शिक्षकहरु शैक्षिक र सैद्धान्तिक रुपमा अब्बल हुनुपर्नेमा जोड
भक्तपुर । २०८२ साउन २७
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागका शिक्षक शिक्षिकाहरुसँग भेटघाट कार्यक्रमबार मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले प्रतिस्पर्धात्मक समयमा शिक्षकहरु शैक्षिक र सैद्धान्तिक रुपमा अब्बल हुनुपर्ने बताउँदै देश विदेशका विषयमा नयाँ नयाँ पुस्तक अध्ययनमा जोड दिनुका साथै पाठ्यपुस्तक बाहिरका ज्ञानबाट पनि सुसज्जित हुने प्रयत्न गर्नुपर्ने बताउनुभयो ।उहाँले शिक्षकले विद्यार्थीहरुलाई राम्रोसँग अध्ययन गराएमा त्यो विद्यार्थी जुनसुकै क्षेत्रमा पुगे पनि उसको विज्ञताले ऊ सफल हुने बताउँदै विद्यार्थीहरुलाई सामाजिक दायित्व र स्वयम्सेवी भावना दिने विषयमा पनि शिक्षकहरु क्रियाशील हुनुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले शिक्षक कर्मचारीहरुमा मितव्ययिता, इमानदारिता र अनुशासन हुनु जरुरी रहेको बताउँदै संस्थाको नेतृत्वले नयाँ नयाँ प्रगतिबारे चिन्तनमनन गरेर अगाडि बढेमात्र संस्थाको दिगो विकास हुने बताउनुभयो ।
रेमिट्यान्सको भरमा चलेको देशले कहिल्यै प्रगति गर्न नसक्ने बताउँदै उहाँले हरेक व्यक्ति, संस्था र देश आत्मनिर्भर बन्न बाटोतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले देशलाई नियोजित रुपमा गरिब बनाउने कार्य शासक दलहरुबाट भइरहेको बताउँदै सरकारको गलत शिक्षा नीतिले गर्दा देशको शैक्षिक अवस्था कमजोर हुँदै गएको हो भन्नुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले सञ्चालन गरेका शैक्षिक संस्थाहरुले विभिन्न चुनौतीहरु पार गर्दै प्रगतिको बाटोतर्फ उन्मुख भइरहेको बताउँदै शिक्षण सिकाइमा विद्यार्थी र अभिभावकहरुको गुनासोलाई पनि आत्मसा तगर्दै अगाडि बढ्नु आवश्यक भएको बताउनुभयो ।भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नपाले शैक्षिक क्षेत्रमा गरेको लगानीअनुसारको प्रतिफल पनि पाइरहेको बताउँदै ख्वप नर्सिङबाट १८ समूहका नर्सिङ विद्यार्थी उत्पादन हुनु आफैमा गौरवको विषय भएको बताउनुभयो ।
कार्यक्रममा संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा र नर्सिङ विभाग प्रमुख इश्वरी डंगोलले कलेजले नयाँ नयाँ विषय थप्दै जाने तयारीमा रहेको बताउँदै नर्सिङको नतिजा पनि प्रगतिउन्मुख रहेको बताउनुभयो ।


