परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान २०८२’ बारे प्रधानाध्यापकहरुको भेला
२०८२ साउन ३०
भक्तपुर नगरपालिकाको आयोजनामा परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान २०८२’ बारे प्रधानाध्यापकहरुको भेला कार्यक्रम शुक्रबार भनपा सभाहलमा सम्पन्न भयो ।

भक्तपुरका अग्रज व्यक्तित्वहरुले देश र समाजको लागि गरेको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गरिएको बताउँदै उहाँले स्थानीय पाठ्यक्रम समयानुकूल परिमार्जन गर्दै जानुपर्ने धारणा राख्नुभयो ।
भक्तपुरको यस वर्षको एसईई नतिजा तुलनात्मक रुपमा प्रगतिउन्मुख भएको बताउँदै उहाँले भक्तपुर नपाले गुणस्तरमा प्रतिस्पर्धाको नीतिले गर्दा भक्तपुरको शैक्षिक नतिजामा उल्लेख्य वृद्धि भएको बताउनुभयो ।
भक्तपुरको शैक्षिक विकासमा सामुदायिक र निजी विद्यालयहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँले सय भन्दा कम विद्यार्थी भएका विद्यालय ‘मर्ज’ गर्ने सरकारको नीतिले विद्यालयहरुको संख्या घट्दै जाने बताउनुभयो ।
२०४८ सालपश्चात कुनै पनि सामुदायिक विद्यालय दर्ता नहुनु र भएकालाई पनि मर्ज गर्ने नीति ल्याउनु सरकार आफ्नो जिम्मेवारीबाट भाग्न खोज्दैछ भन्ने प्रष्ट भएको उहाँले बताउनुभयो ।
दक्ष जनशक्तिहरु नेपालबाट विदेशिँदै गर्दा नेपालमा राम्रा राम्रा शिक्षकहरु अभाव हुने निश्चित भएको बताउँदै उहाँले जस्तोसुकै विद्यार्थीलाई योग्य बनाउने साझा जिम्मेवारी शिक्षकहरुको हो भन्नुभयो ।

स्थानीय पाठ्यक्रम परिमार्जन कार्यदल समितिका सदस्य सिद्धिरत्न शाक्यले परिमार्जित पाठ्यक्रमका केही विशेषतामाथि प्रकाश पार्दै शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा सरोकारवालालगायतको रचनात्मक सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरेको बताउनुभयो ।
सामुदायिक विद्यालयको तर्फबाट गणेश माविका प्रअ गणेशराम थुसाले स्थानीय पाठ्यक्रममा स्थानीय विद्यार्थीको भन्दा गैरस्थानीय विद्यार्थीको रुचि र आकर्षण बढी रहेको बताउँदै पाठ्यक्रम अध्यापन गराउने शिक्षकहरुलाई समयसापेक्ष ढंगले अभिमुखीकरण कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताउनुभयो ।
आधारभूत विद्यालयको तर्फबाट प्रअ दिपक माकले राष्ट्रिय पाठ्यक्रममा नसमेटिएका महत्वपूर्ण विषयहरुलाई पनि भक्तपुर नपाको स्थानीय पाठ्यक्रममा समेटिनुपर्ने बताउनुभयो ।
निजी विद्यालयका प्रतिनिधि प्यारागण एकेडेमीका प्रिन्सिपल पुन्यराम कवांले स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्रीहरु सबै तहका लागि छुट्टा छुट्टै बनाउनु उपयुक्त हुने बताउनुभयो ।
कार्यक्रममा भनपा शिक्षा शाखा प्रमुख साधुराम फुँयाल र स्थानीय पाठ्यक्रम परिमार्जन कार्यदल समितिका सदस्य रोशनराज तुईतुईले पाठ्यक्रम पनि बोल्नुभएको थियो ।
