Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा स्वयम्सेवक तथा खेलाडीहरुलाई धन्यवादपत्र प्रदान

भक्तपुर । २०८१ पुस २६, शुक्रबार

0
भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गते सम्पन्न भक्तपुर महोत्सवमा स्वयम्सेवक र विभिन्न खेल प्रदर्शनीमा सहभागी खेलाडीहरुलाई धन्यवादज्ञापन कार्यक्रम शुक्रबार सम्पन्न भयो । सोही क्रममा प्रमुख प्रजापतिले महोत्सव अधिभर परिचालन भएका स्वयम्सेवक र खेलाडीहरुलाई धन्यवादपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर महोत्सवलाई भक्तपुरबासीहरुको साझा महोत्सवको रुपमा विकास गर्न सफल भएको बताउँदै महोत्सवले जनतामा स्वयम्सेवी भावनाको विकास भएको छ भन्नुभयो ।
महोत्सव अवधिभर जनताले स्वयम्स्फूर्त रुपमा सहयोग गरेको बताउँदै उहाँले सामाजिक क्षेत्रमा कार्य गर्नेहरु राजनैतिक क्षेत्रमा पनि क्रियाशील रहने बताउनुभयो ।
महोत्सवमा दैनिक १० हजारभन्दा बढी नागरिकहरु परिचालन हुनु आफैमा गौरवको विषय भएको बताउँदै ५ दिनमा ६ लाखदेखि ८ लाख अवलोकनकर्ताहरुले महोत्सव अवलोकन गर्नुका साथैे दैनिक करोडौं रुपैयाँ बराबरको आर्थिक कारोबार भएको तथ्यांक रहेको उल्लेख गर्नुभयो ।
भनपा खेलकुद समितिका संयोजक एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर महोत्सव २०८१ मा ८ वटा विभिन्न विधाका खेलहरु प्रदर्शन भएको र महोत्सव व्यवस्थापनको लागि वडागत रुपमा स्वयम्सेवक परिचालन समेत भएको बताउनुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुर महोतसव नेपालकै लागि नमुना भएको प्रतिक्रियाहरु प्राप्त भएको बताउँदै भक्तपुर नपाले खेलकुदलाई मानव जीवनको अभिन्न अंगको रुपमा विकास गर्ने प्रयत्न गरिरहेको बताउनुभयो ।
भक्तपुर महोत्सव सचिवालय संयोजक गौतमप्रसाद लासिवाले महोत्सव आयोजनाको उद्देश्यमाथि प्रष्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले महोत्सवकै अवसरमा नेपालमै पहिलोपटक सिटिङ भलिबल प्रतियोगिता गरेको र महोत्सवमा सम्पूर्ण खेलहरु उत्साहजनक ढंगले सम्पन्न भएको छ भन्नुभयो ।
उक्त कार्यक्रममा खेलकुद समितिका सदस्य रञ्जना त्वाती र सुनिता अवालले पनि बोल्नुभएका थियो ।

Leave A Reply

Your email address will not be published.