Explore news and happenings at Bhaktapur

आगामी आर्थिक वर्षको बजेट निर्माणको लागि विद्यालयका प्रअहरुसँग राय सुझाव संकलन

भक्तपुर । २०८२ जेठ २२

0
भक्तपुर नगरपालिकाले आ.व. २०८२।८३ को बजेट निर्माणको लागि आज भक्तपुर नपाभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुको भेला गरी राय सुझाव संकलन गरेको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले विद्यालयको शैक्षिक सुधार र भौतिक निर्माणको लागि आर्थिक सहयोग प्रदान गरी विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा योगदान पु¥याइरहेको बताउनुभयो ।
भक्तपुरको सुशासन सबैको लागि अनुकरणीय बनिरहेको बताउँदै उहाँले विद्यार्थीहरुलाई पढाईसँगै व्यवहारिक शिक्षा प्रदानमा जोड दिनुपर्छ भन्नुभयो ।
देश समाजवादउन्मुख दिशातिर अगाडि बढ्नुपर्नेमा पुँजीवादतिर अगाडि बढिरहेको बताउँदै शिक्षामा देखाएको द्वैध शिक्षा नीतिले देशको शैक्षिक स्तर माथि उठ्न नसकेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले नगरको शिक्षालाई उत्कृष्ट बनाउन सामुदायिक र संस्थागत विद्यालयलाई समान ढंगले अगाडि बढाइरहेको बताउँदै आईसीटीमा आधारित शिक्षालाई विद्यालयहरुले जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख साधुराम फुयालले भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरिरहेको गतिविधिबारे प्रष्ट पार्दै भक्तपुरको शैक्षिक नतिजा अन्यको तुलनामा उत्कृष्ट रहँदै आएको बताउनुभयो ।
कार्यक्रममा एन.प्याब्सनका उपाध्यक्ष रामप्रसाद खाताखो, प्याब्सनका सचिव प्रभात राई, इसानका पुरुषोत्तम ग्वाछा, आधारभूत विद्यालय समितिका अध्यक्ष सूर्यबहादुर फोँजु, सार्वजनिक विद्यालय समितिका अध्यक्ष राम हाडा, सार्वजनिक विद्यालय संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईले आ.व. २०८२।८३ को बजेट तर्जुमाको लागि राय–सुझाव प्रस्तुत गर्नुभएको थियो ।
उहाँहरुले निजी विद्यालयलाई सरकारी विद्यालयसरह तालिममा सहभागी गराउनुपर्ने, खेलकुद प्रशिक्षकको व्यवस्था गर्नुपर्ने, स्काउटबारे नयाँ नयाँ तालिम सञ्चालन गर्नुपर्ने, सांस्कृतिक गुरुहरुलाई विद्यालयमा प्रशिक्षकको रुपमा नियुक्ति गर्नुपर्ने, प्रारम्भिक बालविकास केन्द्रलाई प्रभावकारी बनाउन थप शिक्षकको बन्दोबस्त गर्नुपर्ने, नियमित रुपमा विद्यार्थीहरुलाई स्वास्थ्य परीक्षण शिविर सञ्चालन गर्नुपर्ने, विद्यालय अनुगमन प्रभावकारी बनाउनुपर्ने, विद्यार्थी संख्याको अनुपातमा शिक्षक नपुग भएका विद्यालयहरुमा अनुदानको व्यवस्था गर्नुपर्ने, नगरका उत्कृष्ट शिक्षक कर्मचारी सम्मान गर्ने कार्यक्रम ल्याउनुपर्नेलगायतका धारणा राख्नुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.