४५ औँ नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा शनिबार महिला भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले संविधानविपरीत नियुक्त प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु गलत छ भन्नुभयो । उहाँले नेपालको संविधानमा प्रतिनिधिसभा सदस्यबाहेक कुनै पनि व्यक्ति प्रधानमन्त्री हुनसक्ने बन्दोबस्त नभएको उल्लेख गर्दै निर्वाचित प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट नयाँ सरकार गठन हुने सम्भावना भएसम्म प्रतिनिधिसभा विघटन गर्न पाउँदैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “संविधानमा पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न नपाउने स्पष्ट व्यवस्थाविपरीत सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नु राष्ट्रपति रामचन्द्र पौडेलको संविधानविपरीत कार्य हो ।
उहाँले देशका विभिन्न संरचनाहरू खरानी भएको कारण विदेशी चलखेल बढ्न सक्ने भएको हुँदा सबै जनता सचेत हुनुपर्ने आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “तःमुंज्या साहित्यको मात्रै होइन कामदारवर्गलाई राजनैतिक चेतना दिने जनताको मञ्च हो । शिक्षा, स्वास्थ्य, राजनीति, दर्शनशास्त्रलगायतको शिक्षा दिने तःमुंज्या जनताको विश्वविद्यालय हो ।”
रवीन्द्र खर्बुजाको सभापतित्वमा भएको उक्त भेलामा श्यामसुन्दर मातां, राजन बाटी र मञ्जुमैयाँ लाखाले पनि बोल्नुभएको थियो ।
यसैबिच शनिबार तःमुंज्या तयारी भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईंले देशमा भ्रष्टाचार हुनु, राष्ट्रियता कमजोर हुनु र वर्तमान अवस्था आउनुमा नेपाली काङ्गे्रस एमाले र माओवादीहरू दोषी छन् भन्नुभयो । विद्यार्थी र युवाहरूलाई राजनैतिक र सैद्धान्तिक प्रशिक्षण नदिँदा वर्तमान अवस्था आएको उल्लेख गर्दै उहाँले शिक्षकहरूले पाठ्यक्रमबाहेक राजनैतिक पनि चेतना दिनुपर्छ भन्नुभयो ।
काङ्ग्रेस र एमालेले गर्नुपर्ने काम नगर्दा, भ्रष्टाचार र राष्ट्रघाटका काम भएको कारण जेनजी आन्दोलनमा सरकारले आत्मसमर्पण गर्न बाध्य भएको उल्लेख गर्दै उहाँले ठुला दल मिलेर सरकार चलाउनु हुँदैनथ्यो भन्नुभयोे ।
नेपालमा जनआन्दोलन हुँदा भारतले आफ्नो स्वार्थ पूरा गर्नेतर्फ लागेको चर्चा गर्दै भारतले सिमाना कब्जा गर्ने र नेपालमा गोलमाल भएपछि बन्ने सरकार आफ्नोतर्फ धाल्ने काम गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जेनजी आन्दोलनमा सिंहदरबार र सर्वोच्च अदालत जल्नु भारतको इच्छानुसार सन्धि सम्झौताको कागज ध्वस्त पार्नु हो । सर्वोच्च र अख्तियारमा आगो लगाउनु नेपालमा हुने ठुलाठुला काण्डका छानबिन नगराउनु हो ।”
पैतालिसौँ नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष रवीन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले जेनजीको आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति पुगेको उल्लेख गर्दै विगतको सरकार भ्रष्टाचारमा डुबेको र मजदुर–किसानको लागि उल्लेखनीय कार्य गर्न नसकेको बताउनुभयो । कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष श्यामसुन्दर मातां र सचिव राजन जतिले ४५ औँ तःमुंज्याको तयारीबारे जानकारी दिनुभएको थियो ।
