भक्तपुरको जात्रा पर्व र पर्यटन प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न
भक्तपुर । २०८२ साउन ८
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुरको जात्रा पर्व र पर्यटन प्रवद्र्धनसम्बन्धी पर्यटन व्यवसायीहरुबीच छलफल कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले नेपाल पर्यटन क्षेत्रमा प्रचुर सम्भावना भएको देश भए पनि नेपालको पर्यटन विकास सन्तोषजनक नरहेको बताउनुभयो ।
उहाँले छिमेकी देशका पर्यटकलाई लक्षित गरी आवश्यक योजनाहरु बनाउनुपर्नेमा जोड दिँदै भक्तपुर नपाले आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुरका जात्रा पर्व सांस्कृतिक पर्यटन विकास गर्ने आधार हो भन्दै उहाँले यहाँका मौलिकता प्रदर्शन र मूर्त अमूर्त सम्पदा देखाउने राम्रो अवसर पनि सांस्कृतिक गतिविधिले दिएको बताउनुभयो ।
भक्तपुरको मौलिकता संरक्षण गर्न नपाले मौलिक शैलीमा घर निर्माण गर्ने घरधनीहरुलाई आर्थिक अनुदानको व्यवस्था गर्दै आएको बताउँदै उहाँले पर्यटकले निर्धक्क रुपमा घुम्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वातावरण तथा पर्यटन समितिका संयोजक रविन्द्र ज्याख्वले भक्तपुरको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न र नजिकिँदै गरेको गाईजात्रा पर्वमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको लागि सरोकारवाला निकायबाट साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले गाईजात्रामा प्रदर्शन हुने सांस्कृतिक गतिविधिमार्फत पनि स्थानीयहरुले लाभ लिन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताउँदै जात्रा पर्व भनेको भक्तपुरको मूर्त र अमूर्त कला प्रदर्शन गर्ने अवसर पनि हो भन्नुभयो ।
पर्यटन सूचना तथा सेवा केन्द्र प्रमुख गौतमप्रसाद लासिवाले कार्यक्रमको उद्देश्य र पर्यटन प्रवद्र्धनमा नगरपालिकाको भावी योजनाबारे प्रष्ट पार्नुभयो ।
कार्यक्रममा होटल एशोसिएन नेपालका अध्यक्ष विनायक शाहले भक्तपुरको समग्र विकासमा भक्तपुर नगरपालिकाले अग्रणी भूमिका खेल्दै आएको बताउँदै भक्तपुर पर्यटकहरुले एकपटक घुम्नै पर्ने शहरको रुपमा विकास भइरहेको बताउनुभयो ।
नेपाल एशोसिएसन टुर एण्ड ट्राभल एजेन्सीका संस्कृतिक विभागका विशेषज्ञ यज्ञमूर्ति आचार्यले भक्तपुरलाई खुल्ला आकाशमुनिको संग्रहालयको रुपमा प्रचारप्रसार गर्नुपर्ने बताउँदै पर्यटन प्रवद्र्धनमा नपासँग हातेमालो गरी अगाडि बढ्न तत्पर रहेको बताउनुभयो ।
भक्तपुर पर्यटन विकास समितिका दिपेशराज शर्माले भक्तपुरका सांस्कृतिक जात्रा पर्वलाई पनि पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्ने बताउँदै नगरको सांस्कृतिक विशेषताबारे व्यापक प्रचारप्रसार आवश्यक भएको बताउनुभयो ।
त्यस्ते होटल एशोसिएसन अफ भक्तपुरका अध्यक्ष कृतन अवालले जात्रा पर्वको समयमा भक्तपुरका होटलहरुलाई निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्न आवश्यक पहल गरिने बताउँदै भक्तपुरको सांस्कृतिक पर्यटन प्रवद्र्धनलाई डिजिटल बनाउँदै लानुपर्ने आवश्यकता औैंल्याउनुभयो ।



