आर्थिक वर्ष २०८१/८२ मा २ लाख ८८ हजार ९४६ जना बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले आ.व. २०८१/८२ मा ७४ जिल्लाका २ लाख ८८ हजार ९४६ जना बि
रामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । यो आ.व.मा २०८०/८१ को भन्दा ५१ हजार ५४४ हजार बढी हो । आ.व. २०८०/८१ मा अस्पतालले ७० जिल्लाका २ लाख ३७ हजार ४०२ जना बिरामीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको थियो । ख्वप अस्पतालले वर्षको ३६५ दिन ११ घण्टा ओपीडी सेवा प्रदान गर्नु अस्पतालको सबल पक्ष मान्न सकिन्छ ।
ख्वप अस्पतालले हाल बाल रोग, नाक—कान र घाँटी रोग, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, छाला रोग, भिडियो एक्स रे, इन्टरनल मेडिसिन, एम.डी.जी.पी., दन्त, जनरल सर्जरी, मुटुरोग, युरोलोजी, न्युरो सर्जरी सेवालगायतका विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा विभिन्न रोगका ३७ जना विशेषज्ञसहित २० जनाभन्दा बढी मेडिकल अफिसर र २४० जना जनशक्तिबाट सेवा प्रवाह गर्दै आएको छ ।
जनताको लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको ख्वप अस्पतालमा विशेषज्ञ सेवा १००।– रूपैयाँ र मेडिकल अफिसरको सेवा ८०।– रूपैयाँमा प्राप्त गर्न सकिन्छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले ख्वप अस्पताललाई स्तरोन्नति गरी १०० शैøयाको सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने, वडा वडामा स्वास्थ्य उपचार केन्द्रको विस्तार गरी विशेषज्ञ चिकित्सकहरूसहितको नियमित स्वास्थ्य शिविर सञ्चालन गर्नेलगायत प्रतिबद्धता गरेको थियो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित सहरी स्वास्थ्य केन्द्र ब्यासी, भगवती स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र सल्लाघारी, एम.सी.एच. क्लिनिक भक्तपुर अस्पताल र दत्तात्रय आधारभूत स्वास्थ्य केन्द्रबाट आ.व. २०८१/८२ मा ५१ हजार २३८ जनालाई सेवा दिएको छ । उल्लिखत जुनसुकै केन्द्रहरूमा रगत, दिसाब, पिसाब परीक्षणको लागि छोडे पनि ल्याब रिपोर्ट सोही केन्द्रमा पु¥याउने व्यवस्था अस्पतालले गरेकोे छ । यस आ.व. २०८२/८३ मा भनपा ७ नं. वडाको खँचास्थित स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारीमा छ । भक्तपुर नगरपालिकाले वडा वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरूमा थप स्वास्थ्य उपकरणको व्यवस्था गर्दै स्तरीकरण गर्दै लाने र नियमित स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिने नीति अवलम्बन गरेको छ ।
ख्वप अस्पतालले ल्याप्रोस्कोपिक र अर्थोस्कोपिक विधिमार्फत पनि शल्यक्रिया सुरु गरेको छ । ल्याप्रोस्कोपिबाट एपेन्डिक्स, पित्तथैली, हर्निया, पाठेघर आदिको शल्यक्रिया गर्दै आएको छ भने अर्थोस्कोपीबाट घुँडा र काँधको शल्यक्रिया हुँदै आएको छ । अस्पतालले मेरुदण्डको पनि शल्यक्रिया गर्दै आएको छ । अस्पतालले हालसम्म विभिन्न रोगको २ हजार ८८ वटाभन्दा बढी शल्यक्रिया गरिसकेको अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले बताए ।
भक्तपुर नगरपालिकाले २०७४ भदौ ९ गतेबाट घरदैलो नर्सिङमार्फत घरघरमा गएर जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले नेपालका विभिन्न स्थानीय तहहरूसँग समन्वय गरी समुदायस्तरमा स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा सञ्चालन कार्यक्रमअन्तर्गत नेपालमै पहिलोपटक भक्तपुरमा घरदैलो नर्सिङ सेवा सञ्चालनमा आएको हो । गत आ.व.मा घरदैलो नर्सिङ सेवाअन्तर्गत ५७ हजार ३२७ नागरिकहरूलाई घरदैलो नर्सिङ सेवा प्रदान गरेको तथ्याङ्कले प्रष्ट पार्छ । यस आर्थिक वर्षबाट नगरपालिकाले वडा नर्स र स्वास्थ्य स्वयम्सेविकामार्फत सुत्केरी महिला स्याहार तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गर्ने नीति अगाडि सारेको छ । साथै विद्यालयहरूमा बालबालिकाहरूका लागि दन्त, आँखा साथै नाक, कान, घाँटीलगायतको स्वास्थ्य परीक्षण शिविर सञ्चालनको व्यवस्था गर्ने योजना रहेको छ । घरदैलो नर्सिङ अधिकृत रचना सुवालले भक्तपुर नगरपालिकाभित्रका सञ्चालित वागीश्वरी मावि, बासु मावि, आदर्श आजाद, पद्म मावि, ख्वप कलेज, विद्यार्थी निकेतन र शारदा माविमा प्रभावकारी रूपमा विद्यालय नर्सिङ सेवा सञ्चालन भइरहेको बताइन् । उनका अनुसार विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको घरदैलो नर्सिङ सेवा नगरका सबै विद्यालयहरूमा सञ्चालन गर्न पाए धेरै विद्यार्थीहरू लाभान्वित हुन्छन् । विद्यार्थीहरूको नियमित स्वास्थ्य जाँच, मौसमी रोगबारे शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई अभिमुखीकरण, प्राथमिक उपचारको व्यवस्था, पोषणबारे सचेत पार्ने, दिवा खाजालाई पोषणयुक्त बनाउन परामर्श दिने जस्ता कार्यहरू विद्यालय नर्सहरूबाट हुँदै आएको छ ।
त्यस्तै नगरवासीहरूको लागि चाहिने अक्सिजन र रगत पनि ख्वप अस्पतालले निःशुल्क वितरण गर्दै आएको छ । अस्पतालले महिनाको करिब १००० सिलिन्डर अक्सिजन वितरण गर्दै आएकोमा नगर बाहिरका बासिन्दाहरूका लागि ठुलो सिलिन्डरको २५० रूपैयाँ र सानो सिलिन्डरको रु. १०० मा वितरण गर्दै आएको छ । आ.व. २०८१/८२ मा सानो सिलिन्डर ९ हजार ७२८ र ठुलो सिलिन्डर ४ हजार ६५९ गरी १४ हजार ३८७ अक्सिजन सिलिन्डर खपत भएको तथ्याङ्कले देखाउँछ ।
ख्वप अस्पतालले गरिबीको कारण कुनै पनि नागरिक उपचारबिना मर्न नपरोस् भनी विपन्न उपचार कोष खडा गरी गरिब र विपन्नवर्गका बिरामीहरूलाई निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा ख्वप अस्पतालले हालै एक गरिब परिवारका नवजात शिशुमा भएको दुर्लभ रोगको निःशुल्क उपचार गरी पूर्ण रूपमा निको पारी पठाएको अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मल्लले जानकारी गराए । गम्भीर रोग लागेका नगरवासी बिरामीहरूलाई नगरपालिकाले रु. १५ हजारको दरले आर्थिक सहयोग पनि गर्दै आएको छ । आ.व. २०८१/८२ मा २२५ जना बिरामीलाई रु. ३३ लाख ७५ हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको तथ्याङ्क छ ।
आ.व. २०८१/८२ मा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको श्वासप्रश्वास पुनःस्थापना केन्द्रमा २ हजार २१३ जना, ख्वप तिलगङ्गा आँखा अस्पतालमा आँखा जाँच ३० हजार ५६० र १ हजार ३७ जनाको मोतीविन्दुको शल्यक्रिया सम्पन्न गरेको छ भने नगरस्तरीय नागरिक आरोग्य केन्द्रबाट ३ हजार २७४ जनालाई आर्युवेद सेवा प्रदान गरेको तथ्याङ्कले देखाउँछ । यसैगरी अस्पतालले नगरका विभिन्न स्थानमा भएका स्वास्थ्य शिविरबाट ४ हजार ५६५ जनालाई सेवा प्रदान ग¥यो ।
यसबाहेक ख्वप अस्पतालले आ.व. २०८१।८२ मा ४ हजार ६१२ जनालाई एम्बुलेन्स सेवा, १३१ जनालाई शवबाहन सेवा, २० हजार २५७ जनालाई भिडियो एक्सरे सेवा, ३८ हजार ७५७ जनालाई एक्स रे सेवा, ८ हजार ११० जनालाई ड्रेसिङ सेवा, ३ हजार ४९४ जनाको मुटुको इको, ११ हजार ७५६ जनालाई ईसीजी सेवा, १ लाख ५९० जनालाई ल्याब सेवा र ६४५ जनालाई सुत्केरी गर्भ जाँच सेवा उपलब्ध गराएको छ ।
ख्वप अस्पतालमा २०८२ असार १ गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागु गरेको छ । प्रसूति सेवाअन्तर्गत गत आ.व. मा १८३ जनाले नर्मल र २५८ जनाले शल्यक्रियामार्फत प्रसूति सेवा पाए । भक्तपुरको ब्रह्मायणीस्थित ख्वप अस्पताल अन्तरंग विभागमार्फत २ हजार ५७२ जनाले अन्तरंग सेवा प्राप्त गरेका छन् ।
भक्तपुर नगरपालिका अहिले स्वास्थ्य हब (केन्द्र) को रूपमा विकास भइरहेको छ भन्दा अत्युक्ति नहोला । सङ्घ सरकारको पूर्ण स्वामित्वमा रहेको भनपा वडा नं. १ दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पनि उत्कृष्ट उपचार सेवा प्रदान गर्दै आएका छन् । वाग्मती प्रदेश सरकार मातहत सञ्चालित भक्तपुर अस्पतालले पनि उत्कृष्ट सेवा दिइरहेको छ । यसबाट धेरै रोगहरूको उपचार भक्तपुरमा सम्भव हुँदै गइरहेको कुरा प्रस्ट हुन्छ । यसर्थ, भक्तपुरस्थित ख्वप अस्पताल, भक्तपुर अस्पताल र अन्य अस्पतालहरूले दिएको सेवाबाट जनतालाई धेरै सहज भएको सरोकारवालाहरूको भनाइ छ ।