नगर प्रमुख प्रजापति र विदुर नगरपालिकाका प्रमुख, शिवपुरी गाउँपालिका र लिखु गाउँपालिकाका अध्यक्षहरुबीच अलग अलग भेट
नुवाकोट । २०८१ पुस १७
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति र नुवाकोटको विदुर नगरपालिकाका प्रमुख, शिवपुरी गाउँपालिका र लिखु गाउँपालिकाका अध्यक्षहरुबीच अलग अलग भेट गर्नुभयो ।
नगर प्रमुख प्रजापति र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठबीच भएको भेटमा उहाँहरुबीच दुई स्थानीय तहबीच भएको कार्य सम्पादन, सेवा प्रवाह, सम्पदा पुनःनिर्माण, विकास निर्माणलगायतका क्षेत्रमा अनुभव आदानप्रदान भयो ।
ख्वप विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले सोको लागि आवश्यक भौतिक पूर्वाधारहरुको निर्माणमा पनि नपाले जोड दिँदै आएको बताउँदै भक्तपुर नपाले विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।
विदुर नपाका प्रमुख राजन श्रेष्ठले विदुर नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक र नगरका आयोजनाहरुबारे प्रष्ट पार्नुभयो । भेटमा विदुर नपाका प्रमुख प्रशासकीय अधिकृत स्वागत पौडेलले १३ वटा वडामा विभाजित रहेको र २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त नुवाकोट दरबार पुनःनिर्माणको क्रममै रहेको बताउनुभयो ।
उहाँले विदुर नपामा सांस्कृतिक र ऐतिहासिक सम्पदाहरु धेरै अवस्थित रहेको बताउँदै यस नपाको देवीघाटमा सुविधासम्पन्न वृद्धाआश्रम पनि रहेको बताउनुभयो ।
विदुर नपामा साना र ठूला गरी ९०० वटा योजनाहरु सञ्चालन भइरहेको अवगत गराउँदै उहाँले नगरपालिकाले वार्षिक ६ करोडको हाराहारीमा आन्तरिक आम्दानी गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाबीच बुधबार भएको भेटमा दुई स्थानीय सरकारहरुबीच अनुभव आदानप्रदान गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य क्षेत्रमा गरिरहेका असल अभ्यासबारे जानकारी गराउँदै क्षेत्रफलको आधारमा भक्तपुर देशकै सानो नगरपालिका भए पनि देशकै उत्कृष्ट शैक्षिक र पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भइरहेको जानकारी दिनु भयो ।
सोही क्रममा प्रमुख प्रजापतिले शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियासँग पनि भेट गर्नुभयो । भेटमा अध्यक्ष थपलियाले भक्तपुर नपाको काम अन्य स्थानीय तहहरुको लागि पनि सिकाइको विषय भएको बताउनुभयो ।
शिवपुरी गापा कृषि, पशुपालन र फलफूल खेतीको प्रचुर सम्भावना भएको ठाउँ भएको बताउनुहुँदै उहाँले ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य शिविर, गर्भवती महिलाहरुको लागि विशेष सुविधा र ६० वर्षमाथिका नागरिकलाई निःशुल्क औषधी वितरण जस्ता योजनाहरु अगाडि सारिरहेको बताउनुभयो ।
शिवपुरी गापाको आन्तरिक राजश्व न्यून रहेको बताउँदै उहाँले कृषि प्राविधिकको अभावमा कृषि क्षेत्रको विकासमा अपेक्षाकृत काम गर्न नसकिएको बताउनुभयो । भेटको अवसरमा उप प्रमुख, प्रशासकीयलगायतका गाउँपालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
त्यसै गरी नगर प्रमुख प्रजापति र लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ भेटबीच पनि भेटघाट भयो । भेटमा उहाँहरुबीच पनि दुई नगरपालिकाबीच भएका सिकाइ अनुभवबारे अनुभव आदानप्रदान भएको थियो ।
भेटका क्रममा प्रमुख प्रजापतिले कृषि क्षेत्रको विकासले देशको दिगो विकास सम्भव भएको बताउँदै सरकारले युवाहरुलाई नियोजित रुपमा विदेश जान बाध्य पारिरहेको बताउनुभयो ।
लिखु गापाका अध्यक्ष श्रेष्ठले ६ वटा वडामा विभाजित लिखु गापा कृषिको उर्वरभूमिको रुपमा रहेको बताउनुभयो । लिखु गापामा आलु उत्पादन प्रमुख बालीको रुपमा रहेको बताउँदै आफूहरु निर्वाचित भएर आएपछि यहाँका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा विशेष जोड दिएर काम गरेको बताउनुभयो ।
लिखुमा युवा विद्यार्थीको अभावमा यहाँका कयौं कलेजहरु बन्द हुने अवस्थामा रहेको बताउँदै सरकारले कृषि क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
उक्त भेटमा नेमकिपा केन्द्रीय सदस्य राजवीर डंगोल, नेमकिपा नुवाकोट जिल्ला अध्यक्ष रविन्द्र डंगोल र भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलालगायतको उपस्थिति थियो ।



