नर्सिङ दिवसको अवसरमा ख्वप अस्पतालका नर्सहरुबीच प्रवचन कार्यक्रम सम्पन्न
भक्तपुर । २०८२ वैशाख ३०
भक्तपुर नगरपालिकाका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले समाजलाई निरोगी बनाउने उद्देश्यले भक्तपुर नगरपालिकाले ख्वप अस्पताल सञ्चालन गरेको बताउँदै ख्वप अस्पताल स्तरोन्नति र स्तरवृद्धि गर्ने विषयमा अस्पताल व्यवस्थापन समिति क्रियाशील रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा कार्यरत नर्सहरुबीच १६६ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस कार्यक्रममा बोल्दै उहाँले चिकित्सक र नर्सहरुमा स्वयम्सेवाको भावना हुनु जरुरी रहेको बताउँदै आफ्नो पेशागत हकहित र व्यक्तित्व विकासको लागि निरन्तर अध्ययनलाई जोड दिनुपर्ने बताउनुभयो ।
अस्पतालमा कार्यरत कर्मचारी र नर्सहरुले व्यापक उद्देश्यका साथ आफ्नो कामलाई अगाडि बढाउन प्रेरित गर्दै प्रमुख प्रजापतिले २१ औं शताब्दीका चुनौती र समस्या सामना गर्ने दक्ष जनशक्ति आजको आवश्यकता हो भन्नुभयो ।
प्रमुख प्रजापलिते स्वास्थ्य क्षेत्रमा भएको व्यापारीकरणले गरिब जनता स्वास्थ्य उपचारबाट बञ्चित भएको उदाहरण दिँदै उहाँले स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण र निजीकरण गरिनु नै स्वास्थ्य क्षेत्रका प्रमुख चुनौतीको रुपमा रहेको बताउनुभयो ।
पञ्चायतमा जस्तै शासक दलले कानुनभन्दा माथि बसेर काम गरिरहेको बताउँदै उहाँले कुनै पनि संस्थाको प्रगति त्यहाँ कार्यरत कर्मचारीहबरुबीचको एकतामा निर्भर हुने हुँदा संस्थागत हितको निम्ति चिकित्सक नर्सले एकताबद्ध भई काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सन्तोष अध्ययनको शत्रु हो भन्दै उहाँले सिक्ने विषयमा कहिल्यै पछि पर्न नहुने र नयाँ नयाँ विषयमा अध्ययन अनुसन्धानलाई जोड दिन मार्गनिर्देश गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् ख्वप अस्पताल सञ्चालक समितिका सदस्य रविन्द्र ज्याख्वले नर्सहरुको विशेष दिनका रुपमा प्रत्येक वर्ष नर्सिङ दिवस मनाउँदै आएको प्रसंग जोड्दै सेवाको प्रतिमूर्ति फ्लोरिन्स नाइटिङ्गेलको कामबाट प्रेरणा लिएर नर्सहरु अगाडि बढनुपर्ने विचार राख्नुभयो ।
उहाँले समाजलाई स्वस्थ र निरोगी बनाउने उद्देश्यले ख्वप अस्पताल स्थापना भएको बताउँदै शिक्षा र स्वास्थ्यमा सरकारले द्वैध चरित्र अपनाउँदा जनतालाई सकस भएको बताउनुभयो ।
क्रिमिया युद्धमा घाइतेको उपचारमा फ्लोरेन्स नाइटिङगेलले खेलेको योगदान र भूमिकाबाट नर्सहरुले सिक्नु जरुरी रहेको बताउँदै वडाध्यक्ष ज्याख्वले नर्स र चिकित्सकहरु जुनसुकै परिस्थितिमा पनि जनताको सेवाको लागि अग्रपंक्तिमा बस्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति ख्वप अस्पतालका निमित्त मेडिकडल सुपरिटेन्डेन्ट डा. मजेशप्रताप मल्ले नर्सिङ दिवस नर्सप्रति सम्मान गर्ने दिनको रुपमा स्मरण गर्दै यो पेशा सेवा, अनुशासन र करुणाले भरिएको बताउनुभयो ।
नर्सहरु हरेक क्षेत्रमा अग्रपंक्तिमा रहेर काम गर्ने भएकोले ती जनशक्तिलाई दक्ष र सक्षम बनाउन समयसापेक्ष तालिमहरुको आवश्यकता रहेको बताउँदै उहाँले नर्सलाई सबल बनाउन सके मात्र गुणस्तरीय सेवाको सुनिश्चितता हुने बताउनुभयो ।
कार्यक्रममा ख्वप अस्पताल अन्तरंग विभागका इन्चार्ज रविना कवां र घर दैलो नर्सिङ इन्चार्ज रविना सुवालले नर्सिङ दिवसको मनाउनुका उद्देश्यमाथि प्रकाश पार्दै फ्लोरिन्स नाइटिङ्गेलको जन्मोत्सवको रुपमा विश्वभर प्रत्येक वर्ष मे १२ को दिनमा नर्सिङ दिवस मनाउँदै आएको प्रष्ट पार्नुभयो ।
नर्सिङ दिवसको अवसरमा ख्वप अस्पतालका कार्यरत नर्सहरुलाई प्रमुख प्रजापतिले मायाको चिनो वितरण गर्नुभएको थियो भने नर्सहरुले सांस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरेका थिए ।
