भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा मानव प्रगति र देश विकासको पहिलो साधन भएको बताउँदै शिक्षाले मात्र असल नागरिक र समृद्ध राष्ट्र निर्माण हुने बताउनुभयो ।
उक्त विचार उहाँले भक्तपुर नगरपालिका वडा नं. १ भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयमा २०८२ सालमा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम राख्नुभएको थियो ।
भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित ३६ वटा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धितर्फ जोड दिँदै आएको बताउँदै उहाँले विद्यालयहरुको आवश्यकताअनुसार नगरपालिकाले भौतिक तथा आर्थिक सहयोग पनि गर्दै आएको छ भन्नुभयो ।
नगरपालिकाले शिशुस्याहार केन्द्र, विभिन्न विषयका कलेजहरु सञ्चालन गरी देशभरिका विद्यार्थीहरुलाई समान ढंगले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउँदै प्रमुख प्रजापतिले विद्यार्थीहरुको प्रारम्भिक जगलाई बलियो बनाउन सके पनि उनीहरुको भविष्य पनि सुनिश्चित हुने बताउनुभयो ।
संविधानमा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने हकको सुनिश्चितता गरे पनि त्यसको कार्यान्वयन हुन नसकिरहेको बताउँदै द्वैध शिक्षा नीतिको कारण देशको शिक्षा क्षेत्रमा असमानता व्याप्त रहेको बताउनुभयो ।
शिक्षा क्षेत्र जनताको सेवा गर्ने क्षेत्र हो, यो व्यापार गर्ने थलो होइन भन्दै उहाँले विद्यार्थीहरुमा शैक्षिक, सामाजिक र व्यवारिक ज्ञानको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले गणेश माविको शैक्षिक प्रगतिमा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै विद्यालयको थप प्रगतिको कामना गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक गणेशराम थुसाले गणेश माविले युगसुहाउँदो शिक्षा प्रदान र विद्यालयको भौतिक विकासको लागि निरन्तर प्रयास गर्दै आएको बताउँदै विद्यालयले कम्प्युटर शिक्षा, प्रयोगशालाको व्यवस्था, कमजोर विद्यार्थीलाई थप कक्षाको व्यवस्था आदि गर्दै आएको बताउनुभयो । गणेश माविमा २०८२ मा १५५ जना नयाँ विद्यार्थी भर्ना हुन आएको र हाल ७१५ जना विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै विद्यार्थीहरुलाई सामाजिकीकरण गर्न विद्यालयले व्यवहारिक शिक्षामा पनि जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक कृष्णबहादुर दुगुजुले विद्यालय स्थापनाको इतिहास र आधारमाथि प्रष्ट पार्दै सबैको साथ र सहयोगले विद्यालयले आजको प्रगति हासिल गरेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका सहप्रधानाध्यापक लक्ष्मीसुन्दर सुवाल, शिक्षक प्रतिनिधि रत्नप्रसाद फैजुले पनि बोल्नुभएको थियो भने प्रमुख अतिथि तथा अतिथिहरुले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुभएको थियो ।