स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ परिमार्जनका लागि परामर्श तथा कार्यशाला गोष्ठी
भक्तपुर । २०८१ माघ २९, मंगलबार
भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ परिमार्जनको लागि आज उक्त विषय अध्ययन अध्यापन गराउने शिक्षक–शिक्षिकाहरुलाई परामर्श तथा कार्यशाला गोष्ठी कार्यक्रमको आयोजना भयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधारभूत तहका विद्यार्थीहरुको सोच र चिन्तन विकास हुने महत्वपूर्ण जग भएको बताउँदै विद्यार्थीको सोचलाई परिष्कृत गर्ने दायित्व शिक्षकहरुको भएको बताउनुभयो ।
भक्तपुर नपा स्थानीय पाठ्यक्रम लागू गर्ने स्थानीय तहमध्ये देशमै पहिलो रहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुरको पहिचानलाई कायम राख्दै स्थानीय ज्ञान, सीप र धारणालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न स्थानीय पाठ्यक्रमले सहयोग पुर्याएको विश्वास व्यक्त गर्नुभयो ।
सन् २०२३ मा मात्र १ लाखभन्दा बढी विद्यार्थीहरू विदेश गएपछि यो वर्ष नेपालका ५०४ वटा कलेज बन्द हुने अवस्था निम्तिएको बताउँदै उहाँले नेपालका कलेजहरूप्रति विद्यार्थीहरूको विश्वास घट्दो क्रममा रहेको बताउनुभयो । सोही क्रममा कलेजहरुलाई विश्वासिलो र भरपर्दो बनाइ राख्न शिक्षक प्राध्यापकहरूले थप मिहिनेत गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
उच्च शिक्षालाई प्रभावकारी बनाउन प्रयोगात्मक शिक्षालाई बढी जोड दिनुपर्ने बताउँदै उहाँले विद्यार्थीलाई उनीहरुको आफ्नो योग्यता र क्षमताअनुसारको विषय पढ्न प्रेरित गर्नुपर्छ ।
कार्यक्रममा बोल्दै भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुरको स्थानीय पाठ्यक्रम देशमै चासो र खोजीको विषय भएको बताउँदै नयाँ पुस्तालाई भक्तपुरको मौलिकता, कला संस्कृति अध्ययन अध्यापन गराउने महत्वपूर्ण माध्यम स्थानीय पाठ्यक्रम भएको बताउनुभयो ।



