Explore news and happenings at Bhaktapur

१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रम

भक्तपुर । २०८२ वैशाख १५

0
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्न विश्वका मजदुरहरु एक हुनु जरुरी रहेको बताउनुभयो ।
समाजवाद स्थापनाको निम्ति नागरिक भावनामा परिवर्तन आउनुपर्छ भन्दै उहाँले समाजवाद ल्याउन समाजवाद स्थापनाका आधारहरु तयार गर्नुपर्ने र अन्य देशको समाजवादबारे पनि अध्ययन गर्नुपर्ने बताउनुभयो ।
बौद्धिक र शारीरिक श्रमलाई जीवन्त बनाइराख्न विभिन्न अध्ययन र व्यायाममा जोड दिनुपर्ने बताउँदै उहाँले ऋणमा चलेको देशको स्थायित्व नहुने र देशलाई परनिर्भरतातर्फ धकेल्ने लाने उहाँले बताउनुभयो ।
जनप्रतिनिधि वा सांसद बन्नु सुविधा उपभोगको लागि नभई जनताको निःस्वार्थपूर्वक सेवा गर्नको लागि हो भन्दै अध्यक्ष बिजुक्छेँले नेमकिपाले सांसदहरुलाई पेन्सनको सुविधा दिने विषयको विरोध गर्दै आएको उहाँले बताउनुभयो ।
सामान्य नागरिकहरुको भन्दा कर्मचारीहरुको कर्तव्य बढी हुने बताउँदै उहाँले कर्मचारीहरु संघर्ष गर्न र आफ्नो कर्तव्यबाट विमुख हुनुहुँदैन भन्नुभयो । कर्मचारीहरुमा देशभक्तिको भावना हुनुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाका कर्मचारीहरु अरु भन्दा पृथक भई इमानदारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो ।
युवाहरु घरखेत बेचेर विदेश जानुभन्दा देशमै लगानी गरेर रोजगारी सिर्जना गर्नतर्फ जोड दिनुपर्ने बताउँदैदिँदै उहाँले शिक्षक आन्दोलनले देशलाई शैक्षिक रुपमा पछाडि धकेल्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ‘नेपालका कम्युनिष्ट नाम गरेका शासक पार्टीहरुले सिद्धान्त र उद्देश्यहरु काम गरेका छैनन्, सत्तामा जानको लागि सिद्धान्तहीन गठबन्धन गर्छन्’ भन्नुभयो ।
पुँजीवादी व्यवस्थामा मजदुरहरुको जीवनको कुनै मूल्य नहुने बताउँदै उहाँले समाजवादी गणतन्त्रमा मात्र कामदार जनताले सुख पाउने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले स्वयम्सेवा गर्ने भावनाले प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँमा सरसफाइ कार्यक्रमको आयोजना गर्दै आएको बताउँदै उहाँले देशको राजनीति, संगठन र सेवाबारे कर्मचारीहरुले अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजवादी गणतन्त्र कामदार जनताको लागि उपयुक्त व्यवस्था भएको बताउँदै भक्तपुर नपाले समाजवादका आधारहरु तयार गर्ने किसिमले काम गर्दै आएको बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई नारामा मात्र सीमित पार्न नहुने, प्रगतिशील ढंगले मनाउनुपर्छ भन्दै कामदार वर्गको योगदान र भूमिकाबारे चिन्तन मनन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर संघका अध्यक्ष उपेन्द्र सुवाल, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले मई दिवसको सान्दर्भिकताबारे प्रष्ट पार्नुभयो भने समितिका सहसचिव विकास प्रजापति र सदस्य रामकृष्ण प्रजापति, मजदुर सुन्दर ब्यान्जु र कृष्णराम ह्यंगोजुले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.