Explore news and happenings at Bhaktapur

ख्वप कलेजमा दुईदिने चौथो राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर । २०८२ जेठ ९

0
भक्तपुर नगरपालिकाद्घारा सञ्चालित ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘इन्भारोमेन्टल सोसियल एन्ड गभर्नान्स रिनोभेसन’ विषयक दुईदिने चौथो राष्ट्रिय सम्मेलन शुक्रबार सम्पन्न भयो ।
समापन समारोहका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवम् कलेजका संस्थापक अध्यक्ष एवं संघीय सांसद प्रेम सुवालले सम्मेलनको निचोड र निष्कर्ष नयाँ पुस्ताका विद्यार्थीहरुलाई उपयोगी र देशलाई मार्गनिर्देश हुने विश्वास व्यक्त गर्नुभयो ।
सांसद सुवालले भक्तपुर नपाबाट सञ्चालित ७ वटा शैक्षिक संस्थाले ७७ वटै जिल्लाका विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिसकेको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालनले यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनले अझ व्यापकता पाउने बताउनुभयो ।
विश्वविद्यालय व्यक्ति व्यक्तिलाई सञ्चालन गर्न दिइएको छ, तर भक्तपुर नपाले लामो समयदेखि ख्वप विश्वविद्यालय सञ्चालनको लागि माग गर्दै आएकोमा सरकारले अहिलेसम्म पनि विश्वविद्यालय सञ्चालनको स्वीकृति नदिने पक्षपातीपूर्ण व्यवहार प्रदर्शन गरिसकेको बताउँदै सांसद सुवालले ग्रीस र रोममा जस्तै भक्तपुर नपाले पनि नगर विश्वविद्यालय सञ्चालन गर्ने लक्ष्य लिएको बताउनुभयो ।
उहाँले विश्वविद्यालय र प्राध्यापकहरुले देशको सामसामयिक राजनीतिक विषय र व्यवस्थाबारे छलफल गर्नुपर्ने बताउँदै समाजवादी गणतन्त्रमा मात्र कामदार जनताको हितमा काम हुने बताउनुभयो ।
देशको सन्तुलित विकासतर्फ राज्यले नै गम्भीरतापूर्वक नीति निर्माण गर्नु आवश्यक भएको बताउँदै उहाँले शैक्षिक संस्थाले सबै विद्यार्थीहरुलाई समान ढंगले विकास गर्नेतर्फ सोच्नुपर्छ भन्नुभयो ।
विद्यार्थीलाई नयाँ नयाँ भाषा सिक्न अभिप्रेरित गर्नुपर्ने बताउँदै सांसद सुवालले सूचनाको प्रविधिको विकासले हामीलाई अनुसन्धानमा सहयोग पुर्याए पनि त्यसकै भरमा मात्र विकास गर्ने सोचबाट टाढा हुनुपर्ने बताउनुभयो ।
विद्यार्थीहरुले आफ्नो शैक्षिक जगलाई सानैदेखि बलियो बनाउनुपर्नेमा जोड दिँदै उहाँले पुँजीवादी व्यवस्थाले शासन, समाज र वातावरणलाई बिगार्ने काम गर्छ भन्नुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सम्मेलनबाट निस्केका महत्वपूर्ण निष्कर्षलाई सम्बन्धित निकायसम्म पुर्याउन पहल गरिने बताउंदै भक्तपुर नगरपालिकाले संविधान र कानुनको परिधिभित्र रही भक्तपुरको विकास निर्माण कार्यलाई अगाडि बढाइएको बताउनुभयो ।
उहाँले संघीयता कार्यान्वयनमा ८ वर्ष बितिसक्दा पनि नेपालमा संघीयताको कार्यान्वयन सन्तोषजनक नभएको बताउँदै स्थानीय तहलाई दिइनुपर्ने बजेट अनुदानलाई सरकारले घटाउँदै लगेकोमा आपत्ति जनाउनुभयो ।
प्रमुख प्रजापतिले देश बहुदलीय व्यवस्थामा भए पनि दुई दलीय तानाशाही हाबी भइरहेको बताउँदै उहाँले शासन सत्तामा चलाउनेहरुले इमानदारीपूर्वक काम नगर्दा जनतामा राजनीतिप्रति वितृष्णा जागेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सदस्य सृजना सैंजूले ख्वप कलेजले देश सुहाउँदो विषयमा राष्ट्रिय सम्मेलन गरेको बताउँदै सम्मेलनको निष्कर्ष र उपलब्धीले राज्यलाई मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले ख्वप सर्कलबाट यस्ता प्राज्ञिक गतिविधिलाई निरन्तरता दिने आशा रहेको बताउँदै पुँजीवादले मानव समाज र प्रकृति पर्खाल सिर्जना गरिरहेको बताउनुभयो ।
सांसद सैंजुले राजनीतिक प्रणाली राम्रो भएको देशमा सुशासन कायम हुने बताउँदै देशलाई अहिले भ्रष्टाचारको अखडा बनाउन शासन कदलहरुलाई लागिपरेको बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठले दुई दिने सम्मेलनमा विद्यार्थी, शिक्षकलगायत सबैको उत्साहजनक सहभागिता रहेको बताउँदै सम्मेलनमा अनुसन्धाताहरुबाट महत्वपूर्ण कार्यपत्रहरु प्रस्तुत भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले सम्मेलनमा सहभागीहरुलाई प्रमाणपत्र वितरण दिनुभएको थियो भने चौथो राष्ट्रिय सम्मेलन संयोजक डा. राजकुमार प्रधानले धन्यवादज्ञापन मन्तव्य दिनुभयो । सम्मेलनमा प्रस्तुत ६१ वटा कार्यपत्रमध्ये अनुसन्धानकर्ता श्रेणा श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रलाई उत्कृष्ट कार्यपत्रको रुपमा सोही कार्यक्रममा सम्मानित गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.