Explore news and happenings at Bhaktapur

बागीश्वरी माविको ६६ औं, बागीश्वरी कलेजको १७ औं र बागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भक्तपुर, २४ माघ ।

0
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा वागीश्वरी माविको ६६ औँ, वागीश्वरी कलेजको १७ औँ र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको दोस्रो वार्षिकोत्सव कार्यक्रम बिहीबार एक भव्य कार्यक्रमबिच सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिने विषयमा सरकार अहिले पनि सकारात्मक नदेखिएको बताउँदै सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिइनुपर्ने बताउनुभयो ।
नगरपालिकाले विश्वविद्यालय सञ्चालन गर्न सक्दैन भन्ने सोच खोटपूर्ण रहेको बताउँदै उहाँले भक्तपुरका हरेक ठाउँ र यहाँका नागरिकहरू आफैमा विश्वविद्यालयका महत्वपूर्ण पूर्वाधारहरूको रूपमा रहेको उल्लेख गर्नुभयो ।
नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधीहरू अहिले पनि सक्रिय रहेको बताउँदै उहाँले सत्तामा बस्नेहरूमा दूरदर्शी सोचको अभाव रहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “प्रजातन्त्रमा प्रतिपक्षको अलग भूमिका हुने बताउँदै प्रतिपक्ष बलियो भएन भने प्रजातन्त्र पनि कमजोर हुन्छ । प्रजातन्त्रको मर्म थाहा नहुनेहरू सत्तामा छन् । सिद्धान्तहीन मान्छे विश्वसनीय हुँदैन । पदमा बस्नेहरूको बौद्धिक स्तर मापन गर्नुपर्छ ।”
“भक्तपुरलाई विश्वविद्यालयको स्वीकृति नदिने सरकारको ठुलो गल्ती हो । यहाँका नागरिकहरू आफैँमा कलाकार र सांस्कृतिक गुरु हुन् ।”, उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति, वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वागीश्वरी कलेज गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको प्रमाणपत्र (क्यु.ए.ए.) प्राप्त गर्ने भक्तपुर जिल्लाको पहिलो सामुदायिक कलेज भएको बताउँदै यससँगै वागीश्वरीमा नयाँ नयाँ विषयहरू अध्ययन अध्यापनको लागि सहजता मिलेको बताउनुभयो ।
वागीश्वरी कलेजले विदेशीको सहयोगबिना, सङ्घ र प्रदेशको भर नपरी आफ्नै बलबुत्तामा शैक्षिक विकास गरिरहेको बताउँदै उहाँले वार्षिक १ लाखको हाराहारीमा नेपाली विद्यार्थी बिदेसिँदा नेपालमा दक्ष जनशक्तिको अभाव हुने बताउनुभयो । वागीश्वरीले हरेक विद्यार्थीहरूलाई योग्य, दक्ष र अनुशासित बनाउने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।
नेमकिपा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नयाँ पुस्तालाई भाषिक, साहित्यिक, सांस्कृतिक, प्राविधिकरूपमा दक्ष बनाउनु आजको आवश्यकता भएको बताउँदै सक्षम स्थानीय सरकारलाई जिम्मेवार र अधिकार सम्पन्न बनाउँदै शैक्षिक क्षेत्रमा विद्यालयदेखि विश्वविद्यालय सञ्चालन गर्न दिइनुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय नगरपालिका र जनसमुदाय मिलेर ईसीडी शिक्षालाई आफ्नोपन दिएर अगाडि बढाउनुपर्नेमा जोड दिँदै विदेशी प्रभावमा पाठ्यक्रमहरू परिमार्जन गर्दै जाँदा नेपालको पाठ्यक्रम र परीक्षा प्रणालीमा ठुलो समस्या निम्तिएको बताउनुभयो ।
उहाँले संरा अमेरिकामा ट्रम्पको उदयसँगै हिटलरको पुनर्जन्म भएको बताउँदै अमेरिकाले चीनसँग मात्र व्यापार युद्ध गरिरहेकोमा हाल क्यानाडा, मेक्सिकोलगायतका देशहरूसँग पनि युद्ध गरी अमेरिकाले साम्राज्यवादी चरित्र प्रदर्शन गरिरहेको बताउनुभयो । संरा अमेरिकाको साम्राज्यवादी नीति नेपाललगायत विश्वकै लागि घातक भएको बताउँदै सांसद गोसाईले विश्व राजनीतिमा अमेरिका एक्लिँदै गइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले वागीश्वरीले समाजलाई सही दिशातर्फ मार्गनिर्देश गरिरहेको बताउँदै भक्तपुर नपाले शिक्षा क्षेत्रमा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने दीर्घकालीन उद्देश्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले एउटै छानामुनि तीनवटा शैक्षिक संस्था सञ्चालन गरी वागीश्वरी सामूहिक नेतृत्वमा विश्वास राख्ने संस्था भएको बताउनुभयो । भक्तपुर नपाबाट सञ्चालित सातवटा शैक्षिक संस्थाहरूले सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै उहाँले भक्तपुर शैक्षिक गन्तव्यस्थलको रूपमा विकास भइरहेको बताउनुभयो ।
उहाँले कामदारवर्गका छोराछोरीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले वागीश्वरी मावि र कलेजको स्थापना भएको बताउँदै सामुदायिक विद्यालयप्रति सरकारको दृष्टिकोण खोटपूर्ण रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले विद्यार्थी सङ्ख्या, विषयवस्तुको आधारमा शिक्षक दरबन्दी कायम गर्नुपर्ने बताउनुभयो ।
सरकारले विद्यालयहरूमा पर्याप्त शिक्षक र कर्मचारीहरूको व्यवस्था गर्नुपर्ने तथा एसईईलाई निरन्तरता दिइनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नेपालको शैक्षिक क्षेत्रलाई अगाडि बढाउन वागीश्वरीको महत्वपूर्ण भूमिका रहेको बताउँदै वागीश्वरीबाट उत्पादित विद्यार्थीले समाज, देश र विश्वलाई गरेको योगदानले यहाँको शैक्षिक गुणस्तरको मापन भइरहेको बताउनुभयो ।
कार्यक्रममा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा वार्षिकोत्सवका संयोजक ज्ञानेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने वागीश्वरी पूर्वविद्यार्थी समाजका रत्नप्रसाद प्रजापति, विद्यार्थी प्रतिनिधिहरू मनोज कुटुवा, सगुन धन्छा, काजल थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले वागीश्वरी स्मारिका विमोचन गर्नुभएको थियो भने प्रमुख अतिथि तथा अतिथिहरूले शिक्षक र विद्यार्थीहरूलाई पुरस्कार वितरण, सम्मान तथा छात्रवृत्ति हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमको औपचारिक सत्र समाप्त भएपछि विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.