Explore news and happenings at Bhaktapur

‘रोगको पहिचान समयमै गर्नु नै आधा समस्या समाधान हुनु हो’

भक्तपुर । २०८१ चैत्र २२, शुक्रबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा भएको बालबालिकामा हुने क्यान्सरको पहिचान र उपचारसम्बन्धी सचेतनाका लागि एक दिने अभिमुखीकरण कार्यक्रमको आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले बालबालिकामा हुने क्यान्सरको पहिचान छिटो हुन सके धेरैको धनजनको सुरक्षा हुने बताउँदै ‘रोगको पहिचान समयमै गर्नु नै आधा समस्या समाधान हुनु हो’ भन्नुभयो ।
् भक्तपुर क्यान्सर अस्पतालले जनताको विश्वास जितेर जनतालाई स्वास्थ्य उपचार दिइरहेको बताउँदै उहाँले सकरारको स्वामित्व ग्रहण गरेपछि यो अस्पतालले सेवा सुविधामा क्रमशः सुधार गर्दै उत्कृष्ट सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
चिकित्सक र प्रविधिको अभावले विगतमा रोगको पहिचान समयमै हुन नसक्दा धेरै मानिसहरुले अकालमा ज्यान गुमाउनुपरेको बताउँदै उहाँले वर्तमान समयमा सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति भएर पनि पर्याप्त चेतना नहुँदा उपचारको पहुँचबाट बिरामीहरु टाढा भएका छन् भन्नुभयो ।
सरकारले चिकित्सा क्षेत्रलाई राम्रो ध्यान नदिएका कारण देशका दक्ष चिकित्सकहरु विदेशिने क्रम बढिरहेको बताउँदै उहाँले चिकित्सकमात्रै विदेशिने होइन, नेपालको लगानी र त्यसको प्रतिफल लिनबाट जनता बञ्चित भएको छ, उहाँले बताउनुभयो ।
स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले भक्तपुर स्वास्थ्य उपचारको राम्रो केन्द्रको रुपमा विकास भइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका डा. रितु लामिछानेले भक्तपुर क्यान्सर अस्पतालले सातै प्रदेशमा बालबालिकामा हुने क्यान्सरसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउँदै बालबालिकाको क्यान्सरको अवस्थाबारे थाहा पाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
जिल्ला जनस्वास्थ्य अधिकृत दिपक अछामीले नसर्ने रोग अहिले भयावह रुपमा अगाडि बढिरेको हुँदा जिल्ला जनस्वास्थ्य कार्यालयले नसर्ने रोगहरु स्क्रिनिङ कार्यक्रमहरुलाई अगाडि बढाइरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा अस्पताल प्रशासक राजाराम तजलेले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्नुभयो ।

Leave A Reply

Your email address will not be published.