‘सरसफाइ सम्मानित कार्य हो ।’ उक्त भनाइ भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिको आयोजनामा सफाइ कर्मचारीहरूको भेलामा नगर प्रमुख सुनिल प्रजापतिले मङ्गलबार सम्पन्न कार्यक्रममा बताउनुभएको हो ।
भेलामा अतिथि प्रजापतिले सफाइ सबैको साझा जिम्मेवारी भएको बताउँदै सफाइ मजदुरहरूले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले सबैबाट नराम्रो भनी गुनासो आए पक्कै पनि नराम्रो हुने भएकोले जनताको आँखा दूरबिनसरह हुने बताउनुभयो । उहाँले विश्व सम्पदामा रहेको मठमन्दिर, पाटीपौवा र पोखरी समयमै सफा गर्न निर्देशन दिनुभयो । उहाँले प्रतिस्पर्धा कुलतमा नभई राम्रो काम र व्यवहारमा हुनुपर्ने उल्लेख गर्दै कुलत त्याग्ने, कर्तव्य र कार्यालयको निर्देशन पालना गर्नुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर नमुना बनाउन जनतालाई दिएको वचनअनुसार जनप्रतिनिधिहरूको निर्णय कर्मचारीहरूले कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिहरू भ्रष्ट भए कर्मचारी झन भ्रष्ट हुने भएकोले सबै इमानदार भए संस्था राम्रो हुने बताउनुभयो ।
प्रमुख प्रजापतिले समाजवादी सोभियत सङ्घमा शारीरिकरूपमा गा¥हो कामलाई डाक्टर इन्जिनियरको भन्दा बढी पारिश्रमिक हुने बताउँदै रुसमा हरेक हप्ता स्वयम्सेवा काम भएजस्तै भक्तपुरमा पनि सहयोग, श्रमदान र पाक्षिक सरसफाइ गर्दै आएको बताउनुभयो ।
उहाँले सहयोगी भावना र विचार राम्रो भए समाज विकास गर्नसक्ने उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीको भावनाअनुसार जनताको निःस्वार्थ सेवा गरिरहेको बताउनुभयो । उहाँले हरेक व्यक्तिको सफलता सङ्घर्ष र दुःखकष्टले भरिएको हुने बताउँदै सफाइमा राम्रो परिणाम आउन पूर्वजहरूले गरेको योगदान र जनताको भूमिका हुने बताउनुभयो ।
कार्यक्रममा ५ नं वडाका वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले सफाइका कारण भक्तपुरलाई हेर्ने दृष्टिकोण फरक भएको औँल्याउँदै अहिलेको भक्तपुर बन्नुमा अग्रजहरूको धेरै योगदान रहेको बताउनुभयो । उहाँले समय परिवर्तन महत्वपूर्ण कुरा नभएको बरु सफाइ उत्कृष्ट बनाउनु महत्वपूर्ण काम हो भन्नुभयो ।
कार्यक्रममा ८ नं वडाका वडाध्यक्ष कृष्णप्रसाद कोजु, ४ नं वडाका वडाध्यक्ष उपेन्द्र सुवाल र वातावरण समितिका सदस्य मन्जुमैया लाखाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा वडा निरीक्षक रामकृष्ण प्रजापतिले सरसफाइलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।