Explore news and happenings at Bhaktapur

२७ औँ विविध भाषा साहित्य सम्मेलन आयोजक समितिद्वारा मध्यपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम

0
एनजिओ र आइएनजिओहरूबाट नेपाली जनता सचेत हुनुपर्ने
मध्यपुर

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले विदेशी पैसाबाट सञ्चालित अन्तर्राष्ट्रिय गैरसरकारी र गैरसरकारी संस्था एनजीओ र आइएनजीओबाट नेपाली जनता सचेत रहनुपर्ने बताउनुभयो।

२७ औँ विविध भाषा साहित्य सम्मेलन आयोजक समितिद्वारा मध्यपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले एनजिओ र आइएनजीओहरू साम्राज्यवादी देशहरुका आर्थिक हतियार भएको हुँदा उनीहरुले आर्थिक सहयोगको नाममा ससाना र कमजोर देशहरूको राजनीतिमा हस्तक्षेप गर्ने बताउनुभयो।
भाद्र २३ र २४ गते भएको आन्दोलन र ध्वंसात्मक गतिविधिबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, यस्तो खालको आन्दोलन र ध्वंसात्मक गतिविधि एक दुई दिनको तयारीले सम्भव हुँदैन। अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले आफ्नो स्वार्थ अनुसार कार्य गराउन वर्षौंदेखि तयारी गरिरहेकाहरुबाट मात्र सम्भव हुन्छ।
नेपाली मन भएका मानिसहरूले सिंहदरवार, सर्वोच्च अदालत, अख्तियार जस्ता राज्यका महत्वपूर्ण प्रशासनिक केन्द्रमा आगो लगाउन सक्दैनन्। नेपालको सुरक्षा अङ्गलाई ध्वस्त पारी आर्थिक रुपमा नेपाल कब्जा गर्न चाहने तत्वहरुले नै यस्ता कार्य गरेको हुन सक्छन्।
युगोस्लाभिया र सोभियत सङ्घ विभाजनमा पनि एनजिओ र आईएनजीओहरूको ठूलो भूमिका थियो। नेपालका वर्तमान मन्त्रीहरूको पृष्ठभूमिले पनि त्यही देखाइरहेको छ यस्तो अवस्थामा प्रत्यक्ष रुपमा विदेशी हस्तक्षेप बढ्न सक्छ, उहाँले भन्नुभयो।
नेपाल मजदुर किसान पार्टीका अर्का केन्द्रीय सदस्य अनुराधा थापा मगरले चुनावमा पैसा उपहार बाँड्दै कार्यकर्ताहरुलाई पद, पैसा र शक्ति नै राजनीति भनेर सिकाउने र संस्कार दिने शासक पार्टीहरूको कारण देशमा समस्या आएको हो भन्नुभयो।
नयाँ पुस्ताको आक्रोश र विद्रोह स्वाभाविक भएको बताउँदै उहाँले देशलाई ध्वस्त पारेर नेपालमाथि आफ्नो स्वार्थपूर्ति गर्ने तत्वहरूबारे बुझ्न जरुरी छ भन्नुभयो।
विविध भाषा साहित्य समाजका सल्लाहकार सूर्यराम श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रले जनताको हित गर्न नसक्ने भएकोले समाजवादी गणतन्त्र स्थापना आवश्यक छ भन्नुभयो। उहाँले पठन संस्कृति विकासको निम्ति विविध भाषा सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै देशभक्तिपूर्ण साहित्यहरु लेख्न युवा पुस्ता तयार हुनुपर्ने बताउनुभयो। २७ औँ विविध भाषा आयोजक समितिका संयोजक विजय प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा तुलसी कृष्ण प्रजापति र राजकुमार प्रजापतिले पनि विजयादशमीको शुभकामना दिनुभयो।
यो वर्षको विविध भाषा साहित्य सम्मेलन कार्तिक ५ गते मध्यपुरथिमी नगरपालिका वडा नं ५ तुलाननीमा हुने आयोजक समितिले जनाएको छ।
उक्त दिन बिहान भिन्तुना र्याली, दिउँसो साहित्यिक कार्यक्रम र साँझमा सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । उक्त कार्यक्रममा सहभागिताको लागि आयोजक समितिले अनुरोध गरेको छ।

 

 

Leave A Reply

Your email address will not be published.