भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा विश्व औंलो दिवसको अवसरमा आज अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले लामखुट्टेको टोकाइबाट सर्ने औंलो रोग निकै जोखिमयुक्त रोग भएको हुँदा मलेरिया रोकथामका लागि जनसमुदायलाई सचेत पार्नु आवश्यक रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले सरकारले औंलोमुक्त नेपाल बनाउने घोषणा मात्र गरेर हुँदैन, सचेतनाका कार्यक्रमहरुलाई व्यापक बनाउनुपर्छ भन्नुभयो ।
औंलोको बेलैमा उपचार नभएमा यसको संक्रमणले ज्यान समेत जान सक्छ, सबैलाई सतर्क पार्नु आवश्यक छ भन्दै उहाँले विद्यार्थीहरुलाई विद्यालय तहदेखि नै राजनीतिक, सामाजिक, स्वास्थ्य आदि क्षेत्रमा सचेत बनाउँदै लानुपर्ने बताउनुभयो ।
विदेशीको मुख ताक्ने प्रवृत्तिले नेपालको विकासमा ढिलाइ भइरहेको बताउँदै उहाँले भक्तपुर नपाले २०७२ को भूकम्पपश्चात यहाँका सांस्कृतिक महत्वका सम्पदाहरुको पुनःनिर्माण तथा जीर्णोद्धार कार्य गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले रोगविरुद्ध लड्न मानसिक रुपमा तयार रहनुपर्ने बताउँदै रोग लाग्नै नदिन सचेतना नै आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन तिव्रता शर्माले नेपालमा औंलो रोगको वर्तमान अवस्था, औंलो दिवसको पृष्ठभूमिबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाभित्र सञ्चालित विद्यालयहरुका शिक्षक, शिक्षिकाहरु, विद्यालय नर्स, वडा नर्सहरुको उपस्थिति रहेको थियो ।
