नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर काण्डको स्मरण गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै कम्युनिष्ट पार्टीलाई समाप्त पार्न राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड आज पनि समय सान्दर्भिक रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल र ख्वप बहुप्राविधिक अध्ययन संस्थानको संयुक्त आयोजनामा आज भएको निरंकुश पञ्चायति राज्यस्तरबाट रचिएको षडयन्त्र ‘भक्तपुर काण्ड’ को स्मरणमा प्रवचन कार्यक्रममा बोल्दै उहा“ले भक्तपुर काण्ड जस्ता षड्यन्त्रहरु फेरि फेरि पनि दोहोरिन सक्नेप्रति जनतालाई सचेत पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
जनप्रतिनिधिहरु जनताको सेवा गर्न निर्वाचित भएका सामाजिक तथा राजनीतिक कार्यकर्ता हुन् भन्दै उहाँले संसद सदस्यहरुले आफ्नो लागि सेवा सुविधा वृद्धि गर्ने विषयमा नभई जनताको व्यापक हितमा काम गर्नुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष बिजुक्छेँले जनताले इमानदारीपूर्वक काम गरेको खण्डमा देश र समाजलाई नै स्वर्ग बनाउन सकिने धारणा राख्दै भक्तपुरले शिक्षालाई जोड दिँदै शिक्षामा गरेको लगानीकै प्रतिफलस्वरुप आज उत्कृष्ट शैक्षिक गन्तव्यस्थल बन्न सफल भएको बताउनुभयो ।
भक्तपुरलाई सफा नगरको रुपमा परिचित गर्न यहाँका अग्रज नेता कार्यकर्ता तथा सफाईकर्मीहरुको उल्लेखनीय भूमिका रहेको बताउँदै उहाँले बहुमत जनता सचेत र संगठित नभएसम्म अरुबाट हेपिएर बस्नुपर्ने अवस्था आउने बताउनुभयो ।
उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेजहरु स्थापनामा भएका संघर्षबारे प्रष्ट पार्दै जनताको सहयोगी भावनाले कलेज निरन्तर सञ्चालन भई आज विद्यार्थीहरुको आकर्षणको केन्द्र बन्न सफल भएको धारणा राख्नुभयो ।
राजनीतिक पार्टीहरु इमानदार भए मात्र त्यसबाट परिचालित संगठन र कार्यकर्ताले पनि इमानदारीपूर्वक काम गर्ने बताउँदै उहाँले देशलाई दीर्घकालिन सोच लिएर विकासतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख तथा संचालक समिति अध्यक्ष सुनिल प्रजापतिले ३७ वर्ष अगाडिको भक्तपुर काण्ड घटनाले देशको राजनीतिमा विशेष भूमिका रहेको बताउँदै नयाँ पुस्तालाई सुसूचित गर्न यसको भत्र्सना तथा विरोध कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्दै आएको बताउनुभयो ।
उहाँले राज्यस्तरबाट नियोजित रुपमा घटाइएको भक्तपुर काण्डले अन्ततः पञ्चायती व्यवस्था नै अन्त्य भएको बताउँदै नेमकिपाले इमानदारीपूर्वक जनताको सेवा गर्नु नै तत्कालीन पञ्चहरुको आँखामा अपराध बन्न पुगेको हो भन्नुभयो ।
नेमकिपाले जनताको पक्षमा विभिन्न आन्दोलनहरु गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय कर्तव्य पूरा गर्दै आएको बताउँदै उहाँले नेमकिपाले प्रतिक्रियावादी संघ संस्थाभित्र गएर जनताको सेवा गर्ने नीतिअनुरुप निर्वाचनलाई उपयोग गरी पञ्चायतविरोधी संघर्षलाई तीव्र बनाउँदै लगेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर काण्डको समयमा भक्तपुरलाई नराम्रो चित्रण गरिएको बताउँदै निःस्वार्थ रुपले देश र जनताको हितमा काम गर्नेहरुले जस्तोसुकै षड्यन्त्रविरुद्ध लडेर विजय हासिल गर्ने उदाहरण भक्तपुरले देखाएको बताउनुभयो । उहाँले सरकारको अकर्मन्यताको कारण २०४५ सालको घटना घटेको बताउँदै भक्तपुर काण्डले जनतालाई सचेत र संगठित बनाई अझ सशक्त ढंगले अगाडि बढ्न प्रेरणा मिलेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर काण्डबारे आफ्नो अनुभव सुनाउँदै उक्त काण्डमा जेलमा परेका पार्टीका नेता कार्यकर्ताले जेलमा पनि रचनात्मक गतिविधिहरु सञ्चालन गरी अझ परिस्कृत भएर अगाडि बढेको बताउनुभयो । राजनैतिक कार्यकर्ताहरु विचार र सिद्धान्तमा अडिग रहनुपर्ने बताउँदै उहाँ गलत नियतले गरेको षड्यन्त्रहरु अन्तत असफल हुने उदाहरण भक्तपुर काण्ड हो भन्नुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका नि. मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले भक्तपुर काण्डका तत्कालीन जनप्रतिनिधिप्रति उच्च सम्मान व्यक्त गर्दै नयाँ पुस्तालाई भक्तपुर काण्डको घटनाक्रम र त्यसबाट सिक्ने पाठबारे अवगत गराउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र ख्वप बहुप्राविधिक संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले भक्तपुर काण्डको घटनाक्रम र त्यसबाट सिक्नुपर्ने पाठबारे प्रष्ट पार्नुभयो ।