भक्तपुरको बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक एकतर्फी ‘वान वे’ गर्ने तयारी
भक्तपुर । भक्तपुर । २०८२ साउन २१
भक्तपुर नगरपालिका वडा नं. ३ बाराही स्थानबाट वंशगोपालसम्म र रामन्दिर पुलदेखि तालाक्व हुँदै बोलाछेँसम्म एकतर्फी सवारीसाधन सञ्चालनसम्बन्धी आज सरोकारवालाहरुको बैठक सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको उक्त बैठकमा नगरको भित्री सडकमा बढेको सवारी चापले आवगमनमा समस्या उत्पन्न भएकोले
सवारी साधन वान वे गर्ने विषयमा छलफल भयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक देखिएका सडकहरुमा एकतर्फी सवारीसाधन सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर सांस्कृतिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण सहर भएकोले पनि ब्यस्त सडकहरुमा एकतर्फी गर्दै जानुपर्ने आवश्यकता औंल्याउनुभयो ।
आजको बैठकले भक्तपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय, नगर प्रहरी, वडा निरीक्षक र श्यानिटेशन शाखाका प्रतिनिधि सम्मिलित सात सदस्यीय अध्ययन टोली गठन गरी १५ दिनभित्र अध्ययन गरी रिपोर्ट तयार गरी प्रस्तुत गर्ने निर्णय गरियो ।


