Explore news and happenings at Bhaktapur

लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण कार्यको सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न

भक्तपुर, २८ वैशाख ।

0
भक्तपुर नगरपालिकाको वडा नं. ४ गःहिटीस्थित रहेको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण कार्यको आइतबार सार्वजनिक परीक्षण कार्यक्रम सम्पन्न गरियो । लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण उपभोक्ता समितिको आयोजनामा सञ्चालन भएको सार्वजनिक परीक्षण कार्यक्रममा भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुर नगर जीवित सङ्ग्रहालयको रूपमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विभिन्न समयमा आएको विनासकारी भूकम्पका कारण जीर्ण तथा क्षति भएका सम्पदाहरूमध्ये लक्ष्मीनरसिंह मन्दिर पनि एक हो । एक तलामा जस्ताले छाएको सो मन्दिरलाई स्थानीय सम्पदाप्रेमीहरूले पुनःनिर्माणको लागि अनुरोध भई नगरपालिकाबाट पुनःनिर्माणको लागि बजेट विनियोजन गरी पुनः निर्माण भएको हो । हाल पुनः निर्माण भएको दुईतले मन्दिर नै हो भनी यकिन गरी पुनःनिर्माण गर्ने कार्य भएको हो । अहिले पुनःनिर्माणपश्चात् भक्तपुरको महत्वपूर्ण सम्पदाहरूमध्ये लक्ष्मीनरसिंह मन्दिर अहिलेको सबैको आँखाको हिरामोतीजस्तै महत्वपूर्ण सम्पदाको रूपमा अगाडि देखा परिसकेको अवस्था छ । यस मन्दिरलाई संरक्षण र संवद्र्धन गर्नु हामी सबैको कर्तव्य हो ।” लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न सम्पूर्ण सम्पदाप्रेमीहरूलाई नगरपालिकाको तर्फबाट उहाँले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
भक्तपुर नगरपालिका ४ नं. वडा कार्यालयका वडा अध्यक्ष उपेन्द्र सुवालले वडाको प्रमुख आकर्षकको रूपमा रहेको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणले यस क्षेत्रलाई नै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सजिलो भएको जानकारी दिनुभयो ।
कार्यक्रममा भनपाका सम्पदा शाखाका प्रमुख रामगोविन्द श्रेष्ठले उक्त मन्दिर पुनःनिर्माणबारे प्राविधिक अनुभवहरूबारे जानकारी दिनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेको सभापतित्वमा भएको कार्यक्रममा समितिका सचिव शिवराम किजुले नपाबाट गरेको ल.ई. रु. ७,७७,११,८३८/५६ भएकोमा विभिन्न सामान तथा ज्याला गरी कुल खर्च रुः ४,८३,०४,३८५।८० भई कार्य सम्पन्न भएको हिसाबको सार्वजनिजीकरण गर्नुभयो । उक्त सार्वजनिक परीक्षण कार्यक्रममा अनुगमन समितिका सदस्य विजय लोहलाले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.