Explore news and happenings at Bhaktapur

ख्वप कलेज अफ इन्जिनियरिङ्गमा अभिभावक -प्राध्यापक भेटघाट कार्यक्रम

- २०८२ साउन ३१ गते, भक्तपुर ।

0
भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप कलेज अफ इन्जिनियरिङमा आज एक समारोहका बीच अभिभावक प्राध्यापक भेटघाट कार्यक्रम सम्पन्न भयो । कलेजको सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रमहरुमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि कलेज संचालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिले २०७२ सालको भूकम्पदेखि हालसम्म भक्तपुरका १६९ वटा सम्पदाहरुको पुननिर्माण कुनै पनि विदेशी दातृ निकायको सहयोग विना भक्तपुरकै जनताको कर र मेहेनतले सम्पन्न भइसकेको बताउनुहुँदै यो एक प्रकारको साँस्कृति क्रान्ति हो भन्नुभयो । सन् २००१ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले घोषणा गर्नुभएको ‘एक घर एक स्नातक’ नीतिको आधारमा वि.सं २०५६ सालमा ख्वप उच्च माध्यमिक विद्यालयको स्थापना भई हाल भक्तपुर नगरपालिकाले सात वटा शैक्षिक सस्थाहरु संचालन गर्दै आइरहेको बताउनुभयो । देश र जनताको सेवामा यी संस्थाहरुबाट उत्पादित जनशक्तिहरुले इमान्दारीपूर्वक सेवा गरिरहेको चर्चा गर्नुभयो । सन् २०१९ को कारोना महामारीको समयमा भक्तपुर नगरपालिकाद्वारा अक्सिजन प्लान्ट स्थापना गरेको र उक्त अक्सिजन प्लान्ट स्थापनाको लागि जनताले आर्थिक र नैतिकरुपमा सहयोग गरेको चर्चा गर्दै हाल ख्वप अस्पतालमार्फत निःशुल्क अक्सिजन वितरण र नगरवासीलाई रगत पनि निःशुल्क वितरण गर्दै आइरहेको बताउनुभयो । देशको लागि अति महत्वपूर्ण इतिहास, भूगोल, राजनीतिशास्त्रलगायतका विषयमा हालसम्म २५० जना विद्यार्थीहरुलाई विद्यावारिधि अध्ययनको लागि भक्तपुर नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको बताउनुभयो । हाल देशमा उत्पादित डाक्टर, इन्जिनियर, नर्सलगायतका बौद्धिक वर्ग विदेश पलायन भैरहेको चर्चा गर्दै देशभरका सामुदायिक कलेजहरुमध्ये अधिकांश कलेजमा विद्यार्थी अभावले बन्द हुने स्थितिमा पुगेको चर्चा गर्नुभयो । राम्रा शिक्षक एवं दक्ष जनशक्ति सबै विदेश पलायन भएपछि देश भविष्य कस्तो होला ? उहाँले प्रश्न गर्नुभयो । सरकारले देश र जनताको हितमा ऐन कानून नबाउँदा ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा एक बर्ष नर्सिङको पढाइनै रोक्नु परेको स्मरण गर्दै अझ मेडिकल कलेज संचालन गर्न ३०० बेडको आफ्नै अस्पताल हुनुपर्ने प्रँवधान रहेको, हाल भक्तपुर नगरपालिकाले १०० बेडको अस्पताल संचालन गर्दै आइरहेको र थप स्तरीय बनाउँदै लाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कलेज संचालक समितिका उपाध्यक्ष एवं भक्तपुर नगरपालिकाका उपमेयर श्री रजनी जोशीले भक्तपुर नगरपालिकाद्वारा संचालित शैक्षिक संस्थाहरुले केबल प्रमाणपत्रको लागि मात्र अध्ययन अध्यापन नगराई विद्यार्थीलाई सामाजिक तथा नैतिक ज्ञानपनि दिँदै आएको बताउनुभयो । हालका नयाँ पुस्तालाई किताबी ज्ञानमात्रले नपुग्ने हुँदा विविध विषयमा ज्ञान उपलब्ध गराउनुपर्ने बताउनुभयो । पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने नारालाई मार्गदिर्नेशक मानेर नगरको सम्पदा संरक्षणमा नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा कलेज संचालक समितिका सदस्य एवं भनपा वडा नं. ९ का वडाध्यक्ष श्री रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले भक्तपुरलाई शैक्षिक गन्तव्यस्थल बनाउने उद्देश्यले शैक्षिक संस्थाहरु संचालन गर्दै आइरहेको बताउनु हुँदै देश र समाजप्रति समर्पित दक्ष जनशक्ति तयार गर्ने र समाजलाई बुद्धिजिबिकरण गर्ने कार्यमा अगाडि बढिरहेको बताउनुभयो । भक्तपुर नगरको विकास एवं सम्पदा संरक्षणमा इन्जिनियरिङ कलेजले खोलेको भूमिकाबारे चर्चा गर्दै कलेजले कम शुल्कमा अध्ययन अध्यापन गराउँदै छात्रवृत्तिलगायत शैक्षिक ऋणको बन्दोबस्तसमेत गरेको बताउनुभयो ।
उक्त कार्यक्रममा कलेजको परीक्षा शाखाका प्रमुख प्रा.डा. चन्द्रकिरण कवांले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानद्वारा लिइने सेमेष्टर परीक्षाका नतिजाहरुको विश्लेषणसहितको प्रस्तुती दिनुभयो भने प्रशासन शाखाका प्रमुख श्री सन्जय मानन्धरले अभिभावक प्राध्यापक भेलाको औतित्यमाथि प्रकाश पार्नुभयो । औपचारिक कार्यक्रम पश्चात सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रमका विद्यार्थीका अभिभावकहरुसँग प्रँध्यापक र कर्मचारीको छुट्टा छुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित अभिभावहरुले कलेज विकासको लागि विभिन्न सुझावहरुपनि दिनुभयो ।

Leave A Reply

Your email address will not be published.