यवस्थापन संकयतर्फ विषयहरु सञ्चालनमा रहेको बताउनुभयो ।
उहाँले हाल उक्त क्याम्पसमा २ हजारभन्दा बढी विद्यार्थीहरु विभिन्न बिषयमा अध्ययरत रहेको बताउँदै रौतहटको शैक्षिक क्षेत्र अगाडि बढाउन संघ, प्रदेश र स्थानीय सरकारले कलेज सञ्चालन र व्यवस्थापनमा साथ र सहयोग पाइरहेको उल्लेख गर्नुभयो ।
क्याम्पसले प्र्राविधिक कारणले विज्ञान विषय सञ्चालन गर्न नसकिरहेको यथार्थबारे प्रष्ट पार्दै उहाँले निम्न आय भएका विद्यार्थी र जेहेनदारलाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको बताउनुभयो ।
कलेजले शैक्षिक गतिविधिसँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि जोड दिँदै आएको बताउँदै क्याम्पस प्रमुख श्रेष्ठले मधेशप्रदेशस्थित जनज्योति बहुमुखी क्याम्पस विद्यार्थीहरुको आकर्षणको केन्द्रको रुपमा विकास भइरहेको अवगत गराउनुभयो ।
सो भेटमा जनज्योति बहुमुखी क्याम्पसका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जकुमार कार्कीले जनज्योति ब. क्याम्पसको चौतर्फी विकासमा स्थानीय सरकार र विद्यालय व्यवस्थापन समितिले समन्वय र सहजीकरणको भूमिका खेल्दै आएको बताउँदै शिक्षामा गरेको लगानी देश र समाजको पनि उपलब्धीमूलक हुने बताउनुभयो ।
उहाँले जनज्योति क्याम्पस विधि र नीतिमा सञ्चालन भई कलेजका सबै गतिविधि पारदर्शी ढंगले सञ्चालन भइरहेको छ भन्नुभयो ।
भेटपश्चात नगर प्रमुख प्रजापतिले कलेज व्यवस्थापन समितिका अध्यक्ष र क्याम्पस प्रमुखलाई भक्तपुर नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।
भेटमा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, कार्यपालिका सदस्य रोशनमैंया सुवाल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विभागीय प्रमुख र विद्यार्थी प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
