भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बालविकास इङ्गलिस स्कूलको ‘फूलजस्तै भक्तपुर’ बोलको गीत आज एक कार्यक्रमबीच सार्वजनिक गर्नुभयो ।


प्रस्तुत गीत भक्तपुरको विषयवस्तुलाई प्रतिकात्मक विषय बनाएर रचना गरिएको र यस गीतमार्फत भक्तपुरलाई संसारसामु चिनाउने सुनौलो अवसर बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, खेलकुदलगायतका क्षेत्रमा भक्तपुरले हासिल
गरेको प्रगतिमा भक्तपुरका धेरै अग्रजहरुको भूमिका स्मरणीय रहेको बताउँदै प्रमुख प्रजापतिले प्रस्तुत गीतले भक्तपुरलाई ‘हिलोमा फुलेको सुन्दर फूल’ को रुपमा चित्रण गरिएको समय—सान्दर्भिक छ भन्नुभयोे ।

गीतका लेखक एवम् बालविकास इंगलिश स्कूलका प्रिन्सिपल सुरेन्द्रराज गोसाईंले ‘फूलजस्तै भक्तपुर’ गीतले भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक पक्षलाई उजागर गर्ने प्रयास गरिएको बताउँदै भक्तपुरबासी हुनु आफैमा गौरवको विषय हो र देशका अन्य ठाउँलाई पनि भक्तपुरजस्तै बनाउन संकल्प गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
बाल विकास इंगलिश स्कूलले विद्यार्थीहरुलाई किताबी ज्ञानसँगसँगै नैतिकता, विचार र संघर्षको भावनाबाट पनि अभिप्रेरित गर्ने प्रयत्न गरिरहेको बताउनुभयो ।

बाल विकास स्कूलले अभिभावक र विद्यार्थीहरुको विश्वास जितेर आफ्ना शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरु अगाडि बढाउनु सकारात्मक भएको बताउँदै उहाँले विद्यालयले विद्यार्थीको चौतर्फी विकासमा जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा गीतका संगितकार सुमन गैंडाले गीतमा संगित निर्माण गर्दाको आफ्नो अनुभव सुनाउँदै यो गीत भक्तपुर चिनाउने एउटा सुन्दर गीतको रुपमा प्रस्तुत भएको बताउनुभयो ।
‘फूलजस्तै भक्तपुर’ गीतको शब्द बालविकास इङ्गलिस स्कूलका प्रिन्सिपल सुरेन्द्रराज गोसाईंले कोर्नुभएको हो भने गीतमा दिपा कुसी र रियाज बासुकलाको स्वर तथा संगित सुमन गैंडाको रहेको छ ।





