Explore news and happenings at Bhaktapur

भक्तपुर महोत्सव जनताको एकता प्रदर्शन गर्ने अवसर

भक्तपुर । २०८१ पुस १५

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा मंसिर २८ गतेदेखि पुस २ गतेसम्म भएको भक्तपुर महोत्सव सफलतापूर्वक सम्पन्न गर्न वडाभरीका सहयोगी संघसंस्था, विद्यालय, सरकारी कार्यालय, दाफा, भजन, बाजागाजा समूह, स्वय्मसेवकलगायतलाई धन्यवाद कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर महोत्सव जनताको एकता प्रदर्शन गर्ने अवसर भएको बताउँदै भक्तपुरको इतिहास, वास्तविक अवस्थाबारे जानकारी दिन महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले महोत्सवमा भक्तपुरको लाय्कु, टौमढी र दत्तात्रय स्क्वायरमा मात्र नभई गल्ली गल्ली चिनाउने उदेश्य अनुरुप विविध प्रदर्शनी राखिएको बताउनुभयो ।
पर्यटकहरु भक्तपुरका मूर्त र अमूर्त सम्पदाहरु अवलोकन गर्न आउने भएकोले सरकारले अन्तर्राष्ट्रिय रुपमा यहाँका सम्पदाहरुको प्रचारप्रसार गर्न आवश्यक भएको बताउनुभयो ।
महोत्सवमा सरसफाइ, शौचालय, पार्किङ व्यवस्थापनलगायत सानोसानो कुराले नकारात्मक संन्देश नजाओस् भने चिन्तन मनन् गर्दै सम्पूर्ण नगरबासीहरुले पु¥याएको सहयोगप्रति पनि आभार प्रकट गर्नुभयो ।
उहाँले भक्तपुर बनाउन पैसा भन्दा चरित्र मुख्य विषय भएको बताउँदै जनताको सहयोगी भावनाले पाँचतल्ले मन्दिर, भैरब मन्दिर बन्ने जस्तै महोत्सवमा सीप कौशल प्रदर्शन भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका पूर्व उपप्रमुख चैत्यराज शाक्यले महोत्सवमा सबैले आफ्नो क्षमता अनुसार सहयोग गरेको बताउँदै महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बुद्धिजीवि पुष्परत्न शाक्यले नेपालमा भक्तपुरको जीवन पद्धती उन्नत भएको बताउँदै आनान्द, शान्तिपूर्वक जीवन यापन गर्न भक्तपुरमा मात्र सम्भव भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सचिवालयका अध्यक्ष गौतमप्रसाद लासिवा, वडा इन्चार्ज लक्ष्मीप्रसाद चवाल, वडा सदस्य जितेन्द्र मुनाकर्मीले पनि बोल्नुभएको थियो भने प्रमुख अतिथि प्रजापतिले विभिन्न संघसंस्थालाई धन्यवाद पत्र वितरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.