
डा. मजेश प्रताप मल्ल, निमित्त मेडिकल डाइरेक्टर, ख्वप अस्पताल

शान्नान शहरको स्वास्थ्य प्रणालीको केन्द्रबिन्दु हो—शान्नान पिपुल्स अस्पताल । यो केवल एउटा अस्पताल मात्र होइन, यो यहाँका हजारौं मानिसको जीवनसँग प्रत्यक्ष जोडिएको मुटु हो । अस्पतालको प्रवेशद्वारबाट भित्र पसेपछि देखिएको थियो — रोग र उपचारको भेटघाट स्थल । अस्पतालमा ५८० शैय्या (बेड) छन्, जसले ठूला शहरका मानक अस्पतालसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता राख्छ । भव्य भवनहरू, उज्याला कोठाहरू, सफा करिडोर र व्यस्त चिकित्सकहरूको अनुहारमा म एउटा आत्मविश्वास देख्थेँ — “हामी तयार छौं“ भन्ने आत्मविश्वास । करिब ६०० कर्मचारी यस अस्पतालमा कार्यरत छन्, जसमा करिब एक–तिहाइ चिकित्सक हुन् । यो अनुपात आफैंमा भन्नुपर्दा उल्लेखनीय छ । यी चिकित्सकहरूले केवल बिरामीको उपचार मात्र गर्दैनन्, भविष्यप्रतिको आशा र उच्च समाजवादी आस्थाको खेती गर्छन् ।
अन्तर–प्रान्तीय सहकार्य ः समाजवादी ऐक्यबद्धताको उदाहरण
यो अस्पतालको अर्को विशेषता हो यसको अन्तर–प्रान्तीय सहकार्यको मोडेल । चीनले समाजवादको सिद्धान्तलाई केवल राजनीति वा अर्थतन्त्रमा मात्र होइन, स्वास्थ्य क्षेत्रमा पनि समानता र सहकार्यको रूप दिन खोजेको छ । अस्पतालमा दुई मेडिकल निर्देशक नियुक्त हुने व्यवस्था छ । एक स्थानीय, जसले सहरको सन्दर्भ र संस्कृति बुझ्छन्; र अर्को सहयोगी प्रान्तबाट आउने, जसले नयाँ प्राविधिक ज्ञान र अनुभव ल्याउँछ । यस्तो निर्देशकको कार्यकाल तीन वर्षको हुन्छ । यसले संस्थागत स्मृति र निरन्तरतामा योगदान पुर्याउँछ ।
हाल शान्नान पिपुल्स अस्पताललाई आन्हुई प्रान्तले सहयोग गरिरहेको छ । आन्हुई प्रान्तले एक जना आईसीयू विशेषज्ञ निर्देशकसंगै २५ जना विशेषज्ञ चिकित्सकहरू पठाएको छ । तिनीहरूले शल्यक्रिया, न्युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजीदेखि लिएर गम्भीर अवस्थाका बिरामीहरूको उपचारमा अस्पताललाई एकदम बलियो बनाइदिएका छन् । यो केवल सहयोग मात्र होइन, यो चीनको समाजवादी नीतिको प्रतिबिम्ब हो—जहाँ एउटा प्रान्तको स्रोत र दक्षता अर्को प्रान्तका जनतासम्म पुग्छ । व्यक्तिगत स्वार्थभन्दा सामूहिक कल्याणलाई प्राथमिकता दिने यो नीतिले मलाई गहिरो रूपमा छोयो ।
शान्नानको भूगोलले स्वास्थ्य सेवामा सधैं चुनौती खडा गर्छ । दुर्गम गाउँहरू, हिमाली बाटाहरू र लामो दूरीले बिरामीलाई समयमै उपचारसम्म पु¥याउन कठिन बनाउँछ । तर, यहाँ विज्ञानले समाजवादसँग हातेमालो गरेको छ—टेलिमेडिसिनमार्फत । टेलिमेडिसिनले केवल उपचारलाई सहज बनाएको छैन; यसले शिक्षा पनि दिएको छ । स्थानीय डाक्टरहरूले नियमित रूपमा अनलाइन तालिम पाउँछन्, केस डिस्कसन गर्छन्, र विशेषज्ञसँग संवाद गरेर आफ्नो ज्ञान अद्यावधिक गर्छन् । यसरी विज्ञानले भौगोलिक दूरीलाई पराजीत गरिरहेको छ ।
एक जना तिब्बती चिकित्सकले मलाई भने—“आधुनिक चिकित्सा रोगसँग लड्छ, हाम्रो चिकित्सा जीवनसँग संवाद गर्छ ।” यो वाक्यले मलाई गहिरो सोचमा पु¥यायो । वास्तवमा, शान्नानको स्वास्थ्य प्रणाली आधुनिक र परम्परागत दुवैलाई समेटेर चलिरहेको छ । बिरामीले चाहे आधुनिक उपचार लेओस्, अथवा परम्परागत औषधि, वा दुवै, यसले स्वास्थ्यलाई केवल “उपचार” होइन, “समग्र जीवनशैली” को रूपमा चित्रण गर्छ ।
समाजवादको मूल विचार—“जनताकै लागि, जनताद्वारा”— शान्नानको स्वास्थ्य क्षेत्रमा जीवन्त रूपमा देखिन्छ । यो नीतिले उपचारलाई व्यापार होइन, अधिकार बनाएको छ ।
शान्नान शहरमा मैले देखेको स्वास्थ्य प्रणाली केवल औपचारिक संरचना वा अस्पतालको तथ्याङ्क मात्र होइन; यो एउटा कथा हो—समाजवाद, विज्ञान, संस्कृति र मानवीय करुणाको ।
५८० शैय्याको शान्नान पिपुल्स अस्पताल आज हजारौं जनताको जीवनसँग प्रत्यक्ष जोडिएको छ । ६०० कर्मचारी, जसमा एक–तिहाइ चिकित्सक, दिन–रात बिरामीको सेवामा समर्पित छन् । आन्हुई प्रान्तबाट आएका क्ष्ऋग् विशेषज्ञ निर्देशक र २५ जना चिकित्सकले यहाँको सेवामा गुणात्मक छलाङ् ल्याएका छन् । टेलिमेडिसिनले दुर्गम गाउँ र ठूला अस्पतालबीचको दूरी घटाइदिएको छ र, तिब्बती परम्परागत औषधिले संस्कृति र स्वास्थ्यलाई एउटै सूत्रमा गाँसेको छ ।
जब म अस्पतालको आँगन छोड्दै थिएँ, मेरो मनमा एउटा प्रश्न गुन्जिरह्यो—“के हामीले पनि हाम्रो समाजमा स्वास्थ्यलाई यति नै सामूहिक, यति नै सांस्कृतिक, र यति नै समाजवादी दृष्टिमा लिन सक्छौं ?”
चीनको भ्रमण मेरो लागि एउटा यात्रामात्र भएन, यो मेरो आत्मामा गहिरो छाप छोड्ने अनुभव बन्यो । विशेषगरी शान्नान र ल्हासामा बिताएको समयले मलाई बुझायो—समाजवाद कुनै शासन प्रणाली मात्र होइन, जीवनलाई सामूहिक सुन्दर यात्रामा बदल्ने दर्शन हो । शान्नानमा उभिँदा मैले इतिहासको सुगन्ध महसुस गरेँ । त्यहाँका प्राचीन गुफा, ऐतिहासिक स्मारक, अनि हरियालीले जीवनको सरल सौन्दर्यलाई उजागर गरिरहेका थिए । तर त्यससँगै आधुनिक विद्यालय, अस्पताल र पूर्वाधारहरू पनि समान महत्वका साथ उभिएका देखिन्थे । यसले मलाई बुझायो—समाजवादले विगतलाई मेट्दैन, बरु विगतकै जगमा भविष्यको महल खडा गर्छ । ल्हासामा पुगेपछि भने मैले संस्कृति र आधुनिकताको असाधारण सहजीवन देखेँ । पुराना मठ–मन्दिरहरूमा अझै प्रार्थनाको स्वर गुन्जिरहेको थियो, त्यसैको छेउमा नयाँ पुस्ताको हाँसो, विद्यालयको घण्टी, अनि अस्पतालको सेवा मिसिएको थियो । त्यहाँ मैले महसुस गरेँ—संस्कृति र आधुनिकता विरोधी होइनन्, बरु एउटै गीतका दुई धुन हुन् । समाजवादले यी दुईलाई यति सन्तुलित ढंगले मिलाइदिएको रहेछ कि परम्परा अझै गहिरो बनेको छ र आधुनिकता अझै उज्यालो ।
चीनमा मैले देखेको अर्कोे सुन्दरता मानिसहरूको अनुहारमा प्रतिबिम्बित थियो । उनीहरू आत्मविश्वासी र सन्तुष्ट देखिन्थे । उनीहरूलाई थाहा थियो—राष्ट्र उनीहरूको साथमा छ । त्यहाँ स्वास्थ्य वा शिक्षा कुनै व्यापार थिएन, ती त सबैको अधिकार थिए । यही चेतनाले चीनलाई बलियो बनाएको रहेछ—जहाँ समाज उठ्छ, त्यहाँ राष्ट्र सबल हुन्छ ।
नेपाल फर्कँदा मेरो मनमा एउटै प्रश्न गुञ्जिरहेको थियो—हामी किन यो बाटोमा अघि बढ्न सक्दैनौं ? हाम्रो गाउँले संस्कृति अझै पनि सामूहिकतामा अडिएको छ, हाम्रो परम्परामा अझै पनि सहकार्यको जग बलियो छ । यदि हामीले समाजवादको आत्मा —समानता, सहकार्य र सामूहिक चेतनालाई आत्मसात गर्न सक्यौं भने हाम्रो भूमिमा पनि शान्नान र ल्हासाजस्तै विकासका फूलहरू फुल्न सक्छन् ।
शान्नानले मलाई एउटा गहिरो पाठ सिकायो — विकास भनेको पुरानो मेट्नु होइन, पुरानोमा नयाँ जीवन फुक्नु हो । जब परम्परा र आधुनिकता आपसमा हातेमालो गर्छन्, जब समाज सामूहिक चेतनामा उभिन्छ, त्यतिबेला मात्र साँच्चिकै सुन्दर भविष्य जन्मिन्छ ।


