ख्वप अस्पतालका चिकित्सक तथा कर्मचारीहरुबीच दशैं, दिपावली र छठको अवसरमा शुभकामना आदानप्रदान
भक्तपुर । २०८२ असोज १२
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका चिकित्सक, कर्मचारी तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरुबीच दशैं, दिपावली तथा छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको हरेक गतिविधिमा जनताको साथ र सहयोग गरेकै कारण यहाँका सबै नीति कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भइरहेको बताउनुभयो । विदेशी पर्यटकहरुको पहिलो रोजाइ बन्न सफल देशकै सुन्दर र आकर्षक नगर भक्तपुरले आफ्नो सन्तुलित विकासमार्फत यहाँका जनतालाई सहुलियत दरमा सेवासुविका पनि उपलब्ध गराउँदै आएको बताउनुभयो ।
उहाँले विद्यालयहरु स्तरीय भए त्यहाँबाट उत्पादन हुने विद्यार्थीहरु पनि योग्य हुने बताउँदै समाजको परिस्थितिअनुसार ऐन कानुनहरु संशोधन गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो ।
जेनजी आन्दोलनजस्ता अप्रत्यासित घटनाहरु संसारका विभिन्न देशहरुमा पनि हुँदै आएको बताउँदै यस्ता आन्दोलनहरुमा साम्राज्यवादी र विस्तारवादीहरुको स्वार्थ लुकेको हुन्छ भन्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चाडपर्वको समयमा अस्पतालले थप व्यवस्थित र सतर्कता अपनाएर काम गर्नुपर्ने बताउँदै ख्वप अस्पतालले बढ्दो बिरामीको चापलाई ध्यान दिएर उपचार सेवालाई विस्तार गर्दै आएको बताउनुभयो ।
जेन जी आन्दोलनले नेका, एमाले र माओवादी जस्ता लामो समय शासन सत्तामा बसेर शासन गर्ने शासक दलहरुलाई सत्ताबाट हटाएर विदेशी चलखेल बढ्ने आशंका बढाएको बताउँदै उहाँले एनजीओ र आइएनजीओमार्फत साम्राज्यवादीहरुले आफ्नो अनुकूलका सरकार निर्माण गर्न आफूभन्दा कमजोर देशहरुमाथि आर्थिक सहयोगको नाउँमा राजनैतिक हस्तक्षेप सुरु गरेका उदाहरणहरु प्रस्तुत गर्नुभयो ।

त्यस्तै उपप्रमुख रजनी जोशीले नेपलले आत्मनिर्भर भएर आफ्नो विकास नगरेसम्म देशले समृद्धि हासिल नगर्ने बताउँदै अरुको सामु झुक्ने प्रवृत्तिले देशलाई नै उपनिवेश बनाउने खतरा बढिरहेको बताउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभयो ।

