पुँजीवादी व्यवस्था : व्यक्ति धनी हुँदै जाने र राज्य कमजोर हुँदै जाने व्यवस्था
बारा । २०८१ माघ १४, सोमबार
नेपाल मजदुर किसान पार्टी बारा जिल्ला समितिको आयोजनामा नेमकिपाको ५१ औं पार्टी स्थापना दिवसको अवसरमा बाराको कलैयामा आज कार्यकर्ता भेटघाट तथा समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले पुँजीवादी व्यवस्था व्यक्ति झन् झन् धनी हुँदै जाने र राज्य कमजोर हुँदै जाने व्यवस्था भएको बताउँदै समाजवादी व्यवस्था कामदार वर्गको निम्ति स्वर्ग हो भन्नुभयो ।
प्रतिक्रियावादी संघ संस्थामा गएर पनि जनताको सेवा गर्ने लेनिनवादी नीतिलाई नेमकिपाले आत्मसात गर्दै आएको बताउँदै उहाँले साम्राज्यवादी देशहरुले कमजोर देशहरुमाथि गरिरहेको हमला, थिचोमिचो र हस्तक्षेपको विरोध गर्दै नेमकिपाले अन्तर्राष्ट्रिय कर्तव्य पनि पूरा गर्दै आएको बताउनुभयो ।
भ्रष्टाचार, अनियमित र राजनीतिक भागबण्डाले देश अहिले कंगाल बन्दै गइरहेको बताउँदै उहाँले देश विकास नहुनुमा भ्रष्टाचर नै प्रमुख कारण भएको बताउनुभयो ।
नेपालका उद्योगधन्दा, कलकारखाना, विद्यालय, कलेज, अस्पताललगायतका क्षेत्र निजीको हातमा सुम्पने उदारवादी नीतिले देशको विकास हुन नसकेको बताउँदै उहाँले नेमकिपाले संसदलाई वर्ग संघर्ष गर्ने थलोको रुपमा उपयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति नेमकिपा बारा जिल्ला समितिका अध्यक्ष मुक्ति यादवले पार्टी स्थापनाको उद्देश्यलाई पूरा गर्न नेमकिपाका कार्यकर्ताहरु समाजवादी प्रचार अभियानमा सक्रियतापूर्वक लागिरहेको बताउँदै निर्वाचनमा पैसा खर्च गरेर जितेका जनप्रतिनिधिहरुले देशको हितमा भन्दा पनि व्यक्तिगत लाभमा मात्र काम गर्ने बताउनुभयो ।
नेमकिपाका पर्सा जिल्ला समितिका सरोज साहले नेमकिपा नेपालको पुरानो कम्युनिष्ट पार्टी भएको बताउँदै पार्टी स्थापनाकालदेखि नेमकिपाले शासित वर्गलाई शासन सत्तामा पुर्याउने उद्देश्यले काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेक्रायुसंघका केन्द्रीय कोषाध्यक्ष जगतराम धुख्वा, भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, नेक्रामसंघका केन्द्रीय सदस्य रोशनमैंया सुवालले पनि पार्टीको नीति निर्देशनमा कार्यकर्ताहरुले काम गर्नुपर्ने, पार्टी प्रकाशनको नियमित अध्ययन गर्नुपर्ने र निःस्वार्थ रुपले देश र जनताको लागि काम गर्न सँधै प्रेरित हुनुपर्ने बताउनुभयो ।
