निःस्वार्थरूपले जनताको सेवा गर्ने भावनाले मात्र सामुदायिक संस्था चल्ने
भक्तपुर, १६ मङ्सिर ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिको आतिथ्यमा वागीश्वरी मावि तथा वागीश्वरी कलेज सञ्चिति कोषको आठौँ साधारणसभा शनिबार सम्पन्न भयो ।
सभामा अतिथि प्रमुख प्रजापतिले स्कूल–कलेज आर्थिकरूपले कमजोर भयो भने चाहेर पनि सञ्चिति कोषको व्यवस्था गर्न नसकिने हुँदा कलेजको सबलताको लागि सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
देशका धेरै कलेजहरू विद्यार्थीको अभावमा बन्दको अवस्थामा पुगेको चर्चा गर्दै उहाँले त्यसबाट हामी सचेत हुन आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “तपाईं हाम्रो कामको मूल्याङ्कन समाजले गरिरहेको हुन्छ† अरूभन्दा फरक तरिकाबाट काम गर्ने, एकताबद्ध भएर काम गर्ने र सधैँ जनताको सेवा गर्ने भावना हुनुपर्छ; त्यही हाम्रो सफलताको रहस्य हो ।”
एक अर्को प्रसङ्गमा उहाँले शासन सत्ताको आडमा कुनै बेला अस्पताल चलाउने भनेर शासक सांसदले भवनहरू त बनाए तर अस्पताल चलाउन नसकेर ख्वप अस्पतालसित सहयोगको लागि अनुरोध गर्न आएको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “त्यसैले काम पद, पैसा र शक्तिले भन्दा पनि निःस्वार्थरूपले जनताको सेवा गर्ने भावनाले मात्र हुन्छ । सबै शिक्षक–कर्मचारीहरूमा जनताको सेवा गर्ने स्वयंसेवी भावना अनिवार्य छ । वागीश्वरी कलेज÷विद्यालय जागिरे मनोवृत्तिले बनेको शैक्षिक संस्था होइन ।”
प्रमुख प्रजापतिले मङ्सिर २८ देखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव सफल पार्न सबैले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्दै भक्तपुरमा मूर्त अमूर्त सम्पदा संरक्षण भएको देखाउने यो ठुलो अवसर हो भन्नुभयो ।
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले शिक्षक–कर्मचारीको भूमिकाले संस्था थप सबल हुँदै गएमा त्यही अनुसारको सञ्चिति कोषमा थप योगदान गर्न सकिने धारणा राख्दै भन्नुभयो, “संस्थाको दिगोपनाबिना सुविधा थप गर्न नसकिने कुरा सबैलाई थाहै छ ।”
एउटा शैक्षिक संस्था भनेको भौतिक भवनहरू मात्र नभई त्यहाँ कार्यरत शिक्षक–कर्मचारीहरूको व्यवहार, सरसफाइ, अनुशासनलगायतका धेरै कुरा पनि हुने चर्चा गर्दै उहाँले भन्नुभयो, “तपाईँ हाम्रा सानातिना कुराले पनि संस्थालाई सकारात्मक प्रभाव पारिरहेको हुन्छ । सकेसम्म नकारात्मक प्रभाव पार्ने व्यवहार कसैबाट गर्नुहुँदैन ।”
कोषका संरक्षक एवं वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापति, कोषका अध्यक्ष धनकुमार श्रेष्ठ, विद्यालयका प्रअ कृष्णप्रसाद कर्माचार्य र सहायक प्रअ उकेश सुवालले पनि बोल्नुभएको थियो ।
सभाले कोषका अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत कोषको प्रतिवेदन अनुमोदन गरेको थियो भने कोष सञ्चालनको विधान पनि संशोधन गरेको थियो । कोषमा सरकारी दरबन्दीमा रहेका बाहेक शिक्षक–कर्मचारीहरूको लागि आधारभूत तलब स्केलको १० प्रतिशत सञ्चिति कोषको व्यवस्था विगत आठ वर्षदेखि हुँदै आएको छ ।




Boos