४६ औँ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति र होटल एशोसियसन अफ भक्तपुरको संयुक्त आयोजना तथा भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समिति, पर्यटक प्रहरी भक्तपुर र भक्तपुर पर्यटन सद्भाव सङ्घको समन्वयमा आयोजित ‘आत्मनिर्भर अर्थतन्त्रका लागि पर्यटन र दिगो रूपान्तरण’ विषयक प्रवचन कार्यक्रम आइतबार सम्पन्न भयो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “उत्पादन श्रमसँग जोडिएको विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क भए आत्मनिर्भर अर्थतन्त्र बनाउन मद्दत हुनेछ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पचास वर्षअगाडि नै आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिलाई जोड दिने र घरेलु तथा साना उद्योग विकास गर्नुपर्ने विषय समेटेर पुस्तक लेख्नुभएको हो । नयाँ पुस्ताले यो पुस्तक अध्ययन गरेर नेपाललाई आत्मनिर्भर बनाउन मद्दत गर्नसक्नेछ ।”
संसारको जुनसुकै कुनाको प्रविधि र उत्पादन बिनारोकावट सबै देशलाई उपलब्ध गराउनु नै विश्वव्यापीकरण भएको स्पष्ट पार्दै उहाँले विश्व व्यापार सङ्गठनका सदस्यले प्रविधि र वस्तुमा अधिकार जमाउनु विश्वव्यापीकरणमा अवरोध तेस्र्याउनु हुने बताउनुभयो ।

युक्रेनमा रूसविरूद्ध अमेरिकी साम्राज्यवादको छद्म युद्ध हो । इजरायलका यहुदीवादीहरूले १०८ वर्षअघि प्यालेस्टिनी जनताको भूमि कब्जा गर्दै छ । अमेरिकी साम्राज्यवादले युक्रेन र इजरायललाई हतियार बेचेर युद्ध गराएको हो, सचिव सुवालले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “प्रधानमन्त्री र मन्त्री फेरिँदैमा देश र जनताको समस्या समाधान हुँदैन । भदौ २४ गते मादक पदार्थ खाएका समूह घुसपैठ भई सरकार भवन जलाउने विषय उठाएको सार्वजनिक हुँदै छ ।”
उहाँले भन्नुभयो, “सरकारमा गएका दल र तिनका नेताहरूले निःस्वार्थरूपले देश र जनताको सेवा नगरेकोमा जनता असन्तुष्ट थिए । यसलाई हतियार बनाई साम्राज्यवादीहरूले देश खरानी बनाउने नीति लिए । नेपाली जनता प्रायोजित विध्वंसबारे सचेत हुनु जरूरी छ । नयाँ पुस्ता दाबी गरेकाहरूले प्रधानमन्त्री र मन्त्री बन्ने इच्छा प्रकट गरेको सार्वजनिक भयो । उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण नगरेसम्म आमूल परिवर्तन हुनेछैन ।”

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति नारालाई सार्थक बनाई यसलाई पर्यटन विकासका आधार बनाउन चुनावी घोषणा पत्रअनुसार नै लागिपरेको बताउनुभयो । उहाँले यहाँको मौलिक तथा परम्परागत प्रविधि, सभ्यता र पहिचान, स्थानीय घरेलु उत्पादन र पेसामार्फत भविष्यमा दिगो पर्यटन विकासमा आत्मनिर्भर बन्ने अवसर प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले नेपालमा पनि चीनको पर्यटन विकासबाट सिक्दै सरोकारवाला सबै मिलेर पर्यटन उद्योगको विकास गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभयो ।

नेपालमा पर्यटन उद्योगको ठुलो सम्भावना भएको र दिगो पर्यटनमार्पmत आर्थिक विकास पनि सम्भव रहेको धारणा राख्दै उहाँले पर्यटन उद्योगको विकासमार्फत बढ्दो युवाहरू विदेश पलायनलाई रोक्न सकिने बताउनुभयो ।