शिक्षकहरु शैक्षिक र सैद्धान्तिक रुपमा अब्बल हुनुपर्नेमा जोड
भक्तपुर । २०८२ साउन २७
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागका शिक्षक शिक्षिकाहरुसँग भेटघाट कार्यक्रमबार मंगलबार सम्पन्न भयो ।

उहाँले शिक्षकले विद्यार्थीहरुलाई राम्रोसँग अध्ययन गराएमा त्यो विद्यार्थी जुनसुकै क्षेत्रमा पुगे पनि उसको विज्ञताले ऊ सफल हुने बताउँदै विद्यार्थीहरुलाई सामाजिक दायित्व र स्वयम्सेवी भावना दिने विषयमा पनि शिक्षकहरु क्रियाशील हुनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले शिक्षक कर्मचारीहरुमा मितव्ययिता, इमानदारिता र अनुशासन हुनु जरुरी रहेको बताउँदै संस्थाको नेतृत्वले नयाँ नयाँ प्रगतिबारे चिन्तनमनन गरेर अगाडि बढेमात्र संस्थाको दिगो विकास हुने बताउनुभयो ।
रेमिट्यान्सको भरमा चलेको देशले कहिल्यै प्रगति गर्न नसक्ने बताउँदै उहाँले हरेक व्यक्ति, संस्था र देश आत्मनिर्भर बन्न बाटोतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले देशलाई नियोजित रुपमा गरिब बनाउने कार्य शासक दलहरुबाट भइरहेको बताउँदै सरकारको गलत शिक्षा नीतिले गर्दा देशको शैक्षिक अवस्था कमजोर हुँदै गएको हो भन्नुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नपाले शैक्षिक क्षेत्रमा गरेको लगानीअनुसारको प्रतिफल पनि पाइरहेको बताउँदै ख्वप नर्सिङबाट १८ समूहका नर्सिङ विद्यार्थी उत्पादन हुनु आफैमा गौरवको विषय भएको बताउनुभयो ।
कार्यक्रममा संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा र नर्सिङ विभाग प्रमुख इश्वरी डंगोलले कलेजले नयाँ नयाँ विषय थप्दै जाने तयारीमा रहेको बताउँदै नर्सिङको नतिजा पनि प्रगतिउन्मुख रहेको बताउनुभयो ।


