Explore news and happenings at Bhaktapur

चितवनको शक्तिखोरमा नेमकिपाको ५१ औं स्थापना दिवसको अवसरमा प्रशिक्षण

चितवन । २०८१ माघ १२, शनिबार

0
नेपाल मजदुर किसान पार्टी चितवन जिल्ला समितिको आयोजनामा नेमकिपाको ५१ औं स्थापना दिवसको अवसर पारेर शक्तिखोरमा आज कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले पार्टीको ५१ औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै नेमकिपाले निर्वाचनलाई वर्ग संघर्ष गर्ने थलोको रुपमा उपयोग गर्दै आएको बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टी जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादी व्यवस्था स्थापना गर्ने दीर्घकालीन उद्देश्यका साथ अगाडि बढिरहेको बताउँदै नेकपा एमाले र माओवादीले कम्युनिष्टको नाउँमा जनतालाई धोका दिइरहेको बताउनु भयो । उहाँले संविधान समयको आवश्यकताअनुसार देश र जनताको हितमा हुनु पर्नेमा जोड दिनुहुँदै उत्पादनका साधनहरु सामाजिकीकरण, शिक्षा र स्वास्थ्य उपचार निःशुल्क, व्यक्तित्व विकासमा समान अवसर र योग्यता अनुसार काम र कामअनुसार ज्यालाको वन्दोवस्त लगायत जनताको हितमा संविधान संशोधन आवश्यक रहेको बताउनु भयो ।
उहाँले निजीकरणको पक्ष लिनेहरु कम्युनिष्ट हुन नसक्ने बताउँदै उत्पादनका मुख्य मुख्य साधनहरु सामाजिकीकरणको पक्ष लिनेहरु समाजवादी हुने स्पष्ट पार्नु भयो । पुँजीवादी व्यवस्थामा सम्पत्ती सीमित व्यक्तिमा केन्द्रित हुँदै जाने र राज्य कमजोर हुँदै जाने छ– उहाँले बताउनुभयो ।
संसदमा जनविरोधी विधेयकहरुको विरोध गर्ने, देशघाती सन्धि सम्झौताहरुको पारित गर्न नदिने र जनतालाई सचेत पार्ने तथा साम्राज्यवादी देशहरुले कमजोर देशहरुमाथि गरिरहेको हमला, थिचोमिचो र हस्तक्षेपको विरोध गर्दै नेमकिपाले अन्तर्राष्ट्रिय कर्तव्य पनि पूरा गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँले एक जना कम्यनिष्ट भएसम्म समाजवादको झण्डा उच्च पार्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका सभापति नेमकिपा चितवन जिल्ला समितिका अध्यक्ष हरिप्रसाद दुवालले पार्टी स्थापनाकालदेखि पार्टीले कामदार वर्गलाई राजनैतिक रुपमा संगठित पार्ने अभियानमा निरन्तर लागिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय सदस्य रोशनमैंया सुवालले कम्युनिष्ट पार्टीको नाममा शासकहरुले जनतालाई ठग्ने र भ्रममा पार्ने काम गर्दै आएकोले जनताले दुःख भोग्दै आएको बताउनुभयो ।
नेपालको सच्चा कम्युनिष्ट पार्टी नेमकिपा हो भन्दै उहाँले नेमकिपाले जनतालाई सैद्धान्तिक शिक्षा र चेतना दिएर आफ्ना कार्यकर्तालाई परिपक्व बनाउँदै आएको बताउनुभयो ।
नेक्रायुसंघका केन्द्रीय सदस्य जगतराम धुख्वाले युवाहरुलाई स्वदेशमै रोजगारी सुनिश्चितताको लागि नेमकिपाले पहल गर्दैै आएको बताउँदै समाजवादी व्यवस्था स्थापनाले पनि गरिब जनताले पनि समान अवसर पाउने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नपाले गरिरहेको युवालक्षित गतिविधिबारे प्रष्ट पार्दै भक्तपुर नपाको आयोजनामा चैत्र २३ देखि २६ गतेसम्म अन्तरनगर जिम्नाष्टिक प्रतियोगिना आयोजना गर्ने तयारी गरिरहेको बताउनुभयो ।
नेक्रामसंघ चितवन जिल्ला समितिका अध्यक्ष सुमित्रा महत्तोले पार्टी कार्यकर्ताले पार्टी प्रतिबन्धको अवस्थामा आफ्नो परिवारले र पार्टीलाई जोगाउन गरेको संघर्षबारे प्रष्ट पार्दै पार्टी कार्यकर्ताले पार्टी प्रकाशन अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
नेमकिपा चितवन जिल्लाका मोहन प्रजाले अक्टोबर क्रान्ति र यसको महत्व पुस्तकबारे आफ्नो अध्ययनको सार प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा नेक्राविसंघ चितवनका अध्यक्ष अर्जुन चेपाङले नयाँ पुस्तालाई पार्टीको इतिहास, आन्दोलन, सिद्धान्तबारे प्रष्ट पार्नुपर्ने बताउँदै नेमकिपाका कार्यकर्ताहरुले अनुशासित र इमानदारीपूर्वक जनताको सेवा गर्दै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा नेमकिपा चितवनका जिल्ला सचिव ज्ञानेन्द्र चेपाङ र उपाध्यक्ष विष्णु शर्माले पनि पार्टी स्थापनाको सैद्धान्तिक उद्देश्यबारे आफ्नो धारणा राख्नुभयो ।

Leave A Reply

Your email address will not be published.