नियमित पाक्षिक सरसफाइअन्तर्गत चुपिंघाटमा सरसफाई
भक्तपुर, २०८१ चैत १ गते शुक्रबार।
भक्तपुर नगरपालिकाको आयोजना भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय क्लब, विद्यालयका विद्यार्थीहरु र स्थानीय जनताको उत्साहजनक सहभागितामा भनपा ५ स्थित चुपिंघाटको सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको प्रसिद्ध बिस्का जात्रासँग जोडिएको तथा ऐतिहासिक महत्व बोकेको ल्योसिंख्य र चुपिंघाटको आजको सरसफाई रचनात्मक र सांकेतिक कार्यक्रम हो भन्नुहुँदै भनपाको अयोजनामा धेरै वर्ष अगाडि शुरु गरेको सरसफाई कार्यक्रमले मूर्त रुप लिंदै गएको तथा नगरको सौन्दर्यकरणमा टेवा पु¥याउँदै नगरलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरलाई अझ स्वच्छ र सुन्दर नगरको रुपमा विकास गर्न नगरको उत्तरमा रहेको खस्याङ खुसु· खोला र दक्षिणमा रहेको हनुमन्ते खोलालाई स्वच्छ बनाउनुपर्ने र त्यसको लागि नगरबाट बग्ने ढलहरुलाई प्रशोधन गर्न उपचार पोखरी बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । सो ढल व्यवस्थापन र उपचार पोखरीको लागि अर्बौ रुपैंया बजेट आवश्यक हुने भएकोले नगरपालिकाले नेपाल सरकार र सम्बन्धित निकायहरुमा निरन्तर समन्वय गरिरहेको बताउनुभयो । उहाँले भनपा–७, हनुमानघाट नजिकैको उपचार पोखरी र सल्लाघारीस्थित २ वटा उपचार पोखरीहरु निर्माणाधीन रहेको बताउनुहुँदै ती उपचारपोखरीहरु सञ्चालनमा आएमा खोला प्रदुषणमा कमी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले ऐतिहासिक पर्यटकीय नगरको रुपमा विकास गर्न २०७४ सालदेखि नै प्रत्येक महिनाको १ र १५ गते नगरका विभिन्न ठाउँहरुको पाक्षिक सरसफाइ कार्यक्रम आयोजना गर्दै आएको अवगत गराउनुहुँदै साँस्कृतिक नगर भक्तपुरलाई जीवन्त राख्न साँस्कृतिक सम्पदाहरु जगेर्ना गर्ने कार्य गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेंले भक्तपुर नपाले गरिरहेको नियमित सरसफाईले भक्तपुर नगर र नगरबासीहरुलाई सफा नगर र नगरबासीको पहिचान दिलाउन सहयोग गरिरहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा भनपा ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. ८ का वडाध्यक्ष कृष्ण प्रसाद कोजूको पनि उपस्थिति रहेको थियो ।




