Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकामा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन

भक्तपुर । २०८१ फागुन ६, मंगलबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ फागुन ६, ७ र ८ गते भक्तपुर नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुका विद्यार्थीहरुबीच हुने नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनौट प्रतियोगिता २०८१ को आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता गराउने अवसर राष्ट्रपति रनिङ शिल्डले प्रदान गरिने बताउँदै खेलकुद आफैमा एउटा प्रतियोगिता भएको हुँदा खेलाडीहरुले अनुशासित भएर प्रतियोगितामा सहभागिता जनाउन आग्रह गर्नुभयो ।
प्रमुख प्रजापतिले खेल मानव जीवनको एक महत्वपूर्ण अंग भएको बताउँदै खेलकुदको माध्यमबाट नेपाल विश्वसँग जोडिने र देशको गौरव बढाउने हुँदा राज्य गम्भीर बनेर खेलकुदको विकासतर्फ अगाडि बढ्न आवश्यक भएको बताउनुभयो ।
देशको राजनीति अनुशासनभन्दा बाहिर गइरहेको बताउँदै उहाँले राजनीति गर्नेहरुले संविधान र कानुनअनुसार काम नगर्दा देशमा बेथिति बढेको बताउनुभयो ।
खेलाडीहरु आफ्नो व्यक्तिगत भविष्यप्रति सचेत हुँदा विदेश पलायन हुने प्रवृत्ति धेरै बढिरहेको बताउँदै उहाँले खेलाडी विदेशिँदा देशलाई ठूलो नोकसानी पुग्ने बताउनुभयो ।
त्यस्तै उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई नागरिकहरुको अभिन्न अंगको रुपमा विकास गर्ने प्रयास गरिरहेको बताउँदै खेलकुद क्षेत्रलाई प्राथमिकता दिएकै कारण जिल्लास्तरीय र राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा भक्तपुरको जित सुनिश्चित भएको बताउनुभयो । उहाँले खेलकुद शारीरिक र मानसिक स्वास्थ्य सँग पनि सम्बन्धित विषय भएको बताउँदै खेलकुदबाट नागरिक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत भलिबल, कबड्डी, तेक्वान्डो, उसु र एथ्लेटिक्स छात्र तथा छात्रा गरी विभिन्न ६ वटा खेलकुद विधामा प्रतियोगिता हुने जानकारी दिँदै खेलाडीहरुले खेल क्षेत्रबाट भक्तपुरको ख्याति बढाउने ढंगले प्रतियोगितामा सहभागिता जनाउन आग्रह गर्नुभयो ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि कृष्ण खनालले समितिको जिल्लास्तरीय खेलकुद प्रतियोगिता गर्ने निर्णय कार्यान्वयनस्वरुप भक्तपुर जिल्लाका चारवटै नगरपालिकाहरुमा राष्ट्रपति रनि· शिल्ड प्रतियोगिता क्रमशः सञ्चालन भइरहेको र तत्पश्चात जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा खेलकुद समितिका सदस्यद्वय रञ्जना त्वाती र रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले खेलकुद सामाग्री हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गर्नुभयो ।
प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजी गरी ३० वटा विद्यालयका करिब ९ सय खेलाडीहरुको सहभागिता रहने जनाइएको छ भने प्रतियोगिता तीनदिन सम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण २०८१ फागुन ९ गते शुक्रबार दिनको ३ बजे सहिद स्मृति खेलमैदानमा हुने खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले जानकारी गराउनुभयो ।

Leave A Reply

Your email address will not be published.