“जनज्योति पुस्तकालयलाई स्तरीय पुस्तकालयको रूपमा विकास गर्ने कोसिस गर्दैछौँ”
भाद्र १५, २०८२
आज पुस्तकालय दिवस । केही वर्ष अघिदेखि भक्तपुर नगरपालिकाले पुस्तकालय दिवस मनाउँदै आएको छ । आधुनिक प्रविधिको विकाससँगै युवाहरू मोबाइलमा व्यस्त हुन थालेको र मोबाइलमै धेरै पुस्तकहरू पाइने भएकोले युवा विद्यार्थीहरू पुस्तकालयमा आउने क्रममा कमी हुँदै गएको सबैले अनुभव गरेकै विषय हो । भक्तपुर नपाले पुस्तकालय दिवस मनाउनुको अर्थ नयाँ पुस्तामा पठन संस्कृतिको विकास गर्न हो ।
पुस्तकालय ज्ञानको भण्डार भएकोले समाज रुपान्तरणमा यसले महत्वपूर्ण भूमिका खेल्छ । जहाँ पुस्तकालयहरूको विकास हुन्छ, त्यहाँको समाज अगाडि बढेको हुन्छ । पुस्तकालयको अवस्थाले समाजको अवस्था थाहा पाउन मद्दत गर्छ । विगतको इतिहास हेर्ने हो भने राणाहरू, सामन्तहरू, विकास विरोधीहरू पुस्तकालयप्रति सकारात्मक थिएनन् ।
वि.सं. १९८७ सालको कुरा हो । आजभन्दा ९५ वर्षअघि नेपालमा सार्वजनिक पुस्तकालय खोल्न केही युवाहरूले अगुवाइ गरे । राणाशासनमा त्यो सम्भव थिएन । जनतामा राजनैतिक चेतना फैलाउने हरेक कामलाई उनीहरू अपराध ठान्थे । त्यतिबेला चित्तधर हृदय, धर्मराज थपलिया, कृष्णप्रसाद कोइरालाहरूले तत्कालीन प्रधानमन्त्री भीम शमशेरसँग अनुमतिको लागि निवेदन दिए ।
भीम शमशेरले राजनैतिक उद्देश्यले पुस्तकालय खोल्न लागेको आरोप लगाएर ती सबैलाई थुन्ने र ‘आयन्दा यस्तो काम गर्ने छैनौँ’ भनी कागज गराई प्रतिव्यक्ति रु. १००।– का दरले जरिवाना गरी छाडेको इतिहास पढ्न पाइन्छ । त्यतिखेर १००।– रुपैयाँ भनेको निकै ठुलो रकम हो ।
विकासको गतिलाई रोक्न खोज्नु सूर्यलाई हत्केलाले छेक्ने प्रयासजत्तिकै असम्भव थियो । जनतामा राजनैतिक चेतनास्तरको विकाससँगै नेपालमा १०४ वर्षे जहाँनिया शासनको पनि अन्त्य भयो । प्रजातन्त्रको स्थापनासँगै जिल्ला जिल्ला र टोल टोलमा पुस्तकालयहरू खुल्न थालियो । पुस्तकालयहरू ज्ञानको ज्योति फैलाउने केन्द्रको रुपमा विकास हुन थाले । प्राध्यापक, शिक्षक, बुद्धिजीवी, युवा विद्यार्थी सबैको आकर्षणको केन्द्र बनेको थियो— पुस्तकालय । अन्तर्राष्ट्रिय घटनाहरू, देशको समसामयिक राजनैतिक विषयहरू, अन्य सामाजिक—राजनैतिक विषयमा छलफल गर्ने ठाउँ थियो —पुस्तकालय । तर, आधुनिक प्रविधिको विकाससँगै त्यसमा कमी आएको छ । यो चिन्ताको विषय हो ।
हाल नेपालमा ९ सय भन्दा बढी पुस्तकालय रहेको तथ्याङ्क भए पनि मुस्किलले २ सय वटा जति चलेको र अझ कतिपय पुस्तकालयहरू आर्थिक अभाव र पढ्न आउने व्यक्तिहरू कम भएकोले बन्द हुँदै गएको हामी सुन्दै छौँ । यसबारे भक्तपुर नगरपालिका भने सचेत छ ।
२०७४ सालमा पहिलो कार्यकालको लागि हामी निर्वाचित भएको बेला भक्तपुर नपाबाट सञ्चालित जनज्योति पुस्तकालय दरबार क्षेत्रको एउटा सानो भवनमा सञ्चालित थियो । निर्वाचन घोषणापत्रमा शिक्षा विषयमा एउटा बुँदा थियो — ‘जनज्योति पुस्तकालयलाई देशकै नमुना पुस्तकालय बनाउने !’ त्यो महत्वपूर्ण जिम्मेवारी हाम्रो काँधमा थियो । हामी त्यसमा केन्द्रित भएर काम गयौँ । हामीले उपयुक्त ठाउँको खोजी गर्ने क्रममा देको–मिवा–इटापाके आवास योजना रहेको कार्यालय रहेको भवनलाई उपयुक्त देख्यौँ र त्यहीं सार्ने निर्णय ग¥यौँ ।
२०७९ सालको निर्वाचन घोषणापत्रमा जनज्योति पुस्तकालयलाई विद्युतीय पुस्तकालयको रुपमा विकास गर्ने उल्लेख थियो । निर्वाचित भएकै दुई वर्षभित्रै त्यो काम पनि पूरा ग¥यौँ । अहिले धेरै बुद्धिजीवीहरू, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरू, शोधकर्ताहरू पुस्तकालयमा अध्ययन गरिरहेको पाउँदा खुसी लाग्छ । निर्वाचनमा जनतालाई दिएको वचनअनुसार कार्यहरू गरेकोमध्ये त्यो पनि एक महत्वपूर्ण कार्य हो । अहिले देशका विभिन्न पालिकाका मेयर, उपमेयर, सांसद, मन्त्रीहरू आउनुहुन्छ; पुस्तकालयको भ्रमण गर्नुहुन्छ र व्यवस्थित पुस्तकालय सञ्चालनको अवस्था देखेर सकारात्मक टिप्पणी गर्नुभएको पाएका छौँ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पुस्तकालय र वाचनालय सञ्चालन पनि पालिकाहरूको कामको रूपमा उल्लेख गरेपछि हामीले नगरका पुस्तकालय, वाचनालयहरूका अभिलेख तयार ग¥यौँ, बैठकहरू राख्यौँ र समिति बनाएर सबै पुस्तकालयबारे जानकारी लियौँ । त्यसको आधारमा आर्थिक, भौतिक सुधारको लागि सहयोग पनि ग¥यौँ तर आशा गरेअनुसारको पुस्तकालय सञ्चालनमा सुधार भएको भने पाएनौँ ।
विकास भनेको चौडा चौडा सडक, अग्ला अग्ला आकाश छुने घरहरू, भ्यु टावरहरूको निर्माण मात्र होइन । धेरै पालिकाहरूले त्यसैलाई विकासको रूपमा परिभाषित गर्दैछन् । तर, भक्तपुर नगरपालिकाले भने मानिसको चेतनास्तरको विकासलाई पहिलो विकासको मापदण्ड मानेर काम गरिरहेको छ । भौतिक र मानसिक विकाससँगै भक्तपुरलाई विकास गर्ने सोचले भक्तपुर नगरपालिकाले काम गरिरहेको छ । अध्यक्ष रोहितले आजभन्दा दुई दशकअगाडि भक्तपुरलाई ‘ज्ञान विज्ञानको केन्द्र’ बनाउने घोषणा गर्नुभएको थियो । धेरैको लागि त्यो अपत्यारिलो थियो । आज विभिन्न कलेजहरूको सञ्चालन र विद्यालयमा गुणस्तरीय शिक्षाले त्यो साकार हुँदै गइरहेको देख्न सकिन्छ । भनपाले शैक्षिक विकासको निम्ति सक्दो सहयोग गरिरहेको छ ।
लेखक, साहित्यकार, कलाकारहरूलाई जीवन्तता दिने ठाउँ पनि पुस्तकालय नै हो । पुराना पुराना, प्राचीन कालका दस्ताबेजहरू पुस्तकालयमा सङ्ग्रह गरिएका हुन्छन् । तर, हामीले दुःखका साथ भन्नुपर्छ वि.सं. १८२६ मा पृथ्वीनारायण शाहले भक्तपुरमा आक्रमण गर्दा साकोठामा अवस्थित पुस्तकालय जलाइदिएको कारण धेरै पुराना दस्ताबेजहरू समाप्त भएको अध्ययन गर्छौँ । त्यहाँ नालन्दा विश्वविद्यालय, विक्रमशील विश्वविद्यालय, सिम्रौनगढ राज्यबाट ल्याइएका बहुमूल्य हिन्दू र बौद्ध ग्रन्थहरू थिए भन्ने पढ्न पाइन्छ । त्यहाँका पुस्तक मात्र जलेका होइनन् कैयौँ प्राचीन इतिहास पनि समाप्त भए । त्यतिखेर भक्तपुरका ५ सय घरहरू ध्वस्त भएका र २ हजार मानिसहरू मारिएको कुरा विश्वमोहन जोशीले लेखेको ‘ख्वपको राजनैतिक इतिहास’बारे लेखमा उल्लेख गर्नुभएको छ ।
आज चीन विश्वको दोस्रो अर्थतन्त्र भएको देशको रुपमा अगाडि बढ्दै छ । आजभन्दा ६५ वर्षअघि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (सन् १९६०) मा चीनको पेकिङ पुस्तकालय भ्रमण गर्नुभएको ‘चीन भ्रमण’ पुस्तकमा उल्लेख गर्नुभएको छ ।
त्यस पुस्तकालयमा ‘माक्र्स एङ्गेल्सका हस्तलिखित रचनाहरू, चाउ एन लाइद्वारा सम्पादित पुस्तकहरूलगायत ६५ भाषाका पुस्तकहरू रहेको उल्लेख छ । ४ सय जनाभन्दा बढी कर्मचारीहरू बिहान ९ः३० देखि राती ८.०० बजेसम्म सञ्चालन हुने उल्लेख छ ।
हामी आज पनि त्यो तुलनामा धेरै पछि छौँ । हाम्रा कलेजका पुस्तकालय कर्मचारी, साथीहरू, टोल टोलका पुस्तकालय र वाचनालय सञ्चालक सम्पूर्णमा हाम्रो आग्रह छ । पुस्तकालय र वाचनालयलाई व्यवस्थित रुपमा सञ्चालन गरौँ ! संसारमा नयाँ नयाँ पुस्तकहरू के कस्ता प्रकाशित भएका छन्, नेपाली लेखकहरूले प्रकाशित गरेका नयाँ नयाँ पुस्तकहरू कुन कुन छन् त्यसबारे छलफल र अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरेर युवा पुस्ताबिच पठन संस्कृतिको विकासमा जोड दिऔँ !
(भक्तपुर नगरपालिकाकाको आयोजनामा १८ औँ पुस्तकालय दिवसको अवसरमा भदौ १५ गते सम्पन्न ‘हाम्रो पुस्तकालय हाम्रो भविष्य’ विषयक प्रवचन कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले व्यक्त गर्नुभएको मन्तव्यको सार सङ्क्षेप)
