Explore news and happenings at Bhaktapur

समाजवादी देशहरु पूँजीवादी देशहरु भन्दा छिटो विकास गर्न सक्षम

भक्तपुर । २०८२ वैशाख १२

0
४४ औं विश्व सम्पदा दिवस २०२५ को अवसरमा भक्तपुर पर्यटन विकास समिति र भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समितिद्वारा आयोजित सांस्कृतिक नगर भक्तपुरको साँस्कृतिक सम्पदा संरक्षणमा “सयवर्ष पछिको भक्तपुर” पुस्तकको मार्गनिर्देशन र चुनौतिहरुबारे छलफल कार्यक्रम भक्तपुर दरबार क्षेत्रमा शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सय वर्ष पछिको भक्तपुर पुस्तकका लेखक नारायणमान बिजुक्छेँ (राहित)ले आफू जेलमा बस्दा जगदिश शमसेर राणाको “नाचगानको राजधानी भक्तपुर” पुस्तक अध्ययन गरी पुस्तकको विभिन्न कमीकमजोरीहरु लेखेर पठाएको स्मरण गर्दै उहाँले देशको परिस्थिति कतातिर जाँदैछ भन्ने विषयमा चिन्तित भई ‘सयवर्ष पछिको भक्तपुर’ पुस्तक लेखेको बताउनुभयो ।
उहाँले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल स्थानीय विकासमन्त्री हुँदा भक्तपुरका मठ—मन्दिरहरु मर्मत तथा जीर्णाेद्धार गर्ने विषयमा कुरा गर्दा कुनै चासो नदिएकोले स्थानीय निकायलाई नै संरक्षणको जिम्मा दिनुपर्नेमा जोड दिएको भन्नुभयो ।
सराकारले स्थानीय सम्पदाहरु मर्मत तथा पुनःनिर्माणमा चासो नदिएको र आवश्यक बजेट व्यवस्था पनि नगरेकोले भक्तपुर नगरपालिकाले मर्मत तथा पुनःनिर्माण गर्न विदेशी पर्यटकहरुबाट सेवा शुल्क संकलन गर्न शुरु गरेको बताउँदै तत्कालीन स्थानीय विकासमन्त्रीले यसलाई निरुत्साहित पार्ने काम समेत गर्न खोजेको बताउनुभयो ।
उहाँले दुश्मनहरुले समाप्त पार्ने तथा प्रमाण नष्ट गर्ने समेत कामहरु गर्ने गर्दछन् भन्नुभयो । सरकारले सम्पदाहरुको संरक्षणमा ध्यान नदिंदा सम्पदा क्षेत्रमा निर्धारित मापदण्डभन्दा बढी उचाईका निजी घरहरु बनाएर नियम उल्लङ्घन भइरहेको मन्त्रीहरुमा स्थानीय सम्पदाहरु र यसको महत्वबारे ज्ञान नहुँदा नियमहरु पलना गराउन नसकेको पनि बताउनुभयो ।
तसर्थ मन्त्रीहरु र प्रमुखहरुले आफ्नो जिम्मेवारी र स्थानीय सम्पदाको ज्ञान राख्नु जरुरी छ भन्नुभयो । किनकी प्राचिन शहर संरक्षण नगरपालिकाको जिम्मेवारी र कर्तव्य पनि हो । स्थानीय सम्पदा र संरचनाहरुको राम्रो ज्ञान र दख्खलता यहाँका जेष्ठ नागरिकहरुमा हुन्छ । स्थानीय अग्रजहरुको ज्ञान तथा सीपहरुलाई उपेक्षा गरिएको कारण जर्मन प्रोजेक्टका ढल निकासको उपचार पोखरी र प्लान्ट भक्तपुरमा असफल भएको बताउनुभयो । यसैको परिणामले भक्तपुरका खोलाहरु दुषित भएको र यसलाई सफा गर्न ठाउँ ठाउँमा उपचार पोखरी र फोहोर नियन्त्रण प्रविधिमा जोड दिनुभयो । ढल निकासको जिम्मा स्थानीय तहलाई दिई ढलको पानी उपचार गर्ने उपचार प्लाण्ट नगरपालिकालाई दिने निर्णय गरिए तापनि पछि विदेशी दबाव र स्वार्थी कर्मचारीहरुले नदिने निर्णय गराएको कारण पनि बताउनु भयो ।
उहाँले सिंहदरबारमा बाँदर पसेकाले देशको यो दुरदशा भइरहेको बताउनुभयो । बाँदरले आफू पनि घर नबनाउने र अरुको पनि घर बिगार्ने मात्र गर्दछन् । यसको परिणाम सबै मन्त्रीदेखि कर्मचारीहरु भ्रष्टाचारी भएको हो । यस्तो भ्रष्टाचार सिंहदरबारका मन्त्रीहरुको निर्देशनमा पुरातत्व विभागमा पनि भइरहेको बताउनुभयो । कानुन बनाउने सांसद र यसलाई पालना गराउनुपर्ने जिम्मेवार मन्त्रीहरुले यसको महत्व नबुझेर समस्या भइरहेको हो भन्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छँेले विश्वमा समाजवादी देशहरु पूँजीवादी देशहरु भन्दा सम्पदा निर्माण र संरक्षणमा छिटो विकास गर्न सक्षम रहेको इतिहासले प्रष्ट भएको बताउनुभयो । उहाँले पूँजीवादी देशहरुले गर्ने भन्दा कम समयमा नै समाजवादी देशहरुले विकास गरेको बताउनुहुँदै विश्वको ४३ प्रतिशत उत्पादन चीन एक्लैले गरेको बताउनुभयो । सन् १९१७ अगाडि रुस १४ वटा गणराज्य भएको थियो र समाजवाद स्थापनापछि सोभियत संघ रुसले हरेक क्षेत्रमा शीघ्र विकास गर्न सफल भएको पनि जानकारी दिनुभयो ।
हाम्रो देशको जलविद्युत उत्पादन गरी यसलाई सदुपयोग गर्न सकेको भए नेपाली जनताले सबै काम बिजुलीबाट गर्न सकिने थियो । यसले इन्धन आयातमा हाम्रो देशको ठूलो रकम भारत जानबाट रोकिने बताउँदै भारतले नेपाललाई आफ्नो अधिनमा राखिराख्न नेपालको विकास निर्माणमा अवरोध गरिरहेको हो । नेपालका भ्रष्ट नेतालगायत कर्मचारीहरुले भारतको पैसा खाएकोले नेपालको हरेक स्रोतसाधनहरु भारतको हातमा पुगेको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सय वर्ष पछिको भक्तपुर पुस्तकबारे विश्लेषण गर्दै परम्परागतसंगै आधुनिकताको सकारात्मक पक्षलाई पनि जोड दिनुपर्ने कुरा औंल्याउनुभयो ।
उहाँले भक्तपुर ५० वर्ष अघि, ५० वर्ष पछि र १०० वर्ष पछिको भक्तपुर पुस्तकमा उल्लेख गरे बमोजिम नै हुने बताउनुभयो । राम्रो काम गर्ने इमानदार कर्मचारीका सन्तानले आफनो परिवारको गर्व गर्छ भने भ्रष्टाचारीहरुका सन्तानले भविष्यमा आफ्नो परिवारको कूकर्मलाई धिक्कार्छ भन्नुभयो ।
२५ वर्ष अगाडी लिखित पुस्तकमा उल्लेख भएजस्तै नवउदारवादको प्रवेशले हाम्रा उद्योग कलकारखानाहरु निजीकरण हुँदै गएको बताउनुभयो ।
भारतीय एकाधिकार पूँजीले नेपालका उद्योग र व्यापारमा नियन्त्रण हुने चिन्ता पनि व्यक्त गर्नुभयो । उहाँले पुस्तकलाई मार्गनिर्देशकको रुपमा कार्य गरेर देशको प्रमुख पर्यटकीय स्थल जनकपुर, लुम्बिनी जस्ता धार्मिक पर्यटकीय स्थल र काठमाडांै उपत्यकाको विश्व सम्पदा स्थलहरुमा वार्षिक २०/३० लाख पर्यटक भ्रमण गर्ने बताउनुभयो । यसले नेपालको पर्यटन उद्योगमा विकास हुने बताउनुभयो ।
देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको अत्यधिक प्रयोग गरी उत्पादनमूलक बनाउने र देशलाई आर्थिक रुपमा सम्पन्न बनाउने तथा रोजगारी बढाई निराशाबाट आशाको दियो बाल्ने काममा यो पुस्तकले मार्गनिर्देशनगरेको पनि स्पष्ट पार्नुभयो ।
नगरपालिकाले विदेशी सहयोगमा निर्भर हुनुभन्दा आत्मनिर्भरताका साथ आफ्नै मेहिनतमा साँस्कृतिक सम्पदा संरक्षणमा जोड दिएको पनि बताउनुभयो । पुस्तकले पनि आत्मनिर्भरतालाई जोड दिएको र सोहीअनुसार यहाँका युवाहरुलाई सिकर्मी, डकर्मी र अन्य रोजगारीमूलक तालिमहरुसँगै विभिन्न भाषाहरुको पनि प्रशिक्षण भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले सयवर्ष पछिको भक्तपुर पुस्तकको मार्गनिर्देशनबमोजिम सम्पदा संरक्षण गर्दै आइरहेको कामहरुको प्रस्तुति दिनुभयो ।
उहाँले भक्तपुर नगरको संरचना दुई खोलाको बीचमा अवस्थित भएकोले यी दुई खोला यहाँको सभ्यता विकासस“ग जोडिएकोले यी खोलाहरु धार्मिक मात्र नभई प्राकृतिक रुपले पनि महत्व बोकेकोले यो खोलालाई संरक्षण गर्न आवश्यक भएको बताउनुभयो । साथै यहाँको कला संस्कृति तथा सम्पदाहरु उदाहरणीय रहेको र यसको मौलिकतालाई जोगाउन नगरपालिका सँगसँगै सम्पूर्ण जनता नै लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग संघका केन्द्रीय सदस्य वीरेन्द्र जतीले भक्तपुरका स्थानीय उत्पादनहरु र यसको जगेर्ना गनुपर्नेबारे आफ्नो धारणा राख्नुभयो । उहाँले भक्तपुरको मौलिक उत्पादन घरेलु उद्योगबाट रोजगारीमूलक र आर्थिक विकासमा सहयोग हुने बताउनुभयो ।
भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समितिका संयोजक एवं कार्यक्रमका सहजकर्ता गौतमप्रसाद लासिवाले भक्तपुर नगरपालिकाले भक्तपुरका मूर्त तथा अमूर्त सम्पदा संरक्षणार्थ विभिन्न समयमा गर्दै आइरहेको कार्यक्रमहरु प्रस्तुत गर्दै प्रत्येक वर्ष विश्व सम्पदा दिवसको अवसरमा सयवर्ष पछिको भक्तपुर पुस्तकको सम्पदा संरक्षणमा मार्गनिर्देशन भएको बताउनुभयो ।
उहाँले सयवर्ष पछिको भक्तपुरको परिकल्पना साकार पार्न सम्पूर्ण जनप्रतिनिधि, सम्पदाविद, पुरातत्वविद, संस्कृतिविद, वातावरणविद र कर्मचारीहरु एकताबद्ध भई कार्य गरे सहज हुने बताउनुभयो ।
उक्त कार्यक्रममा उपस्थित महानुभावहरुलाई भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले स्वागत गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजा, इतिहासविद विश्वमोहन जोशी, राष्ट्रिय कला संग्रहालयका अधिकृत यमुना महर्जन, पुरातत्व विभागका अधिकृत रज्जु हाडा, विद्यावारिधि गरिरहनुभएका राजन फेलु, पर्यटन व्यवसायी विनोदचरण राय, इलेक्ट्रिकल इन्जिनियर सुमित बाला, पर्यटन व्यवसायी अजय प्रधानाङ्ग, त्रिभुवन विश्वविद्यालयमा बौद्ध दर्शनका प्राध्यापक डा. पुष्परत्न शाक्य, शिक्षक राजेन्द्रबहादुर कायष्ठले भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षणको विषयमा सुझाव दिनुभएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यक्रममा प्रस्तुत सुझावहरु अध्ययन गरी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो ।

Leave A Reply

Your email address will not be published.