Explore news and happenings at Bhaktapur

स्वास्थ्य बीमा अभिकर्ताहरुको भेला कार्यक्रम

२०८२ असोज २९

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाका स्वास्थ्य बीमा अभिकर्ताहरुको भेला कार्यक्रम भयो ।
स्वास्थ्य बीमा अभिकर्ताहरुसँगको छलफल कार्यक्रममा बीमा गराउँदा आइपरेका समस्या, सेवाग्राहीहरुको गुनासो तथा बीमा बोर्डले सूचनाहरु समयमै पालिकालाई उपलब्ध गराउनुपर्ने विषयमा छलफल भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमले आर्थिक रुपमा विपन्न बिरामीहरु लाभान्वित भएको बताउँदै सरकारले बीमा आबद्ध स्वास्थ्य संस्थाहरुलाई समयमै भुक्तानी गराए अस्पताल सञ्चालन र व्यवस्थापन सहज हुने धारणा राख्नुभयो ।
बीमा अभिकर्ताहरु स्वास्थ्य बीमाको ऐन, कानुन र नियमावलीबारे प्रष्ट हुनुपर्ने बताउँदै उहाँले जनताको गुनासो सम्बोधन गर्दै सहज र सरल ढंगले बीमा सेवा प्रदान गर्न अभिकर्ताहरुले तत्पर रहनुपर्ने बताउनुभयो ।
भक्तपुरका शत प्रतिशत जनतालाई स्वास्थ्य बीमामा आबद्ध बनाउने प्रयत्न गरिरहेको बताउँदै उहाँले जनतालाई बीमाको विषयमा सचेत पार्ने काम पनि गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले स्वास्थ्य बीमा कार्यक्रम दीर्घ रोगीहरुलाई निकै प्रभावकारी रहेको बताउँदै ख्वप अस्पतालले सहज रुपमा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्वास्थ्य बीमाले सेवा प्रदायकसँग पनि संवाद गरेर चुस्त दुरुस्त रुपमा सेवा प्रवाह गर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवा र जिल्ला संयोजक निर्मता भट्टराईले बीमा कार्यक्रमको प्रभावकारिता र स्वास्थ्य बीमा नवीकरणबारे प्रष्ट पार्नुभयो ।

 

 

 

 

Leave A Reply

Your email address will not be published.