Explore news and happenings at Bhaktapur

नगर प्रमुख सुनिल प्रजापतिद्वारा धुलिखेल अस्पतालको स्थलगत अवलोकन

भक्तपुर । २०८२ असार १७, मंगलबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका प्रतिनिधिमण्डलले मंगलबार धुलिखेल अस्पतालको स्थलगत अवलोकन गर्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्ल, स्त्री रोग विशेषज्ञ डा. युजिन श्रेष्ठ, एमडीजीपी डा. निर्जना बजिक्व, जिन्सी शाखा प्रमुख विनोद दनेखू सहितको टोलीलाई धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले अस्पतालमा स्वागत गर्नुभयो ।
अवलोकनपश्चात भएको छलफलमा नगर प्रमुख प्रजापतिले ख्वप अस्पताल सञ्चालनको उद्देश्यमाथि प्रकाश पार्दै अस्पतालले दैनिक १ हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गर्दैै आएको बताउनुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन गरी मेडिकल कलेज खोल्ने उद्देश्यसहित भक्तपुर नपाले आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै आएको बताउँदै उहाँले धुलिखेल अस्पतालले सबै किसिमका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको र अस्पतालबाट प्रवाहित सेवाबाट जनतालाई स्वास्थ्य उपचार पाउन धेरै सहज भएको बताउनुभयो ।
भक्तपुर नपाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्दै आइरहेको र अस्पतालको सेवा सुविधालाई अझ परिस्कृत गर्दै लाने तयारीमा रहेको बताउनुभयो । यसै वर्षबाट अस्पतालले सीटी स्क्यान सेवा सञ्चालनको लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको बताउँदै उहाँले जनतालाई सुलभ र सहज स्वास्थ्य उपचार प्रदान गर्ने एक मात्र उद्देश्यले ख्वप अस्पताल स्थापना भएको बताउनुभयो ।
धुलिखेल अस्पतालका कार्यकारी निर्देशक माकजुले अस्पतालमा उपलब्ध उपचार सेवा र स्वास्थ्य क्षेत्रमा धुलिखेल अस्पतालले निर्वाह गरिरहेको भूमिकाबारे जानकारी गराउँदै धुलिखेल अस्पतालले आवश्यकताको आधारमा सरकारी अस्पतालहरुसँग समन्वय र सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले काठमाण्डौं विश्वविद्यालयमार्फत धुलिखेल अस्पतालले २२ हजारभन्दा धेरै जनशक्ति उत्पादन गरिसकेको र वार्षिक करिब २० हजार वटा शल्यक्रिया गर्दै आएको विवरण प्रस्तुत गर्नुभयो ।
कार्यकारी निर्देशक माकजुले गरिब जनतालाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालको स्थापना भएको बताउँदै धुलिखेल र ख्वप अस्पतालबीच जनस्तरको सम्बन्ध स्थापना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
छलफलपश्चात नगर प्रमुख प्रजापतिले अस्पतालका विभिन्न सेवाहरुको अवलोकन गर्नुभयो । सोही क्रममा उहाँहरुबीच उपहार आदानप्रदान भयो ।

Leave A Reply

Your email address will not be published.