Explore news and happenings at Bhaktapur

महोत्सवमा जनताको सक्रिय सहभागिता रहनु नै महोत्सव सफल हुनु हो ः प्रमुख प्रजापति

भक्तपुर । २०८१ पुस १५, सोमबार

0
भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गते सम्पन्न भक्तपुर महोत्सव सफल रुपमा सम्पन्न गर्न योगदान गर्नुहुने वडाका संस्कृतिकर्मी, दाफा भजन, स्थानीय महिला समुदाय, टीम क्लब, स्वयम्सेवकलगायत सहयोग गर्ने सम्पूर्णमा धन्यवादज्ञापन कार्यक्रम सोमबार वाचुत्वमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले “पूर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति” नारालाई सार्थक पार्दै विगत ४ दशकदेखि यहा“का मूर्त र अमूर्त सम्पदाहरु संरक्षण गर्दै यसमा आधारित पर्यटन उद्योगको विकास गरी नगरको आर्थिक विकास गर्न विभिन्न गतिविधि अगाडि बढाइरहेको बताउनुभयो ।
महोत्सव सफल पार्न प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने सम्पूर्णमा धन्यवादज्ञापन गर्दै उहाँले महोत्सवमा जनताको सक्रिय सहभागिता रहनु नै महोत्सव सफल हुनु हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाले जनताको आर्थिक सहयोग, श्रमदान र जिन्सी समेत सहयोग प्राप्त गरी भक्तपुरका सम्पदाहरुको पुनःनिर्माणको कामलाई निरन्तरता दिइरहेको बताउँदै उहाँले विदेशीको सहयोगविना भक्तपुरका सम्पदाहरु पुनःनिर्माण र जीर्णोद्धार गर्न सम्भव हुनु नै भक्तपुरबासीको निम्ति गर्वको हुनुपर्छ भन्नुभयो ।
हातमा सीप भएका युवाहरु आत्मनिर्भर हुन्छन् र आत्मनिर्भर युवाहरु नै स्वाभिमानीपूर्वक बाँच्न सक्ने धारणा व्यक्त गर्दै उहाँले भक्तपुर नपाले यसै मान्यताअनुरुप युवा लक्षित गतिविधिहरुमा जोड दिँदै आएको पनि बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले महोत्सवको आय–व्यय प्रस्तुत गर्दै भक्तपुर नपाले नाफा कमाउनको लागि नभई यहाँको मौलिक कला, संस्कृति विश्वसामु प्रदर्शन गर्ने अवसरको रुपमा महोत्सव आयोजना भएको बताउनुभयो ।
भक्तपुर महोत्सव सचिवालयका अध्यक्ष गौतमप्रसाद लासिवाले महोत्सवलाई जनताले अपनत्व ग्रहण गरी सफल हुनु खुशीको विषय भएको बताउँदै महोत्सवबाट धेरै कुराहरु सिक्ने अवसर पनि प्राप्त भएको बताउनुभयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. ७ का वडा सदस्य एवम् कार्यपालिका सदस्य रन्जना त्वाती, वडा सदस्य हेरा ख्याजु, नेमकिपा भनपा ७ का इन्चार्ज कृष्णगोविन्द खाइजु, समाजसेवी बद्रीराम छुस्याबागलगायतले महोत्सव अवधिभर निःस्वार्थ रुपमा खटिनुभएका सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुनिल प्रजापतिले महोत्सवका सहयोग पु¥याउने विभिन्न संघ संस्था, स्वयम्सेवक, बाजा समूह आदिलाई कदर पत्र प्रदान गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.