अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजु पोखरी परिसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित छिकोङ शारीरिक व्यायामको बृहत प्रदर्शनी आज सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै सांसद सुवालले शारीरिक र मानसिक स्वास्थ्यको लागि व्यायाम निकै फाइदाजनक हुने बताउँदै नियमित व्यायाम र स्वस्थ जीवनशैलीले शरीरलाई स्फूर्ति दिनुका साथै रोग प्रतिरोधात्मक क्षमताको पनि विकास गर्ने बताउनुभयो ।
राष्ट्र निर्माणमा सबै उमेर र अवस्थाका व्यक्तिहरुको भूमिका महत्वपूर्ण हुने तर युवाहरुको भूमिका अझ अर्थपूर्ण र क्रियाशील रुपमा हुने हुँदा युवाहरुलाई सशक्त बनाउनुपर्ने बताउनुभयो ।
अरुको देशमा काम गरेर नेपालको विकास नहुने बताउँदै उहाँले युवाहरुलाई स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशलाई आत्मनिर्भर बनाउनतर्फ पनि सरकारले पहलकदमी चाल्नुपर्ने बताउँदै देशको कला संस्कृति जोगाउन युवाहरुलाई अग्रसर पार्नुपर्ने बताउनुभयो ।

युवाहरुलाई सैद्धान्तिक रुपले सशक्त बनाउनुपर्ने बताउँदै उहाँले युवा उमेरले होइन उसको विचार र दृष्टिकोणले उसलाई युवा बनाउने धारणा राख्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले युवा परिवर्तनका संवाहक भएको बताउँदै युवाहरुलाई राजनैतिक र सामाजिक रुपमा सक्रिय बनाउन सके मात्र देश र समाजको विकासमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य रञ्जना त्वाती र सुनिता अवालले पनि शारीरिक अभ्यासको महत्वमाथि प्रकाश पार्नुभएको थियो । बृहत छिकोङ प्रदर्शनीमा करिब ५०० भन्दा बढी प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।