Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापति र जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहबीच भेट

धनुषा । २०८२ कार्तिक १८

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहबीच आज जनकपुरमा भेटघाट भयो । प्रमुख प्रजापतिलाई प्रमुख साहले खादा ओढाई जनकपुरमा स्वागत गर्नुभयो ।
भेटघाटको क्रममा नगर प्रमुख प्रजापति र प्रमुख साहबीच भक्तपुर र जनकपुर नपाबीच अनुभव आदानप्रदानका साथै देशको वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल भयो ।
सोही क्रममा प्रमुख प्रजापतिले स्थानीय सरकारहरु आर्थिक रुपले सम्पन्न भएमात्र नगरपालिका र गाउँपालिका विकास कार्यमा अगाडि बढ्न सक्ने बताउँदै जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहलाई सक्षम, आत्मनिर्भर र अधिकार सम्पन्न बनाउनु पर्ने धारणा राख्नुभयो ।
जनकपुर उपमहानगरपालिका विगतको तुलनामा सफा, सुन्दर देखिएको बताउँदै उहाँले स्थानीय तहमा आन्तरिक स्रोत व्यवस्थापन निकै महत्वपूर्ण हुने बताउनुभयो ।
आर्थिक रुपले स्वतन्त्र नभएको देश राजनैतिक रुपले पनि स्वतन्त्र नहुने धारणा राख्दै नगर प्रमुख प्रजापतिले जेनजी आन्दोलनलाई शासक दलहरुले गरेको भ्रष्टाचार, पक्षपात, भागबण्डा नियुक्ति र अनैतिक कार्यको सशक्त विरोधको रुपमा लिनु पर्ने बताउनु भयो ।
वर्तमान राजनीतिक घटनाक्रम हेर्दा देश अराजकतातिर जाने खतरा बढेको बताउँदै उहाँले नयाँ पुस्तालाई राजनैतिक रुपले सचेत र संगठिन बनाउन सके मात्र देशको सार्वभौमिकता रक्षा हुने बताउनुभयो ।
भेटमा जनकपुर उपमहानगरपालिकाका प्रमुख साहले जानकीको पवित्र जन्मस्थलको रुपमा परिचित जनकपुर उपमहानपाको स्थापना २०१७ सालमा भएको बताउँदै यस उपमहानपा २५ वडामा विभाजित रहेको र निकै बाक्लो जनघनत्व रहेको जानकारी दिनु भयो ।
उहाँले जनकपुर उपमहानगरपालिकाका सबै जग्गाहरु निजी गुठी र छुट गुठीअन्तर्गत रहेको बताउँदै नगरलाई सफा र सुन्दर बनाउन विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।
जनकपुर उपमहानपाभित्र करिब २५ प्रतिशत घर मात्र नक्सा पास भएका छन् भन्दै उहाँले पालिकाले जनकपुरको समग्र विकासमा ध्यान केन्द्रित गरेर काम गरिरहेको बताउनुभयो । उहाँले देश अहिले संकटग्रस्त अवस्थाबाट गुज्रिरहेकोमा चिन्ता व्यक्त गर्दै देशको सार्वभौमिकता रक्षाको लागि सबै जनता एकजुट भएर लाग्नुपर्ने समय आएको बताउनुभयो ।
उहाँले निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताउँदै आर्थिक प्रलोभन देखाई जनताको मत पाएर निर्वाचित भएका जनप्रतिनिधिहरुले देश र जनताको इमानदारीपूर्वक सेवा गर्न सक्दैनन् भन्नुभयो ।
भेटपश्चात नगर प्रमुख प्रजापति र साहबीच मायाको चिनो र उपहारहरु आदानप्रदान भयो । उक्त भेटमा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा र कार्यपालिका सदस्य रोशनमैंया सुवाललगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.