बागीश्वरी मावि एसईई परीक्षा २०८१ उत्तीर्ण विद्यार्थीहरुको बिदाइ
भक्तपुर । २०८२ असार २०, शुक्रबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा बागीश्वरी माध्यमिक विद्यालयबाट एसईई परीक्षा २०८१ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई, मार्गनिर्देशन तथा मायाको चिनो वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले नेपाल विश्व व्यापार संगठनको सदस्य बनेसँगै नेपाली विद्यार्थीहरु विदेशिने क्रम बढेको बताउँदै विश्व व्यापार संगठनको सदस्यतासँगै विदेशी संघ संस्थाले निर्वाध रुपमा नेपालमा विद्यालय, कलेज सञ्चालन र व्यापार गर्न पाउने अधिकारको सुनिश्चितता भएको छ, जुन नेपालको लागि घातक सावित भएको बताउनुभयो ।
नेमकिपाले धेरै समय यसको विरोध गरे पनि शासक दलको अकर्मन्यताको कारण संसदबाट त्यसलाई अनुमोदन गरेको उहाँले स्पष्ट पार्नुभयो ।
परीक्षा नदिइकन विद्यार्थीहरु उत्तीर्ण गर्ने नीति मुर्खता हो भन्दै उहाँले यसले नेपालको शैक्षिक स्तर झन् खस्काउनेछ भन्नुभयो ।
शिक्षकहरु योग्य भएर मात्र नपुग्ने बताउँदै उहाँले योग्य शिक्षकबाट योग्य विद्यार्थी उत्पादन हुन जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले विद्यालयतहदेखि विद्यार्थीहरुलाई भाषामा दख्खल बनाउनुपर्ने र विदेशी भाषा सिक्न पनि प्रेरित गर्नुपर्ने बताउँदै एसईई पछि विद्यार्थीहरुलाई विषय छनोटबारे अभिमुखीकरण र मार्गनिर्देश गर्नु आवश्यक छ बताउनुभयो ।
युगअनुसारको नयाँ पुस्ता तयार गर्ने जिम्मेवारी शैक्षिक संस्थाहरुको हो भन्दै उहाँले विद्यार्थीहरलाई इतिहास, भूगोल, राजनीति, नेपालभाषालगायतका विषय अध्ययन गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई र शुभकामना दिँदै विद्यालयको शैक्षिक जग बलियो भए उच्च शिक्षा अध्ययनमा सहज हुने बताउनुभयो ।
एसईई उत्तीर्ण विद्यार्थीहरुलाई भक्तपुरमै उच्च शिक्षा अध्ययनको लागि भक्तपुर नपाबाट सञ्चालित कलेजहरुमा सबै विषयको अध्ययन अध्यापनको व्यवस्था रहेको बताउँदै उहाँले नेपाली विद्यार्थीहरु विदेशिँदा नेपालका कलेजहरु ओझेलमा परेको छ भन्नुभयो ।
उहाँले विद्यार्थीहरुलाई आफ्नो छुट्टै पहिचान बनाउन अध्ययनशील र आत्मनिर्भर हुन प्रेरित गर्दै आफ्नो शैक्षिक योग्यता र पारिवारिक क्षमताअनुसारको विषय रोजेर अगाडि बढ्न प्रेरित गर्नुभयो ।
कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले विदेशी सम्बन्धनमा खोलेका विद्यालय र कलेजहरुले विद्यार्थीहरुलाई गलत संस्कार सिकाउने सम्भावना रहेको बताउँदै नमुना विद्यालयको रुपमा परिचित बागीश्वरीका विद्यार्थीहरुले आगामी दिनहरुमा पनि विद्यालयको गरिमा कायम हुने गरी उच्च शिक्षा अध्ययन गर्न शुभकामना दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् प्लस टु संयोजक ज्ञानसागर प्रजापतिले बागीश्वरीले विद्यार्थीहरुलाई पाठ्यक्रम मात्र पढाउँदैन, आत्मनिर्भरताको पाठ पनि सिकाउँदै आएको बताउनुभयो ।
एसईई उत्तीर्ण विद्र्याीहरुले उच्च शिक्षा अध्ययनको लागि विषय छनोटमा ध्यान दिन आग्रह गर्दै उहाँले बागीश्वरीले वार्षिक १ करोडभन्दा बढी छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो । उहाँले देशैभरिका ३५ हजार सामुदायिक विद्यालयमध्ये बागीश्वरी ९ औं स्थानमा रहनु आफैमा गौरवको विषय हो भन्दै बागीश्वरीमा हाल ५ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययतरत रहेको बताउनुभयो ।
कार्यक्रममा बागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यले शिक्षक र विद्यार्थीको संयुक्त मेहेनतले एसईईमा राम्रो नतिजा हासिल भएको बताउँदै आगामी दिनमा अझ मेहेनतका साथ उच्च शिक्षा अध्ययन गर्न उत्साहित गर्नुभयो ।
कार्यक्रममा एसईई उत्तीर्ण उत्कृष्ट विद्यार्थीद्वय ममता थापा र आशिष प्रजापतिले विद्यालयबारे आफ्नो अध्ययन अनुभव सुनाउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँ र विशेष अतिथि नगर प्रमुख प्रजापतिले एसर्ईई उत्तीर्ण विद्यार्थीहरुलाई ‘स्वर्ण सिंह’ मायाको चिनोको रुपमा प्रदान गर्नुभएको थियो ।