पाँचदिने भक्तपुर महोत्सव भव्यताका साथ सम्पन्न ः लाखौंले गरे भक्तपुर अवलोकन
भक्तपुर । २०८१ पुस २ गते, मंगलबार
भक्तपुरको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित पाँच दिने भक्तपुर महोत्सव आज सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर महोत्सव २०८१ को समापन कार्यक्रम दरबार क्षेत्रमा एक भव्य समारोहबीच सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले जनप्रतिनिधिले निःस्वार्थ रुपबाट गरेको कामबाट सबै वर्गका जनताको हित हुने बताउँदै अरुको भरमा देश विकास गर्ने सोचले कहिल्यै देशलाई आत्मनिर्भर नबनाउने धारणा राख्नुभयो ।
भक्तपुर महोत्सव अवधिभर सिंगो भक्तपुरबासीको मेहेनत प्रदर्शन भएको बताउँदै उहाँले महोत्सवमा सबैले आआफ्नो ठाउँबाट आफ्नो कर्तव्य पूरा गरेको देखिन्छ भन्नुभयो ।
उहाँले भक्तपुर नपाले सांस्कृतिक आदानप्रदानको सिलसिलालाई अझ व्यापकता दिँदै जानुपर्ने बताउँदै आगामी दिनहरुमा पनि जनताको साथ र सहयोगबाट आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन प्रेरित गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सम्पदा र जीवनशैलीको अवलोकन गर्न बर्षेनी लाखौं विदेशी पर्यटकहरुले भक्तपुरको भ्रमण गर्ने गरेको बताउँदै आन्तरिक र बाह्य पर्यटकहरु प्रवद्र्धन गर्ने उद्देश्य राखेर महोत्सव आयोजना बताउनुभयो ।
पाँच दिने महोत्सवमा दिनमा ६ लाखदेखि ८ लाख अवलोकनकर्ताहरुले महोत्सव अवलोकन गरेको बताउँदै प्रमुख प्रजापतिले महोत्सवमा दैनिक करोडौं रुपैयाँ बराबरको आर्थिक कारोबार भएको जानकारी दिनुभयो ।
भक्तपुर अवलोकन गर्नेहरुको लागि नयाँ नयाँ दृश्य, स्वाद र ज्ञान एकसाथ देखाउने अवसर भक्तपुर महोत्सवले प्रदान गरेको छ भन्दै उहाँले शिक्षक, प्राध्यापक, विद्यार्थी, बुद्धिजीवी सबैका लागि महोत्सव ज्ञान हासिल गर्ने अवसरको रुपमा रहेको बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य मा. सुरेन्द्रराज गोसाईंले पाँचदिने भक्तपुर महोत्सवको अन्तिम दिनसम्म पनि उत्साहपूर्वक सहभागिता रहेको बताउँदै महोत्सवले जनतामा रहेको परम्परागत सीप उजागर गर्न मद्दत पु¥याएको छ भन्नुभयो ।
नेपाली मौलिकतामाथि हमला भइरहेको समयमा भक्तपुर नपाले संस्कृति र सभ्यता मौलिक रुपमा प्रदर्शन गरी विशिष्ट खालको प्रदर्शनी गर्न सफल भएको उहाँले बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले महोत्सवमा ससाना बालबालिकादेखि युवा, विद्यार्थी र ज्येष्ठ नागरिक सबैको सक्रिय सहभागिता रहनु आफैमा उपलब्धीमूलक भएको बताउनुभयो ।
नेपालस्थित चिनियाँ राजदूतावासका महामहिम राजदूत छन सोङले महोत्सव सफलतापूर्वक सम्पन्न भएकोमा बधाईज्ञापन गर्नुहुँदै भक्तपुरका जनताको न्यानो आतिथ्यता स्मरणयोग्य भएको बताउनुभयो ।
नेपाल भ्रमण वर्ष २०२५ को अवसरमा भक्तपुरमा सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गर्दै उहाँले उक्त कार्यक्रममा चीनबाट उत्कृष्ट सांस्कृतिक टोली भक्तपुर आउने, चिनियाँ संस्कृति र नेपाली संस्कृतिबीच सांस्कृतिक आदानप्रदान हुने बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुर महोत्सव भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने महत्वपूर्ण खुड्किलाको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुरका परम्परागत संस्कृति नयाँ पुस्तामा प्रदर्शन र हस्तान्तरण गर्ने उद्देश्य पनि नगरपालिकाको रहेको बताउँदै महोत्सव सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवादज्ञापन गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिहरुलाई नगरपालिकाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।