नगर प्रमुख प्रजापतिसँग पूर्वी चीन प्राविधिक विश्वविद्यालयका डीन प्राध्यापक डा. लिऊ युए-मिङ्गको भेट
भक्तपुर । २०८२ साउन २८
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग पूर्वी चीन प्राविधिक विश्वविद्यालयका विदेशी भाषा तथा अन्तर्राष्ट्रिय सञ्चार संकायका डीन प्राध्यापक डा.लिऊ युए-मिङ्गले भेट गर्नुभयो ।

भेटमा उहाँहरुबीच भक्तपुर नगरपालिका र चिनियाँ नगरपालिकाहरुबीच मैत्रीपूर्ण सम्बन्धको सम्भावना, ख्वप इन्जिनियरिङ कलेजलगायतका शैक्षिक संस्था र त्रिविवि कम्प्युसियस इन्स्टिच्युटबीच सहकार्य र नगरपालिकाद्वारा सञ्चालित कलेज र पूर्वी चीन प्राविधिक विश्वविद्यालयसँगको सहकार्य र आदानप्रदानको सम्भावनाबारे छलफल भयो ।
नगर प्रमुख प्रजापतिले नेपाल र चीनको सम्बन्ध धेरै पुरानो भएको बताउँदै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खानेपानी, विकास निर्माणलगायत जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले संविधानर कानुनको परिधिभित्र रहेर जनताको सेवा गर्दै आएको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले पर्यटन शुल्कबाट उठेको रकम भक्तपुरको सन्तुलित विकासमा खर्च गर्दै आएको बताउनुभयो । उहाँले चीनको विकासबाट नेपालले धेरै कुरा सिक्न बाँकी रहेको बताउनुभयो ।
सोही क्रममा प्राध्यापक लिऊ युए-मिङ्गले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुको स्थलगत अवलोकन गर्न पाउँदा खुशी लागेको बताउँदै भक्तपुरको दरबार क्षेत्रले देशको इतिहासलाई आकर्षक ढंगले प्रदर्शन गरिरहेको बताउनुभयो । उहाँले सि जिङ पिङको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवादको विकास गरिरहेको बताउनुभयो ।
नगरपालिका र नपाद्वारा सञ्चालित कलेजसँग सहकार्य गर्न तत्पर रहेको बताउँदै उहाँले चिनियाँ विद्यार्थीहरु विभिन्न देशका विद्यालयहरुमा अध्ययन गर्दै चीनको सामाजिक र आर्थिक प्रगतिमा योगदान गरिरहेको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले लिऊ युए-मिङ्गलाई भक्तपुरको भादगाउँले टोपी लगाइदिनुभएर नगरपालिकाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो । डा. मिङले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप इ. कलेज र ख्वप कलेज अफ इ.लगायतको शैक्षिक संस्थाहरुको स्थलगत अवलोकन र शिक्षकहरुसँग अन्तरक्रिया गर्नुभएको थियो ।

