Explore news and happenings at Bhaktapur

जथाभावी नागरिकता वितरण गर्न नहुने

२०८२ कार्तिक १० गते

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नागरिकता व्यक्ति र राज्यबीच जोडिने दस्तावेज भएको हुँदा जथाभावी नागरिकता वितरण गर्न नहुने बताउनुभयो ।
उहाँले विदेशीले नागरिकता पाएमा नागरिकको हक खोसिन्छ भन्नुभयो ।
भक्तपुर नगरपालिका वडा नम्बर ७ कार्यालयद्वारा यस वर्ष नागरिकताका लागि सिफारिस लिइएका युवाहरूको भेलामा बोल्दै उहाँले १६ वर्षमा नागरिकता पाउने तर १८ वर्षमा मात्र मताधिकार पाउने कानुनी व्यवस्थाले हजारौं युवाहरु मताधिकारबाट वञ्चित हुने बताउनुभयो।
उहाँले युवाहरूलाई निरन्तर मेहनत र परिश्रम गर्नुपर्नेमा जोड दिँदै सजिलो होइन गाह्रो काम गर्न अग्रसर हुनुपर्छ भन्नुभयो।
उहाँले भन्नुभयो, युवाहरूमा सजिलो जति आफूले गर्ने र गाह्रो अरुलाई छोड्ने बानी छ, त्यसलाई उल्टाउनुपर्छ ।
हरेक युवाले कडा मेहनत गर्नुपर्छ, अहिले सजिलो खोज्नेले भविष्यमा दुःख पाउँछन्।
उहाँले विदेशमा बस्ने युवाहरुलाई मताधिकार दिने कुरा सुन्दा राम्रो लागे पनि नेपालको आर्थिक र प्राविधिक क्षमताले त्यो तत्काल गर्न सम्भव देखिँदैन भन्नुभयो ।
जेनजीले भदौ २३ र २४ गते गरेको आन्दोलनको विषयमा चर्चा गर्दै उहाँले भन्नुभयो, जस्तोसुकै खोक्रो रुख ढाल्न पनि एउटा धक्काको आवश्यक पर्छ। नेपालका शासक दलहरू नेका, एमाले र माओवादी पनि भ्रष्टाचारमा डुबेर सिद्धान्त र नैतिकताबाट च्युत भइसकेका थिए । नयाँ पुस्ताको आन्दोलनको हुरीले दुई दिनमै उडाइदियो ।
भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवाङले नागरिकता प्राप्त गर्नु मात्र होइन, नागरिक भावना पनि हुनुपर्ने बताउँदै देशमा आजसम्मको राजनीतिक परिवर्तन ल्याउन धेरै अग्रजहरुले आफ्नो रगत र पसिना बगाएको बताउनुभयो।
उहाँले नयाँ पुस्ताका युवाहरू स्थानीय राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयका जानकार हुनुपर्ने बताउँदै भन्नुभयो, कतिपय युवाहरूमा स्थानीय बारे सामान्य विषयमा पनि जानकारी नहुनु विडम्बनापूर्ण छ। प्रत्येक युवा एउटा विषयको विज्ञ हुनुपर्छ ।
अधिवक्ता पुरुषोत्तम ग्वाछाले नागरिकताका प्रकारहरू र त्यसको महत्त्वको बारेमा उल्लेख गर्दै युवाहरू स्वेच्छाचारी भएर हिँडेको अवस्थामा दुर्घटना हुन सक्छ भन्नुभयो।
उहाँले युवाहरूले विभिन्न विषयमा प्रशिक्षण लिनु आवश्यक रहेको चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडा सदस्य हरिरत्न गोर्खालीले आफ्नो युवा अवस्थामा भोग्नुपरेका कठिनाइहरूका बारेमा अनुभव सुनाउनुभयो। अर्का वडा सदस्य हेरा ख्याजुले पनि युवाहरूको भूमिकाबारे बोल्नुभएको थियो।

 

 

Leave A Reply

Your email address will not be published.