Explore news and happenings at Bhaktapur

महिलाहरुसँग राय सुझाव संकलन

भक्तपुर । २०८२ जेठ २८

0
भक्तपुर नगरपालिकाले आ.व. २०८२।८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि आज महिलाहरुको भेला कार्यक्रम गरी राय सुझाव संकलन ग¥यो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले व्यापक जनतालाई फाइदा हुने विषयलाई प्राथमिकतामा राखी योजना अगाडि बढाउँदै आएको बताउनुभयो ।
नगरबासीहरुबाट प्राप्त सुझावलाई प्राथमिकताको आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाई बजेट विनियोजन गर्ने बताउँदै उहाँले जनताको साथ र सहयोगले नगरको विकास अगाडि बढेको प्रष्ट पार्नुभयो ।
महिलाहरुलाई सचेत र संगठित बनाउन सके समाज नै अगाडि बढ्ने बताउँदै उहाँले नपाले विभिन्न महिला केन्द्रित सीपमूलक तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले महिलाहरु शिक्षित भए पुरै परिवार र समाज नै अगाडि बढ्ने हुँदा महिलाहरुलाई सामाजिक गतिविधिमार्फत अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित महिला प्रतिनिधिहरुले सबै वडामा ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी आदर निकेतन सञ्चालन गर्नुपर्ने, अपांगता भएकाहरुलाई सहायक सामाग्री वितरण गर्नुपर्ने, स्वास्थ्य स्वयम्सेविकाहरु सुत्केरी भेट गर्न जाँदा न्यानो कपडा वितरणको व्यवस्था गर्नुपर्ने, महिला व्यवसायीहरुलाई सहुलियत कर्जा र स्वरोजगार कार्यक्रमहरु ल्याउनुपर्ने, पाइल्स–फिस्टुला–फिसरलगायतका विषयमा पनि स्वास्थ्य शिविरहरु सञ्चालन गर्नुपर्ने, ख्वप अस्पतालमा न्युरो सेवाको उपचार सेवा समयावधि वृद्धि गर्नुपर्ने, नगरका पेटीहरु हिँड्न लायक बनाउनुपर्ने, कवाडी नियन्त्रण, दरबन्दी शिक्षकको तलब निकासा समयमै गर्नुपर्ने, खोलाको दायाँबायाँ रिटेनिङ वाल निर्माण गर्नुपर्ने, भोलाछेँ पोखरीलाई पौडी पोखरीको रुपमा विकास गर्नुपर्ने, भगवतीस्थानस्थित स्वास्थ्य केन्द्रमा सेवाहरु थप गर्नुपर्ने, कानुनी साक्षरता कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, नगर बस सञ्चालन गर्नुपर्नेलगायतका सुझावहरु दिएका थिए ।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभयो ।

Leave A Reply

Your email address will not be published.