जिल्ला सहकारी संघ लि. भक्तपुरको ४७ औं स्थापना दिवस सम्पन्न
भक्तपुर । २०८२ असार २६
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला सहकारी संघ लि. भक्तपुरको ४७ औं स्थापना दिवस कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले सहकारीले आफ्ना सदस्यहरुलाई आत्मनिर्भर बनाउने प्रयास गर्नुपर्ने बताउँदै बचत तथा ऋण सहकारीहरुले जनताको सामूहिक हितको लागि आदर निकेतन, स्वास्थ्य केन्द्र, शैक्षिक ऋणको व्यवस्था जस्ता कार्यहरुमा जोड दिनुपर्ने बताउनुभयो ।
बैंक, फाइनान्स कम्पनीहरुले समस्या खडा गरेका कारण सहकारी संस्थाहरुको विकास भएको बताउँदै समुदायमा आधारित सहकारी संस्थाहरुले सदस्यहरुको सामूहिक हितको निम्ति राम्रा काम गर्दै आएको बताउनुभयो ।
सहकारी सञ्चालकहरुबाट जनताको पैसा सहकारी सिद्धान्त विपरीत घरजग्गामा लगानी गर्ने, करोडौंको बैंक ब्यालेन्स राख्ने, गाडी चढ्ने जस्ता अनियमितताहरु भइरहेको बताउँदै उहाँले यस्ता क्रियाकलापले सहकारी संस्थाहरु दिन प्रतिदिन बद्नाम हुँदै गइरहेको बताउनुभयो ।
सहकारी संस्थाहरुले सदस्यहरुलाई आत्मनिर्भर बनाउन कृषिसम्बन्धी तालिम, डकर्मी, सिकर्मी, मोबाइल मर्मत, मोटरसाइकल मर्मत जस्ता सीपमूलक तालिमहरु सञ्चालन गर्नुपर्ने बताउँदै उहाँले सरकारको नेतृत्व गर्ने नेताहरु राम्रो नभएसम्म देश राम्रो नहुने तर्क राख्नुभयो ।
कार्यक्रमका सभापति जिल्ला सहकारी संघ लि. भक्तपुरका अध्यक्ष धु्रवबहादुर रायमाझीले संस्था स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै संघले किसानहरुलाई आवश्यक मलखाद वितरणको लागि पहल गरिरहेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजुले जिल्ला सहकारी संघ लि. देशकै जेठो सहकारी संघको रुपमा रहेको बताउँदै सहकारीलाई नियन्त्रण गर्ने निकाय आवश्यक भएको तर बैंकलाई पोस्ने काम भने गर्न नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि. का सञ्चालक टेकप्रसाद चौलागाई, जिल्ला कृषि सहकारी संघ लि. का अध्यक्ष सनिस लागेजु, राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक ध्रुवराज बिष्टले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा संघका सञ्चालक सदस्य एवम् शिक्षा समिति संयोजक सुलोचना दुवालले स्वागत मन्तव्य राख्नुभएको थियो ।